close

भर्ना हुनेबित्तिकै जागिर पाइने कलेज, यसरी तयार पारिन्छ नेपालमै दक्ष जनशक्ति

टेकपाना टेकपाना

मंसिर १८, २०८२ ११:४०

भर्ना हुनेबित्तिकै जागिर पाइने कलेज, यसरी तयार पारिन्छ नेपालमै दक्ष जनशक्ति

आईटी कलेज प्रोफाइल: लर्न एन्ड अर्न कार्यक्रममार्फत भर्ना भएदेखि नै विद्यार्थीहरूलाई जागिर दिने ‘एम्बिसन गुरु कलेज’

काठमाडौँ । भौतिक तथा अनलाइन माध्यमबाट सयौँ किसिमका कक्षा सञ्चालन गर्ने एडटेक कम्पनी ‘एम्बिसन गुरु’ मा प्रायः हरेक महिना ३० देखि ५० जनासम्म कर्मचारीको माग (हायरिङ) भइरहन्छ । तर, कम्पनीले खोजेजस्तो दक्ष कर्मचारी पाउन भने सधैँ समस्या हुने गरेको छ ।

भएका कर्मचारीहरू पनि उच्च शिक्षा तथा रोजगारीका लागि विदेश जाने भएकाले कम्पनीमा जोडिएको केही समयमै काम छाड्ने प्रवृत्ति छ । उता, चर्को शुल्क तिरेर स्नातक तह पूरा गरिसकेका विद्यार्थीहरू पनि उद्योगलाई आवश्यक पर्ने सीपको अभावमा बेरोजगार बस्न बाध्य छन् ।

यही समस्या समाधानका लागि २ जुलाई २०२४ मा ‘एम्बिसन गुरु कलेज’ सुरु गरिएको कलेजका सह-संस्थापक तथा क्याम्पस प्रमुख प्रकाश पाण्डे बताउँछन् । 

राजश्री जनक विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले स्नातक तहमा बीएससी सीएसआईटी, बीसीए, बीबीए र स्नातकोत्तर तहमा एमबीएको अध्यापन गराइरहेको छ । गत वर्षबाट मात्र अध्यापन सुरु गरेको भए पनि विद्यार्थीहरूको आकर्षण निकै बढेको पाण्डे सुनाउँछन् ।

उनले भने, “नयाँ भर्नामा बीएससीसीएसआईटीको सबै सिट फुल भइसक्यो । ब्याचलर्सका अन्य विषयका केही सिट बाँकी छन् । एमबीएमा भर्नाका लागि प्रवेश परीक्षा खुला भएको छ । यसमा पनि विद्यार्थीहरूले राम्रै चासो देखाएका छन् ।”

कलेजको मुख्य आकर्षण: ‘लर्न एन्ड अर्न’ कार्यक्रम 

एम्बिसन गुरु कम्पनीमा ४५० जना फुल टाइम र बाँकी पार्ट टाइम गरी एक हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । कम्पनीको आकार बढिरहँदा दक्ष जनशक्तिको अभाव पनि खड्किरहेको छ । यसको पूर्ति गर्न एम्बिसन गुरु कलेजले विद्यार्थीहरूलाई भर्ना भएदेखि नै ‘लर्न एन्ड अर्न’ (सिक्दै र कमाउँदै) कार्यक्रमअन्तर्गत इन्टर्नशिप प्रदान गर्दै आएको छ ।

कलेजको बीएससी सीएसआईटी दोस्रो सेमेस्टरमा अध्ययनरत साहारा तिमल्सिनाले पहिलो सेमेस्टरमा भर्ना भएदेखि नै यो कार्यक्रमअन्तर्गत काम गर्न थालेको अनुभव सुनाइन् । उनले भनिन्, “मैले काम गर्न थालेको एक वर्ष हुन लाग्यो । म अहिले एम्बिसन गुरुको ‘स्टुडेन्ट केयर युनिट’ मा काम गरिरहेकी छु । विद्यार्थीहरूलाई पढ्न गाह्रो भइरहेको छ भने कसरी पढ्ने भनेर सहजीकरण गर्ने मेरो काम हो । यसले मेरो कम्युनिकेसन स्किल पनि बढाएको छ ।”

सुरुमा आंशिक काम थालेकी तिमल्सिना हाल पूर्णकालीन रूपमा काम गरिरहेकी छिन् । ‘लर्न एन्ड अर्न’ कार्यक्रमले व्यक्तिगत खर्च जुटाउनदेखि कलेजको शुल्क तिर्नसमेत मद्दत पुगेको उनले बताइन् ।

यस्तै, बीएससी सीएसआईटी प्रथम सेमेस्टरमा हालै भर्ना भएका रिवाज भुसालले पनि एम्बिसन गुरुको स्टुडेन्ट केयर युनिटमा काम पाइसकेका छन् । जबकी उनको पहिलो सेमेस्टरको कक्षा सुरु हुनै बाँकी छ । कलेजमा भर्ना हुनेबित्तिकै इन्टर्नशिपको अफर पाएको भुसालले सुनाए ।

