close

‘सुपर फ्लप’ भएपछि चर्चित युट्युबर मार्कस ब्राउन्लीले बन्द गरे आफ्नो वालपेपर एप ‘प्यानल्स’

टेकपाना टेकपाना

मंसिर १७, २०८२ ११:३०

‘सुपर फ्लप’ भएपछि चर्चित युट्युबर मार्कस ब्राउन्लीले बन्द गरे आफ्नो वालपेपर एप ‘प्यानल्स’

काठमाडौँ । युट्युबर मार्कस ब्राउन्ली (एमकेबीएचडी) ले आफ्नो मोबाइल वालपेपर एप ‘प्यानल्स’ बन्द गर्ने भएका छन् । आइतबार एक भिडिओ सार्वजनिक गर्दै उनले एप बन्द गर्ने घोषणा गरेका हुन् ।  

विभिन्न प्रविधि उत्पादनको रिभ्युका कारण प्रभावशाली रिभ्युअरको छवी बनाएका मार्कसको युट्युब च्यानलमा दुई करोड बढी सब्सक्राइबर छन् । उनले सेप्टेम्बर २०२४ मा यो एप सार्वजनिक गरेका थिए । मासिक ११.९९ डलर (करिब १७ सय रुपैयाँ) शुल्क तिरेर डिजिटल वालपेपर डाउनलोड गर्न मिल्ने यो एप सुरुदेखि नै यसको महँगो मूल्य र गोपनीयताको विषयलाई लिएर विवादमा परेको थियो ।

आलोचनाको सामना गरेको केही समयपछि ब्राउन्लीले आउँदो ३१ डिसेम्बरदेखि एप पूर्ण रूपमा बन्द हुने जानकारी दिएका छन् । उनले भिडिओमा भनेका छन्, “हामीले हाम्रो पहिलो एप बनाउँदा गल्तीहरू गर्‍यौँ र अन्ततः मैले देखेको सपना अनुसार यसलाई बदल्न सकेनौँ ।” 

उनले वालपेपर एपमार्फत कलाकारलाई सहयोग गर्न र एउटा जीवन्त इकोसिस्टम बनाउन चाहेको भए पनि त्यो दिगो हुन नसकेको स्वीकार गरे । लन्च हुँदा एप डाउनलोड चार्टको शीर्ष स्थानमा पुगेको र २० लाख वालपेपर डाउनलोड भएको भए पनि यसको सीमित बजार र ग्राहकका कारण यसलाई निरन्तरता दिन नसकिएको उनले बताए ।

यसअघि एप सार्वजनिक हुँदा आएको आलोचनाको जवाफ दिँदै उनले सामाजिक सञ्जाल एक्समा यसको लक्षित बजार निकै सानो भएको बताएका थिए । “धेरै जसोले वालपेपर एप डाउनलोड गर्दैनन्, यो माग गर्नेहरूका लागि मात्र हो,” उनले भनेका थिए । प्यानल्सको वेबसाइटमा जारी सूचना अनुसार एप बन्द भए पनि प्रयोगकर्ताले खरिद गरेका वा डाउनलोड गरेका वालपेपर सधैँका लागि राख्न पाउनेछन् भने सक्रिय ग्राहकको पैसा फिर्ता गरिनेछ । 

साथै एपको कोडलाई ‘ओपन सोर्स’ बनाइनेछ । यसले गर्दा अन्य डेभलपरले यसको कोड प्रयोग गरेर नयाँ प्रोजेक्ट बनाउन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: मंसिर १७, २०८२ ११:३१