अहिलेसम्मकै ठुलो आईपीओ ल्याउने तयारीमा एलन मस्कको स्पेसएक्स, ३० अर्ब डलर बढी जुटाउने लक्ष्य
मंसिर २७, २०८२ १३:५४
काठमाडौँ । एलन मस्कको नेतृत्वमा रहेको अन्तरिक्ष अन्वेषण कम्पनी ‘स्पेसएक्स’ ले शेयर बजारमा सूचीकृत हुनका लागि आईपीओ जारी गर्ने योजना अघि बढाएको छ । यस प्रक्रियामार्फत कम्पनीले ३० अर्ब डलरभन्दा बढी रकम जुटाउने लक्ष्य राखेको छ ।
यो योजना सफल भएमा अहिलेसम्मकै सबैभन्दा ठुलो शेयर सूचीकरण हुने जनाइएको छ । कम्पनीले आफ्नो कुल बजार मूल्याङ्कन करिब १.५ ट्रिलियन डलर पुर्याउने लक्ष्य राखेको छ । यो मूल्याङ्कन साउदी अरेबियाको तेल कम्पनी ‘साउदी अरामको’ ले सन् २०१९ मा कायम गरेको रेकर्डको हाराहारीमा हुनेछ । उक्त कम्पनीले त्यस समयमा २९ अर्ब डलर उठाएको थियो ।
यस विषयमा जानकार स्रोतलाई उद्धृत गर्दै ब्लुमबर्गले स्पेसएक्सको व्यवस्थापन र सल्लाहकारले सन् २०२६ को मध्य वा अन्त्यसम्ममा यो आईपीओ जारी गर्ने तयारी गरिरहेको उल्लेख गरेको छ । यद्यपि बजारको अवस्था र अन्य कारणले गर्दा यो समय सन् २०२७ सम्म लम्बिन सक्ने सम्भावना पनि छ ।
हाललाई यो विषय गोप्य राखिएको हुनाले स्रोतको नाम बाहिर आइसकेको छैन । यद्यपि अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कम्पनी स्रोतलाई नै आधार बनाएर स्पेसएक्सको शेयर निष्कासन सम्बन्धी समाचार बनाएका छन् ।
स्पेसएक्सको आईपीओ आउने खबर सार्वजनिक भएलगत्तै मङ्गलबार अन्य अन्तरिक्ष सम्बन्धी कम्पनीको शेयर मूल्यमा उछाल आएको छ । स्पेसएक्सलाई स्पेक्ट्रम बेच्न सहमत भएको इकोस्टारको शेयर १२ प्रतिशतसम्म बढेको छ भने रकेट ल्याबको शेयरमा पनि ४.३ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीले आईपीओको तयारीका लागि आवश्यक पदमा कर्मचारी नियुक्त गर्ने र पुँजी कसरी खर्च गर्ने भन्ने योजना बनाइसकेको छ । ‘स्टारलिङ्क’ इन्टरनेट सेवाको विस्तार र ‘स्टारशिप’ रकेटको विकासले स्पेसएक्सको शेयर बजार यात्रालाई तीव्रता दिएको छ ।
कम्पनीले सन् २०२५ मा करिब १५ अर्ब डलर आम्दानी गर्ने अपेक्षा गरेको छ । यो बढेर सन् २०२६ मा २२ देखि २४ अर्ब डलर पुग्ने अनुमान छ । आम्दानीको ठुलो हिस्सा स्टारलिङ्कबाट आउने बताइएको छ ।
आईपीओबाट सङ्कलन भएको रकम कम्पनीले अन्तरिक्षमा आधारित डेटा सेन्टर विकास गर्न र त्यसका लागि आवश्यक चिप खरिद गर्न खर्च गर्ने योजना बनाएको छ ।
हाल कम्पनीले आफ्ना कर्मचारीहरूका लागि शेयर बिक्री खोलेको छ । यसमा प्रतिशेयर मूल्य करिब ४२० डलर तोकिएको छ । यसले कम्पनीको अहिलेको मूल्याङ्कन ८०० अर्ब डलरभन्दा माथि पुर्याएको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । तर, यो सत्य नभएको एलन मस्कको भनाइ छ ।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले स्पेसएक्स धेरै वर्षदेखि नाफामा रहेको र कर्मचारी तथा लगानीकर्तालाई तरलता प्रदान गर्न वर्षमा दुईपटक शेयर बाइब्याक गर्ने गरेको बताएका छन् ।
पछिल्लो अध्यावधिक: मंसिर २७, २०८२ १४:१४