उनले भने, “वास्तवमा मैले यो कलेज नै ‘लर्न एन्ड अर्न’ कार्यक्रमबारे थाहा पाएर रोजेको हुँ । भर्ना भएको भोलिपल्ट नै कलेजबाट इन्टर्नशिप गर्ने हो भनेर फोन आयो । अन्तर्वार्ता दिएर छनोट भएपछि एक हप्ताको तालिम लिएर काम सुरु गरेँ ।” अध्ययनसँगसँगै काम गर्दा आफ्नो व्यक्तित्व विकासमा पनि टेवा पुग्ने अपेक्षा उनले राखेका छन् ।

क्याम्पस प्रमुख पाण्डेका अनुसार ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि विद्यार्थी छनोट गर्न ‘प्लेसमेन्ट अफिसर’ को व्यवस्था गरिएको छ । ती अफिसरले विद्यार्थी भर्ना भएपछि उनीहरूको सीप र रुचिअनुसार प्रोफाइल तयार गरिदिन्छन् । त्यसपछि एम्बिसन गुरुअन्तर्गत रहेका डेभलपमेन्ट, एआई तथा अटोमेसन, डिजिटल मार्केटिङ, प्रोडक्सन युनिटसहितका विभिन्न २० विभाग वा विद्यार्थीको रुचिअनुसार अन्य कम्पनीहरूमा पनि इन्टर्नशिपको व्यवस्था मिलाउन सहयोग गर्छन् ।

इन्टर्नशिप गर्ने विद्यार्थीहरूलाई सुरुवाती तलब १३ हजार रुपैयाँ आसपास प्रदान गरिने क्याम्पस प्रमुख पाण्डेले जानकारी दिए । ती विद्यार्थीहरूले आफ्नो क्षमता सुधार गर्दै पूर्णकालीन कर्मचारीका रूपमा काम गरेमा केपीआई अनुसार तलब बढ्ने पनि उनले बताए । उनले भने, “अहिले दोस्रो सेमेस्टर पढ्दै गर्दा ४५ देखि ६० हजार रुपैयाँसम्म तलब खान सुरु गरिसकेका विद्यार्थीहरू पनि छन् । पहिलो ब्याजका लगभग सबै विद्यार्थीले इन्टर्नशिप गरेका छन् ।”

राति १० बजेसम्म अफिस सञ्चालन हुने भएकाले विद्यार्थीहरूले आफूलाई पायक पर्ने समयअनुसार कार्यालय वा घरबाटै काम गर्न सक्ने सुविधा रहेको पाण्डेले बताए ।

सैद्धान्तिक कक्षाका अतिरिक्त सीप विकास तालिम पनि कलेजमै 

क्याम्पस प्रमुख पाण्डेका अनुसार सबै कक्षाहरू बिहानी सत्रमा १० बजेसम्म सञ्चालन हुन्छन् । त्यसपछि हप्तामा तीन दिन, डेढ घण्टाको दरले वास्तविक उद्योगमा चाहिने सीपबारे तालिम प्रदान गरिन्छ । त्यसपछिको समय विद्यार्थीहरूले इन्टर्नशिप वा पूर्णकालीन काममा बिताउन सक्छन् ।

आईटीका विद्यार्थीहरूलाई हरेक सेमेस्टरमा फरक-फरक किसिमको तालिम प्रदान गरिन्छ । पहिलो सेमेस्टरमा डिजाइनिङ र दोस्रो सेमेस्टरमा मिड लेभलको ‘पाइथन डेभलपर’ बन्न सक्ने किसिमको तालिम दिइन्छ । वेब डेभलपमेन्टसहित हरेक सेमेस्टरमा आईटीका विभिन्न डोमेनका बारेमा सिकाइन्छ ।

पाण्डेले थपे, “अध्ययन सकेर काम गर्न थालेपछि कतिपयलाई आफ्नो रुचिको क्षेत्र र रोजेको काम फरक भएर तनाव हुन्छ । तर हाम्रा विद्यार्थीलाई स्नातक तह पढिरहँदा नै कुन डोमेनमा कस्तो काम हुन्छ भन्ने थाहा हुन्छ । उनीहरूले आफ्नो रुचि केमा छ भन्ने पत्ता लगाएर त्यही अनुसारको काम रोज्न सक्ने भइसकेका हुन्छन् ।”

यस्तै, बीबीएका विद्यार्थीहरूलाई व्यवस्थापनमा प्रयोग हुने एआई टुल, बिजनेस पिचिङदेखि लगानीसम्मका विषय तालिममार्फत सिकाइन्छ । एमबीएका विद्यार्थीलाई भने कुशल व्यवस्थापक बन्न सक्ने गरी तयार पारिने उनले बताए । चार वर्षको अध्ययन पूरा गरेर कलेजबाट निस्किँदा विद्यार्थीहरू अनुभवी कर्मचारीका रूपमा बजारमा जान सकून् भनेर यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।

रेकर्डेड कक्षाको सुविधा 

कक्षाकोठामा पढाइएका सैद्धान्तिक विषयहरूलाई रेकर्ड गरेर ‘गुरुमन्त्र’ एपमा राखिन्छ । यसबाट विद्यार्थीले चाहेको जुनसुकै समयमा पनि कक्षामा पढाइएका कुराहरू दोहोर्‍याएर हेर्न सक्छन् ।

