close

१९ मिनेटको भाइरल भिडिओको लिङ्क दिने नाममा मालवेयर फैलाउँदै ह्याकर, लिंकमा क्लिक नगर्न अनुरोध

टेकपाना टेकपाना

मंसिर २२, २०८२ १२:५४

१९ मिनेटको भाइरल भिडिओको लिङ्क दिने नाममा मालवेयर फैलाउँदै ह्याकर, लिंकमा क्लिक नगर्न अनुरोध

काठमाडौँ । सामाजिक सञ्जालमा पछिल्लो समय चर्चामा रहेको ‘१९ मिनेटको भाइरल भिडिओ’ ले इन्टरनेट प्रयोगकर्तालाई जोखिममा पारेको छ । भिडिओ हेर्ने कौतूहलतामा जथाभाबी लिङ्क खोल्दा प्रयोगकर्ताको बैँक खाताको विवरण चोरी भइरहेको पाइएपछि साइबर सुरक्षा विज्ञले गम्भीर चेतावनी जारी गरेका हुन् ।

विगत एक साताभन्दा बढी समयदेखि इन्टरनेटमा एउटा भिडिओ ट्रेन्डिङमा छ । यसलाई ‘१९ मिनेट भाइरल भिडिओ’को नाम दिइएको छ । १९ मिनेट ३४ सेकेन्ड लामो भनिएको यस भिडिओमा एक युवा जोडीको अन्तरङ्ग क्लिप रहेको दाबी गरिएको छ । 

भिडिओमा देखिएकी भनिएकी युवतीले सार्वजनिक रूपमा आएर आफूलाई त्यसले दिएको त्रासदी बेलीविस्तार लगाइसकेकी छिन् । त्यसबारे विस्तृत जानकारी यहाँ पढ्न सक्नुहुन्छ ।

नोभेम्बरको अन्तिम सातादेखि इन्टरनेटमा देखा परेको यो भिडिओ फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता प्लेटफर्ममा व्यापक रूपमा खोजी भइरहेको छ । यही भाइरल भिडिओको चर्चा र प्रयोगकर्ताको कौतूहलको फाइदा ह्याकर र स्क्यामरले उठाउन थालेका हुन् । साइबर अपराधीले भिडिओ देखाउने बहानामा नक्कली लिङ्क शेयर गरिरहेका छन् ।

जब कुनै प्रयोगकर्ताले भिडिओ हेर्ने लोभमा ती लिङ्कमा क्लिक गर्छन्, उनीहरूको डिभाइसमा गोप्य रूपमा खतरनाक ‘मालवेयर’ डाउनलोड हुन्छ । साइबर सुरक्षा विज्ञका अनुसार यो मालवेयरले प्रयोगकर्ताको मोबाइल वा कम्प्युटरमा एक्सेस पुर्‍याउँछ र बैङ्किङ विवरण, पासवर्ड तथा अन्य व्यक्तिगत जानकारी चोरी गर्छ ।


साइबर सुरक्षा विज्ञले यो भिडिओ वा यस्ता शङ्कास्पद लिङ्कमा क्लिक नगर्न सुझाव दिएका छन् । “भिडिओको खोजीमा अपरिचित लिङ्क खोल्दा तपाईँको बैँक ब्यालेन्स गायब हुन सक्छ,” विज्ञको भनाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । 

मालवेयर कस्तो किसिमको हो, कति व्यक्तिको बैँक अकाउन्ट ह्याक भएको हो भन्ने लगायतका जानकारी विस्तृत जानकारी भने सार्वजनिक भइसकेका छैनन् । यद्यपि यस्ता गैरकानुनी सामग्रीका लिङ्क उपलब्ध गराउने बाहानामा स्क्यामरले मालवेयर फैलाउन सक्ने भएकाले सचेत रहनु नै बुद्धिमानी हुन्छ ।

 

पछिल्लो अध्यावधिक: मंसिर २२, २०८२ १२:५४