बालेनको पितृशोकमा सामाजिक सञ्जालमा ‘भ्युज’ को व्यापार, एआई फोटो-भिडिओमार्फत भ्रम फैलाइँदै
मंसिर १८, २०८२ १८:५९
काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उनकी पत्नी सविना काफ्ले सेतो लुगामा भावुक मुद्रामा देखिने तस्बिरहरू भाइरल भइरहेका छन् । आइतबार बालेनका बुबा डा. रामनारायण शाहको निधन भएपछि फेसबुक-टिकटक लगायतका प्लेटफर्ममा यस्ता सामग्रीहरू फैलिएका हुन् ।
केही फेसबुक पेजहरूले त बालेन शोकमा डुबेको देखाउने तस्बिरहरू मात्र लगातार राखिरहेका छन् । त्यस्तै पेजहरूमध्ये एक हो, ‘comrade jamu’ । ४७ हजार फलोअर रहेको यो पेजले सोमबारदेखि यो समाचार तयार पार्दासम्म बालेनका १० ओटा पोस्टहरू राखिसकेको छ । ती सबै तस्बिरहरू मानवीय समवेदना बटुल्ने खालका छन् । तर यी सामग्री वास्तविक नभई एआई सिर्जित हुन् । टेकपानाले गरेको विश्लेषणमा सामाजिक सञ्जालमा फैलिएका अधिकांश यस्ता सामग्री भ्युज र इङ्गेजमेन्टका लागि एआई टुलको सहयोगमा तयार पारेको पाइएको छ ।
‘comrade jamu’ पेजले बुधबार बिहान १०:५१ मा बालेन र सविना बुबा रामनारायणको तस्बिरमा माला चढाएर मैनबत्ती बालेको स्थान अगाडि बसेर रोइरहेको जस्तो देखिने तस्बिर अपलोड गरेको छ । तस्बिरमा चलचित्र निर्देशक तथा अभिनेता निश्चल बस्नेतले उनीहरूलाई सान्त्वना दिइरहेको जस्तो देखाइएको छ । तर यो तस्बिर एआई जेनेरेटेड हो ।
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टलाई ६८ हजारभन्दा बढी रियाक्सन, चार हजार ३०० भन्दा बढी कमेन्ट र ४३६ पटक शेयर गरिएको छ । पोस्टको क्याप्सनमा लेखिएको छ, “बालेन शाहको आँ’शु अझै रोकिएन, यो बुवा प्रतिको माया रहेछ, सबैले १ ला'ईक गरेर Be Strong लेखौं ।”
उक्त पोस्टमा अधिकांशले “Be Strong” भन्दै कमेन्ट गरेका छन् । कतिपयले समयले सबै कुरा ठीक पार्ने भन्दै बालेनको परिवारप्रति सहानुभूति जनाएका छन् ।
सोही दिन दिउँसो ३:५३ मा त्यही पेजले अर्को पनि एआई निर्मित पोस्ट गरेको छ । पोस्टमा भनिएको छ, “Balen Shah पिताको निध’न भएपछि स'म्हालिनु सकेनन् बालेन शाह भन्छन् मेरो बुवाको सपना छोरो प्रधानम’न्त्री भएको हेर्ने थियो ।”
उक्त पोस्टलाई यो सामग्री तयार पार्दासम्म तीन हजार ४०० बढीले रियाक्ट गरेका छन् भने २४३ ओटा कमेन्ट छ । कमेन्टमा अधिकांशले ‘RIP’ लेख्दै समवेदना जनाएका छन् ।
फेसबुक पेज ‘Miss Pabi 41’ ले पनि बालेनले शोक मनाइरहेको जस्तो देखिने विभिन्न एआई निर्मित फोटोसहित पोस्ट राखेको छ । बुधबार राति ८:१९ मा आएको उक्त पोस्टमा लेखिएको छ, “बालेन शाह हरेक दिन धुरुधुरू रुदै, माया अथाह रहेछ,सबैले १ लाईक गरेर don't sad लेख्नुहोला” । उक्त पोस्टलाई यो सामग्री तयार पार्दासम्म दुई हजार २०० भन्दा बढी लाइक गरिएको छ ।
‘Bhojraj Thapa’ नामक फेसबुक ग्रुपमा पनि विभिन्न प्रयोगकर्ताहरूले यस्तै एआईबाट तयार पारेका तस्बिरहरू राखेका छन् । ती तस्बिरमा पनि हजारौँ रियाक्सन, कमेन्ट र शेयर गरेका छन् । उक्त ग्रुपमा ‘Lalit Jagri’ नामक प्रयोगकर्ताले २ डिसेम्बर (मंगलबार) दिउँसो २:४१ मा बालेन शोकमा भएको विभिन्न एआईबाट तयार पारिएको तस्बिर सार्वजनिक गरेका छन् ।
पोस्टमा उनले लेखेका छन्, “बालेन शाहले रुदै रात बिताए, यो बुवा प्रतिको माया हो, सबैले १ लाईक गरेर 'Be Strong' लेख्नुहोला ।” पाँच हजार ६ सय भन्दा धेरै लाइक र ४३९ कमेन्ट गरिएको छ । पोस्टमा पनि धेरैले ‘Be strong’ भन्दै कमेन्ट गरेका छन् ।