एपमा ‘डिजिटल फुटप्रिन्ट’ को व्यवस्था छ । जसको माध्यमबाट विद्यार्थी कमजोर भएका विषय पत्ता लगाई सुधार गर्नुपर्ने पक्षबारे ‘एकेडेमिक कोअर्डिनेटर’ ले सुझाव दिन्छन् । यसरी पढ्दा काम गर्दै गरेका एम्बिसन गुरु कलेजका विद्यार्थीहरूले विश्वविद्यालयमा समेत उत्कृष्ट नतिजा ल्याइरहेको पाण्डेले दाबी गरे ।

उनले भने, “पढ्दै-कमाउँदै गरेका हाम्रा विद्यार्थीहरूले विश्वविद्यालय टप गरेका छन् । अरू कलेजमा पढेर इन्टर्नसिपका लागि आएका विद्यार्थीहरूलाई यहाँका दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले तालिम दिइरहेका छन् ।”

स्टार्टअप गर्न चाहनेलाई ‘सीड फन्डिङ’ 

कलेजले हरेक ब्याजका १० वटा उत्कृष्ट आइडियालाई व्यवसायमा रूपान्तरण गर्न प्रतिस्टार्टअप १० लाख रुपैयाँसम्मको ‘सीड फन्डिङ’ उपलब्ध गराउने व्यवस्था गरेको छ ।

पाण्डेले भने, “समाजमा भएका कुनै समस्या समाधान गर्न सक्ने आइडिया विद्यार्थीसँग छ र त्यसका लागि फ्रेमवर्क बनाएका छन् भने त्यस्ता आइडियाले सीड फन्डिङ पाउन सक्छन् । यसका लागि विद्यार्थीहरूले सीड फन्डिङ वितरणका लागि बनेको कमिटीसमक्ष आफ्नो विचार पिचिङ गर्नुपर्छ ।”

यस्ता आइडियामा ‘रिटर्न अफ इन्भेस्टमेन्ट’ र ‘पार्टनरशिप’ गरी दुई मोडेलमा लगानी गरिने उनले बताए । आरओआई मोडेलअनुसार समय तोकेर कलेजलाई लगानी फिर्ता गर्न सकिन्छ । अथवा, कलेजलाई साझेदारकै रूपमा लिएर स्टार्टअप कम्पनीले सँगसँगै आफ्नो व्यवसाय अघि बढाउने मौका पनि पाउने उनले जानकारी दिए ।

 

शब्द-चित्रमा एम्बिसन गुरु कलेज

कलेज नाम: एम्बिसन गुरु कलेज

सम्बन्धन प्राप्त संस्था/ विश्वविद्यालय: राजश्री जनक विश्वविद्यालय

संस्थापक: अस्गर अली, प्रकाश पाण्डे, अर्मान अली

स्थापना मिति: २ जुलाई २०२४ 

कलेजको प्रकार: निजी 

अध्यक्ष: अस्गर अली

क्याम्पस प्रमुख: प्रकाश पाण्डे

शिक्षक/कर्मचारी सङ्ख्या: ४७ 

विद्यार्थी सङ्ख्या: ३१०

सम्पर्क विवरणहरू :

वेबसाइट: ambitiongurucollege.edu.np

टेलिफाेन/मोबाइल नम्बर: ०१-५९७०२८७

ईमेल: [email protected]

ठेगाना:  पुतलीसडक, काठमाडौँ 

शैक्षिक कार्यक्रमहरू:

स्नातक तह: बीएससी सीएसआईटी, बीसीए, बीबीए 

स्नातकोत्तर तह: एमबीए 

सिट सङ्ख्या:  बीएससी सीएसआईटी र बीसीएमा ८०/८० जना, बीबीएमा ४० जना र एमबीएमा ३० जना । 

शुल्क संरचना:

  • बीएससी सीएसआईटी: ७ लाख ५० हजार रुपैयाँ

  • बीसीए: ५ लाख ५० हजार रुपैयाँ

  • बीबीए: ३ लाख रुपैयाँ

  • एमबीए: २ लाख ५० हजार रुपैयाँ

छात्रवृत्ति:

  • प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेलाई, सेमेस्टरमा उत्कृष्ट हुनेलाई अर्को एक सेमेस्टरमा पूर्ण छात्रवृत्ति तथा विश्वविद्यालयको नियमअनुसार अन्य छात्रवृत्तिहरू ।

अतिरिक्त क्रियाकलाप:

  • ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत अध्ययनकै क्रममा सबै विद्यार्थीलाई आत्मनिर्भर बनाइने ।

  • हप्तामा तीन दिन अध्ययन गरिरहेको विषयसँग सम्बन्धित डेढ घण्टाको सीप विकास तालिम ।

  • एम्बिसन गुरु एपमार्फत रेकर्डेड कक्षाहरू उपलब्ध ।

पछिल्लो अध्यावधिक: मंसिर १८, २०८२ ११:४२