ट्रम्प र मस्कसँगको तस्बिर ‘फोटोशप’ गरेर पोस्ट गरेपछि अमेरिकी स्वास्थ्य सचिव विवादमा, भएको के थियो ?
मंसिर १४, २०८२ १६:२४
काठमाडौँ । अमेरिकी स्वास्थ्य तथा मानवीय सेवा सम्बन्धी सचिव रोबोर्ट केनेडी जुनियरले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको फोटोले तहल्का मच्चिएको छ । केनेडीले बिहीबार आफूसहित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, उनका छोरा डोनल्ड ट्रम्प जुनियर, धनाढ्य एलन मस्क र अमेरिकी संसदका सभामुख माइक जोन्सन रहेको फोटो पोस्ट गरेका थिए ।
७१ वर्षीय केनेडीले स्थानीय समयअनुसार बिहीबार अपराह्न ‘Happy Thanksgiving!’ भन्दै उक्त फोटो एक्समा पोस्ट गरेका थिए । तर, उनले पोस्ट गरेको फोटो फोटोशपमार्फत तोडमोड गरिएको तस्बिर भएको भन्दै एक्ससहितका सामाजिक सञ्जालमा उडाइएको छ ।
उक्त फोटो डोनल्ड ट्रम्पको निजी विमान ट्रम्प फोर्स वानमा एक वर्षअघि नै खिचिएको थियो । अमेरिकासहितका देशहरूमा थ्याङ्स गिभिङको अवसरमा टर्कीको मासु खाने गरिन्छ । तर, फोटोलाई एडिट गरेर टेबलमा रहेको फास्ट फुडलाई हटाएर टर्कीको मासु राखिएको छ ।
ट्रम्पका छोरा ट्रम्प जुनियरले ओरिजिनल फोटो १७ नोभेम्बर २०२४ मा एक्समा पोस्ट गरेका थिए । टेबलमा म्याकडोनल्डका ट्रेमा खानेकुरा राखेको देखिन्छ । म्याकडोनल्डका परिकार ट्रम्पले खुबै मनपराउँछन् ।
‘अमेरिकालाई फेरि स्वस्थ बनाऔं’ भनेर अभियान चलाएका केनेडीले भने आफैँ म्याकडोनल्डको फास्ट फुड प्रडक्ट बर्गर हातमा लिएको फोटोमा देखिन्छ । जसलाई लिएर उनको चर्को आलोचना भइरहेको छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले केनेडीको पोस्टलाई लिएर उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर फोटोलाई फरक बनाएको भन्दै विरोध गरिरहेका छन् । जबकि राष्ट्रपति ट्रम्प आफैँले एआई प्रयोग गरेर केही भिडिओ र फोटो सार्वजनिक गरेका छन् ।
प्रयोगकर्ताहरूले राजनीतिक पदमा रहेका व्यक्तिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फोटोशपको प्रयोग गरी तथ्य लुकाउन खोज्नु गलत भएको बताएका छन् । एक प्रयोगकर्ताले राजनीतिक गतिविधि र आधिकारिक अकाउन्टहरूमा ‘जेनेरेटिभ एआई’ को प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने माग समेत गरेका छन् । यद्यपि, केही प्रयोगकर्ताले भने म्याकडोनल्डको सट्टा टर्की देखिनुले तस्बिरलाई स्वस्थकर बनाएको भन्दै मिश्रित प्रतिक्रिया दिएका छन् ।
पछिल्लो अध्यावधिक: मंसिर १४, २०८२ १६:५५
