‘१९ मिनेट भाइरल भिडिओ’ ले सामाजिक सञ्जालमा कोलाहल, भिडिओ खोज्ने चक्करमा हुनसक्छ साइबर आक्रमण
मंसिर १७, २०८२ १६:९
काठमाडौँ । पछिल्ला केही दिनदेखि '१९ मिनेट भाइरल भिडिओ' भन्ने वाक्यांश नेपाली तथा भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ता माझ निकै भाइरल बनिरहेको छ । एक जोडीको गोप्य क्लिप (एमएमएस) लाई लिएर यो ट्रेन्ड चर्चामा आएको हो ।
भिडिओको उत्पत्ति र यसमा संलग्न व्यक्तिहरूको पहिचानबारे अनेक भ्रम समेत फैलिएका छन् । यो ट्रेन्डले केही निर्दोष इन्फ्लुएन्सरहरूलाई समेत अनावश्यक समस्यामा पारेको छ । मानिसहरूले भिडिओमा रहेकी युवतीको पहिचान पत्ता लगाउने प्रयासमा जथाभाबी व्यक्तिहरूको नाम लिन थालेपछि यस्तो अवस्था सिर्जना भएको हो ।
सामाजिक सञ्जालमा यो भाइरल भिडियोकी युवतीले लज्जाका कारण आत्महत्या गरेको भन्ने अफवाह पनि फैलिएको छ । तर त्यो भने पूर्णतया गलत रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । फ्याक्ट-चेकबाट मृत्युको भिडिओमा देखिएकी महिला र १९ मिनेटको एमएमएस क्लिपमा देखिएकी महिला फरक व्यक्ति रहेको प्रस्ट भएको छ ।
भिडिओ क्लिपमा भएका व्यक्ति वास्तवमा पश्चिम बङ्गालका कन्टेन्ट क्रियटर सोफिक एसके र उनकी प्रेमिका दुस्तु सोनाली हुन् । सोफिक र सोनाली दुवैले भिडिओ उनीहरूको व्यक्तिगत र रोमान्टिक सम्बन्धको समयमा खिचिएको गोप्य क्लिप भएको स्वीकार गरेका छन् । अन्तरङ्ग भिडिओ अनलाइनमा लिक भएपछि उनीहरू गम्भीर विवादमा पनि तानिएका छन् ।
ब्ल्याकमेलका कारण भिडिओ लिक हुन पुगेको बताइएको छ । सोनालीले यो भिडिओ रुबेल नामक एक परिचित व्यक्तिले चोरी गरेर ब्ल्याकमेल गरेको र अन्ततः सार्वजनिक गरेको आरोप लगाएकी छिन् ।
पल्ली ग्राम टिभीमा समेत कार्यरत सोफिक एसकेले यस घटनालाई लिएर सार्वजनिक रूपमा माफी माग्दै उक्त भिडिओ एक वर्षभन्दा पुरानो भएको बताएका छन् । उनले पासवर्ड थाहा भएको नजिकको एक साथीलाई फोन दिँदा उसैले फुटेज लिएर सोनालीलाई ब्ल्याकमेल गर्न प्रयोग गरेको बताएका छन् ।
सोफिकले भनेका छन्, "मैले उसलाई भाइ जस्तै मानेको थिएँ, तर उसले विश्वासघात गर्यो ।" उनले आफ्नो प्रगति सहन नसक्ने केही साथीहरूले यो भिडिओ अनलाइनमा पोस्ट गरेको आरोप पनि लगाएका छन् ।
दुस्तु सोनालीले एक छुट्टै भिडिओ इन्स्टाग्राममा राख्दै भिडिओ लिक भएपछि आफू मानसिक तनावमा परेको उल्लेख गरेकी छिन् । उनले यो कार्यले आफ्नो जीवन बर्बाद गरेको र आफूमा लगातार आत्महत्याको सोच आइरहेको बताएकी छिन् ।
सोनालीले बताए अनुसार उनले रुबेल र अन्य संलग्न व्यक्तिहरू विरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । अनलाइनमा यसको प्रामाणिकतामाथि पनि प्रश्न उठेको छ । केही प्रयोगकर्ताहरूले यो क्लिप एआईमा आधारित डिपफेक प्रविधिद्वारा बनाइएको वा तोडमोड गरिएको हुन सक्ने अनुमान पनि गरेका छन् ।
म्याकफीका अनुसार भारतको बलियो सेलिब्रेटी संस्कृति र व्यापक अनलाइन गतिविधिले गर्दा प्रविधिले अब चर्चित व्यक्तिको आवाज, रूप र व्यवहार सजिलै नक्कल गर्न सक्ने जोखिम बढाएको छ ।
विवाद सुरु हुँदा करिब ४ लाख ६३ हजार फलोअर्स भएका सोफिकको इन्स्टाग्राम अकाउन्टमा एक हप्ताभित्र बढेर ५ लाख २३ हजारभन्दा बढी पुगेको छ । विवाद पछि पनि सोफिकले नयाँ भिडिओहरू पोस्ट गरिरहेका छन् ।
नेपालमा दर्ता भएका साइबर अपराधका उजुरीमा समेत धेरैजसो प्रकरणमा पीडितले आक्रमणकारीलाई चिनेको पाइएको छ । जसमा पूर्व-प्रेमी/प्रेमिका, साथी वा आफन्त नै हुने गर्छन् । नेपालमा यस्ता कार्यहरूलाई मुख्यतया विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारबाही गरिन्छ ।
यो प्रकरण भाइरल भएपछि साइबर सुरक्षासम्बन्धी चिन्ता पनि बढेको छ । भाइरल भिडिओको खोजीमा रहेका मानिसहरूलाई अनलाइन ठगहरूले मालवेयर वा फिशिङ जालमा पार्न सक्ने भन्दै शङ्कास्पद लिङ्कहरूमा क्लिक नगर्न विज्ञहरूले चेतावनी समेत दिएका छन् । यस किसिमको भिडिओ तथा लिङ्क शेयर तथा वितरण गर्नु कानुनी हिसाबले समेत दण्डनीय छ ।
पछिल्लो अध्यावधिक: मंसिर १७, २०८२ १६:४५
