close

एआईले बनाएका गीत भाइरल हुँदा के होला कलाकारको भविष्य ?

टेकपाना टेकपाना

मंसिर २५, २०८२ २०:३

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौँ । गत तिहारमा देउसी-भैलो खेल्दा बनाइएको एउटा सामान्य टिकटक भिडिओका कारण ६ वर्ष पहिले सार्वजनिक भएको गीत ‘झुम्की’ सामाजिक सञ्जालमा एकाएक चर्चामा आयो । गीत भाइरल भएपछि निर्माताहरूले युट्युबमा यसलाई पुनः अपलोड गरे, जसलाई श्रोता-दर्शकले निकै मन पराए ।

तर, सामाजिक सञ्जालमा ‘झुम्की’ गीतले माहोल तताइरहेकै बेला अर्को गीत ‘पहिलो हाँसो पहिलो बोल’ भाइरल भयो । एआईको सहायतमा बनाइएको यो गीतले ‘झुम्की’ तर्फ आकर्षित भइरहेका दर्शक तथा श्रोताको ध्यान आफूतर्फ खिच्यो । टेकपानासँगको कुराकानीमा ‘झुम्की’ का गायक विष्णु भट्टले एआई गीतका कारण आफ्नो गीतको चर्चा एक्कासि कम भएको गुनासो गरे ।

‘पहिलो हाँसो पहिलो बोल’ मात्र होइन, पछिल्लो समय एआईको प्रयोग गरिएका गीतहरू सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । त्यसकै एउटा उदाहरण हो- ‘तिम्रो लागि मै भइछु बढी, पियारी आजै लाइदेऊ मायाको हतकडी’ । तर, यो भाइरल क्लिप पूर्ण रूपमा एआईबाट सिर्जना गरिएको भने होइन । पहिल्यै सार्वजनिक भएको गीतको केही अन्तरालाई एआईको आवाज दिएर सामाजिक सञ्जालमा भाइरल बनाइएको हो ।

वास्तवमा यो गीत ८ डिसेम्बर २०२४ मा ‘पियारा पियारी’ शीर्षकमा ‘शर्मिला कार्की’ (Sharmila Karki) नामक युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । शर्मिला कार्की, सानु केसी र राम कुमार खतिवडाको आवाज रहेको यो गीत अशोक कुमार सापकोटाले लेखेका हुन् । युट्युबमा २० लाखभन्दा बढी पटक हेरिएको उक्त गीतको कमेन्ट बक्समा धेरैले टिकटकको एआई भर्जन सुनेर आएको प्रतिक्रिया दिएका छन् ।

गत २३ अक्टोबरमा टिकटक अकाउन्ट ‘एआई आर्टिस्ट नेपाल’ ले युट्युब च्यानल ‘वि हेट द कोल्ड’ का युट्युबर ह्यारीले गीत गाएको जस्तो देखिने गरी एआईको मद्दतले २८ सेकेन्ड लामो क्लिप बनाएर राखेको थियो । यो समाचार तयार पार्दासम्म उक्त भिडिओलाई ९३ लाख पटक हेरिएको छ भने ५ लाख १३ हजारभन्दा धेरैले लाइक गरेका छन् । यो टिकटक अकाउन्टले प्रशान्त शिवाकोटीको ‘न्याउली बनैमा’, गोपाल योञ्जनको ‘यति चोखो यति मीठो’ लगायतका गीतहरूको एआई भर्जन पनि सार्वजनिक गरेको छ, जुन निकै भाइरल छन् ।

यसरी एआईबाट बनाइएका गीतहरू भाइरल भइरहँदा केही कन्टेन्ट क्रिएटरले एआईबाट तयार गरिएको भनेर प्रस्ट खुलाएका छन् भने केहीले उल्लेख गरेका छैनन् । तर, अधिकांश दर्शक-श्रोताले भने मनोरञ्जनका लागि ती गीतहरू रुचाउँदै भिडिओ बनाउन प्रयोग गरिरहेका छन् । एआई सिर्जित गीतहरू यसरी भाइरल भइरहँदा यसले वास्तविक सर्जकहरूमाथि नकारात्मक असर पुर्‍याउँछ वा फाइदा हुन्छ भन्ने बहस सुरु भएको छ ।