माथि उल्लेख गरेका पेज तथा ग्रुपहरूले मेयर शाहको पितृ शोकको बारेमा मात्र नभई सामाजिक सञ्जालमा भाइरल भइरहेका अन्य व्यक्तिहरूका तस्बिर पनि एआईबाट तयार पारेर भावनात्मक स्टाटससहित राख्ने गरेका छन् ।
क्यान्सर पीडित बालक सलिन कुमाल, जस्मिन बस्नेतको एआईबाट तयार पारिएको तस्बिरहरू प्रशस्तै देखिन्छन् । यस्तै रवि लामिछाने जेलमा रहेको, रास्वपामा जेनजी समूह मिल्न गएका दाबी सहितका विभिन्न एआईबाट तयार पारिएका एआई तस्बिरहरू भेटिन्छन् ।
जानकारहरूका अनुसार मानिसहरूलाई चासो लाग्ने र भावनात्मक बनाउने तस्बिरहरू राख्दा पोस्टमा ‘इङ्गेजमेन्ट’ बढ्ने भएकाले क्रिएटरहरूले एआई तस्बिरको सहारा लिन थालेका हुन् । तर, यस्ता पोस्टले आम प्रयोगकर्तालाई भ्रममा पारिरहेको सीएमआर नेपाल जर्नलिजम एकेडेमीका प्रबन्ध निर्देशक उज्ज्वल आचार्य बताउँछन् ।
आचार्य भन्छन्, “सामाजिक सञ्जालमा धेरै थरीका प्रयोगकर्ता हुन्छन् । ती सबैले एआईबाट तयार पारिएको सामग्री र वास्तविक तस्बिर छुट्याउन सक्दैनन् । एआई निर्मित कन्टेन्टलाई नै वास्तविकता ठानेर उनीहरूले त्यहीअनुसार धारणा बनाउँछन् ।”
मानिसहरूले ‘वास्तवमा यस्तो भइदिए हुन्थ्यो’ भन्ने लागेका कुराहरू एआईमार्फत देख्दा त्यसलाई आलोचनात्मक दृष्टिले नहेरी विश्वास गर्छन् । आचार्यले भने, “आफ्नो समूह वा विचारलाई फाइदा पुर्याउने किसिमको कन्टेन्ट छ भने त्यो गलत हो भन्ने थाहा हुँदाहुँदै पनि शेयर गर्ने प्रवृत्ति छ ।”
कन्टेन्ट क्रिएटरले आफूले चाहेको भाष्य स्थापित गर्न यस्ता सामग्री प्रयोग गर्ने भए पनि यो नैतिक रूपमा ठीक नभएको उनको विश्लेषण छ । “यस्ता कन्टेन्टले मान्छेलाई भ्रमित बनाएर उद्देश्य पूरा गर्दा तत्कालका लागि फाइदाजनक देखिए पनि दीर्घकालका लागि यसले हानि गर्छ,” आचार्यले थपे।
उनका अनुसार सामाजिक सञ्जालमा सादा टेक्स्टभन्दा फोटो र भिडिओले मानिसहरूको ध्यान बढी खिच्छ । तर, वास्तविक तस्बिर नपाउँदा प्रयोगकर्ताहरूले एआईको प्रयोग गर्ने चलन बढेको छ । “वास्तविक तस्बिर नभएको अवस्थामा घटना वा जानकारी बुझाउन पारदर्शी तरिकाले एआई सामग्री प्रयोग गर्न सकिन्छ । तर, एआईबाट तयार पारिएको भनेर स्पष्ट नखुलाई यस्ता सामग्री पोस्ट गर्नु भनेको मिथ्या सूचना फैलाउनु नै हो,” आचार्यको भनाइ छ ।
एआई विज्ञ प्राध्यापक सुरेश मानन्धर टिकटक, फेसबुक, युट्युबजस्ता प्लेटफर्म आम्दानीको स्रोत बन्दै गएकाले धेरैमाझ पोस्ट पुर्याउन एआई सामग्रीको प्रयोग बढेको बताउँछन् । प्रयोगकर्ताले एआईबाट बनेको तस्बिर छुट्याउन नसक्दा समाजमा भ्रम फैलिएको उनको बुझाइ छ ।
यस्तो प्रवृत्ति रोक्न सोसल मिडिया प्लेटफर्मले नै एआई कन्टेन्ट पोस्ट हुँदा स्वतः ‘एआई जेनेरेटेड’ भन्ने ब्यानर वा लेबल आउने व्यवस्था गर्नुपर्नेमा मानन्धर जोड दिन्छन् ।
उनले भने, “युट्युबले एआईबाट तयार पारिएको कन्टेन्ट पत्ता लगाउने अटो सिस्टम बनाएको छ । टिकटकमा पनि क्रिएटरले नै एआई जेनेरेटेड भनेर छान्ने सुविधा छ ।” टिकटक नेपालमा दर्ता भइसकेकाले एआई सामग्रीलाई सबैले थाहा पाउने गरी ब्यानर वा लेबल अनिवार्य गर्न सरकारले पनि पहल गर्नुपर्ने उनले बताए । यस्तो जानकारीले धेरै मानिसलाई मिथ्या सूचनाबाट बचाउन सकिने उनको विश्वास छ ।
एआईको प्रयोग गर्नु पूर्ण रूपमा गलत नभए पनि यसमा पारदर्शिता अपनाउनुपर्ने मानन्धरको राय छ । साथै, सञ्चारमाध्यमले पनि एआईबाट तयार पारिएका सामग्री कसरी छुट्याउने भन्नेबारे पाठकलाई सचेत र सुसूचित गराउनुपर्नेमा उनले जोड दिए ।
पछिल्लो अध्यावधिक: मंसिर १८, २०८२ १९:४१
