गुगल प्ले स्टोरमा ५ लाख नाघ्यो कारोबार एपको डाउनलोड, केका लागि प्रयोग हुन्छ यो एप ?
मंसिर २८, २०८२ १०:८
काठमाडौँ । व्यवसाय व्यवस्थापन एप कारोबार एपले हालै गुगल प्ले स्टोरमा ५ लाखभन्दा बढी डाउनलोडको महत्त्वपूर्ण माइलस्टोन पार गरेको छ । कारोबार एप नेपाली उद्यमीहरूका लागि बनाइएको अल-इन-वन व्यवसाय व्यवस्थापन एप हो, जसलाई साना र मझौला व्यवसायहरूलाई ध्यानमा राखेर निर्माण गरिएको छ ।
यसलाई 'डिजिटल बिजनेस पार्टनर' पनि भन्ने गरिएको छ, जसले व्यवसाय व्यवस्थापनलाई सरल, स्मार्ट र तनाव मुक्त बनाउन मद्दत गर्छ । लाखौँ व्यवसायीले आफ्नो आर्थिक हिसाब किताब तथा व्यवस्थापन सरल बनाउनको लागि कारोबार एप प्रयोग गरिरहेको कम्पनीले जनाएको छ ।

केका लागि प्रयोग हुन्छ यो एप ?
कारोबार एपले व्यवसायीहरूलाई धेरै कामहरू सहज रूपमा गर्न मद्दत गर्दछ ताकि उनीहरू आफ्नो व्यवसाय बढाउनमा ध्यान केन्द्रित गर्न सकून् । यो एप विशेषगरी व्यवसायको लेखा (अकाउन्टिङ) र इन्भेन्ट्री व्यवस्थापनमा प्रयोग हुन्छ ।
यसले बिक्री, खरिद र खर्चहरू रेकर्ड गर्न सहयोग गर्दछ । जसले सरल बहीखाता (बुककिपिङ) सुनिश्चित गर्दछ । कारोबार एपले ग्राहक र आपूर्तिकर्ताको लेजर सजिलैसँग एकै ठाउँमा व्यवस्थापन गर्न पनि मद्दत गर्छ ।
धेरै व्यवसायीहरूले आफ्नो उधारो खाता राख्न यो एप प्रयोग गरिरहेका छन् । यसले रियल-टाइममा उत्पादनहरूको इभेन्ट्री ट्र्याक गर्न र व्यवस्थापन गर्न सघाउँछ ।
व्यवसायीहरूले समयमै पैसा सङ्कलन गर्नको लागि ह्वाट्सएप र एसएमएस मार्फत ग्राहकहरूलाई भुक्तानी रिमाइन्डरहरू पठाउन सक्छन् । यो एपले व्यवसायको प्रर्फर्मेन्स रिपोर्ट (जस्तै आम्दानी, खर्च, नाफा र नोक्सान) हेर्नको लागि इन्साइट प्रदान गर्दछ ।
यसबाट प्रयोगकर्ताहरूले केही सेकेन्डमै कस्टमाइज व्यावसायिक इनभ्वाइस तयार पार्न सक्छन् । साथै, कागजी बिल तथा रसिदहरूको फोटो लिएर डिजिटल रूपमा अपलोड र स्टोर गर्ने सुविधा पनि यसमा रहेको छ ।
कारोबार एप खुद्रा विक्रेता, थोक बिक्रेता, फ्रिल्यान्सर, क्रियटर र घरमा आधारित साना व्यवसाय लगायत सबै व्यवसायहरूको लागि उपयोगी छ । यो एपले अफलाइन र अनलाइन दुवै मोडमा काम गर्दछ र यसलाई नेपाली भाषा र पात्रोको रूपमा पनि प्रयोग गर्न सकिन्छ । यो एप मोबाइलका साथै डेस्कटपबाट पनि प्रयोग गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: मंसिर २८, २०८२ १०:२०