 


कलाकारको भविष्यमाथि चिन्ता

सङ्गीतकार अर्जुन पोखरेलका अनुसार एआईलाई ‘प्रम्प्ट’ दिएको भरमा गीत लेख्ने, कम्पोज गर्ने, सङ्गीत संयोजन गर्ने र गाउन लगाउने जस्ता काम गर्न सकिन्छ । एआईको प्रयोगबाट गायक बिना नै रचनाकार एक्लैले आफूले चाहेजस्तो गीत ल्याउन सक्ने सम्भावना बढेको छ । तर, यसले लामो समयदेखि साधना गरेका व्यक्तिहरूको काम खोस्न सक्ने उनले आशंका व्यक्त गरे ।

“मानिसलाई एउटा गीत कम्पोज गर्न तीन दिन लाग्छ भने एआईलाई केही सेकेन्ड मात्र । यस्तो हुँदा एआईबाट एकै दिनमा धेरै गीत निकाल्न सकियो । मेरै कुरा गर्ने हो भने पनि, कम्पोज गरेर गाउनका लागि गायकलाई नदिई एआईलाई नै दिन सक्ने भएँ,” उनले भने ।

सङ्गीत क्षेत्रसँग जोडिएको ठुलो जनशक्तिको रोजीरोटी धरापमा पर्न सक्ने उनको विश्लेषण छ । “एउटा गीत तयार पार्न लेखक, सङ्गीतकार, कम्पोजर, गायक/गायिका र प्राविधिकसहित ठुलो जनशक्तिको मिहिनेत हुन्छ । गीतसँगै उनीहरूको रोजीरोटी पनि जोडिएको हुन्छ । तर, यो सबै काम कुनै एउटा टुलले गरिदिँदा सबैको काम जोखिममा पर्न सक्छ,” उनले भने ।

यस्तै, एआईबाट तयार पारिएको सङ्गीतमा भाषाको प्रयोग र उच्चारणमा शुद्धता नहुने भएकाले नेपाली भाषाको मौलिकता र सौन्दर्य जोगाउन समस्या हुने उनले उल्लेख गरे । यद्यपि, दर्शक तथा श्रोताले सिर्जना प्रक्रिया भन्दा पनि मनोरञ्जनलाई प्राथमिकता दिने भएकाले एआई गीत चर्चामा आउन सक्ने उनको भनाइ छ । “एआईबाट बनेका गीतहरू मात्रै चर्चामा आए भने भविष्यमा मेला-महोत्सवमा गएर गाउने कलाकार नै बाँकी नरहने अवस्था आउन सक्छ,” उनले चिन्ता व्यक्त गरे ।

एआई: ‘मह’ होइन ‘चुइगम’ जस्तो

यता, गीतकार तथा गायक राजनराज शिवाकोटी भने एआईबाट तयार पारिएका गीतले कलाकारको कलालाई तत्कालै विस्थापित गर्न नसक्ने धारणा राख्छन् । एआईबाट बनेको गीतमा ‘वास्तविक भावना’ नहुने उनको तर्क छ ।

उनले भने, “मान्छे कति सङ्घर्ष र दुख गरेर हुर्किन्छ । ऊसँग चोट, भावना, दुख र सुखका अनुभूति हुन्छन् । त्यही वास्तविक भोगाइ र तपस्याका कारण उसको सिर्जनामा भाव पनि सँगसँगै जोडिएर आउँछ ।” हृदय स्पर्श गर्न वास्तविक भावनाबाट उब्जिएका शब्दहरूले मात्र सक्ने बताउँदै उनले थपे, “यस्ता भावना एआईबाट प्राप्त हुँदैन ।”

एआईले मानिसहरूले पहिल्यै सिर्जना गरिसकेका गीतहरूका डेटा प्रयोग गरेर आफ्नो जस्तो गरी प्रस्तुत गर्ने उनको भनाइ छ । नयाँ प्रविधिको प्रयोगले मानिसहरूलाई केही समयका लागि आकर्षित गरे पनि लामो समयसम्म टिकिराख्न नसक्ने उनले दाबी गरे । “होटलहरूमा रोबोटले खाना पस्कियो भने हामीलाई अचम्म लाग्छ, एआईबाट बनेको सङ्गीत पनि त्यस्तै हो । केही समयलाई मन परे पनि सधैँभरि हृदयलाई छोइराख्न सक्दैन,” उनले भने ।

शिवाकोटीका अनुसार वास्तविक भावना प्रयोग गरेर बनाइएका गीतहरू कालान्तरसम्म श्रोताले मन पराइरहन्छन् । त्यसैले अहिले नै एआईले वास्तविक सर्जकलाई विस्थापित गर्ने अवस्था नआएको उनको भनाइ छ ।

“यदि भविष्यमा वास्तविक गीतलाई छाडेर एआईकै गीतलाई धेरै रुचाइयो भने यसको प्रयोगबारे सोच्नुपर्ने हुन सक्छ । तर, एआईकै भर पर्नुभन्दा कलाकारले आफ्नो सिर्जनालाई थप निखार्न यसको प्रयोग गर्न सक्छन्,” उनले भने ।

सङ्गीतकार शिवाकोटीले एआई र मानव सिर्जनाको तुलना गर्दै भने, “वास्तविक गीत भनेको महजस्तै हो, सधैँ मीठो भइरहने । एआई गीत चाहिँ चुइगमजस्तै हो, सुरुमा मीठो लाग्ने तर विस्तारै स्वाद हराउने ।”

‘मनिटाइजेसनले एआई सङ्गीतको उत्पादन बढ्न सक्छ’

हाल युट्युब र टिकटकले आफ्ना ‘मनिटाइजेसन’ नीतिअन्तर्गत रहेर तयार पारिएका एआई जेनेरेटेड गीतहरूलाई आम्दानीको सुविधा दिँदै आएका छन् । यद्यपि, मेटाले भने एआई जेनेरेटेड सामग्रीबारे स्पष्ट नीति बनाएको छैन । म्युजिक स्ट्रिमिङ प्लेटफर्म ‘स्पोटिफाई’ ले पनि आफ्ना सर्तहरूमा रहेर तयार भएका एआई सङ्गीतलाई मान्यता दिएको छ । तर, कपिराइट उल्लंघन भएका र पहिचान स्पष्ट नखुलाएका एआई सामग्रीलाई हटाउँदै आएको छ ।

एआई जेनेरेटेड गीतलाई सबै प्लेटफर्मले आर्थिक आम्दानीका लागि मान्यता दिएमा यसको प्रयोग झनै बढ्ने सङ्गीतकार पोखरेल बताउँछन् । उनले डिजिटल अडिओ डिस्ट्रिब्युटर कम्पनी ‘अम्युज’ (Amuse) लाई इमेल पठाएर एआई प्रयोग गरिएका गीतलाई मान्यता दिने/नदिनेबारे बुझेको सुनाए ।

“अम्युजले यस्ता गीतहरू कृत्रिम हुने र मानिसहरूको वास्तविक सिर्जनाको प्रयोग नहुने भएकाले मान्यता दिन मिल्दैन भनेर जवाफ दिएको छ,” उनले भने ।

तर, ‘डिस्ट्रोकिड’ लगायतका केही प्लेटफर्मले भने शब्द र सङ्गीत मानिसले सिर्जना गरेको तर गायन एआईबाट तयार पारिएको गीतलाई आंशिक रूपमा मनिटाइजेसनको मान्यता दिएको उनले बताए ।

पोखरेलले चेतावनी दिँदै भने, “यदि भविष्यमा सबै प्लेटफर्महरूले एआई प्रयोगलाई खुला अनुमति दिन थाले भने अधिकांश गीतहरू एआईकै भरमा बन्नेछन् । यसले लामो समय सङ्गीत साधना गरेर गला बनाएका गायक-गायिकासहितका सर्जकहरूको करिअर धरापमा पार्न सक्छ ।”

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८२ २०:९