काठमाडौँ । गुगलले आफ्नो डार्क वेब रिपोर्ट (dark web report) सेवा बन्द गर्ने घोषणा गरेको छ । प्रयोगकर्ताको व्यक्तिगत जानकारी डेटा ब्रिच मार्फत डार्क वेबमा पत्ता लागेको खण्डमा सचेत गराउने अप्ट-इन फिचर कम्पनीले बन्द गर्न लागेको हो ।
गुगलले ईमेलमार्फत प्रयोगकर्ताहरूलाई यो सेवा आगामी महिनाबाट बन्द हुने सूचित गराउन थालेको छ । रिपोर्टले सामान्य जानकारी दिए पनि प्रयोगकर्ताहरूबाट आएको प्रतिक्रियाले उपयोगी अर्को कदम प्रदान गरेको नदेखिएकाले यो सेवालाई बन्द गर्नु परेको गुगलले जनाएको छ ।
कम्पनीले अब प्रयोगकर्तालाई आफ्नो जानकारी अनलाइनमा सुरक्षित राख्नका लागि थप स्पष्ट, एक्सन लिन सकिने जस्ता उपकरणहरूमा आफ्नो ध्यान केन्द्रित गर्ने बताएको छ । गुगलले सम्पर्क विवरण र घरको ठेगाना स्क्यान गर्ने जस्ता व्यक्तिगत जानकारी सङ्कलन गर्ने कार्य १५ जनवरी, २०२६ मा रोक्नेछ ।
यसअघि सङ्कलन गरिएको सम्बन्धित डेटा १६ फेब्रुअरी, २०२६ बाट प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने छैन र हटाइनेछ । यदि तपाईँ त्यसअघावै आफ्नो मनिटरिङ प्रोफाइल हटाउन चाहनु हुन्छ भने थप जानकारीका लागि यहाँ क्लिक गर्न सक्नु हुन्छ ।
डार्क वेब रिपोर्ट सुरुमा सन् २०२३ मा गुगल वनका ग्राहकहरूका लागि विशेष सुविधाको रूपमा सुरु गरिएको थियो । त्यसपछि सन् २०२४ मा सबै गुगल अकाउन्ट प्रयोगकर्ताका लागि विस्तार गरिएको थियो । यो सुविधा बन्द हुनुअघि करिब एक वर्ष मात्र फराकिलो रूपमा उपलब्ध भएको थियो ।
गुगलले अब प्रयोगकर्ताहरूलाई आफ्नो सुरक्षा र गोपनीयता सुदृढ गर्न results about you पेज र गुगलको Security Checkup फिचर प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ । गुगलले प्रयोगकर्ताहरूलाई पासकी, टु-स्टेप भेरिफिकेसन, गुगल पासवर्ड म्यानेजर र पासवर्ड चेकअप जस्ता उपलब्ध टुलहरू पनि प्रयोग गर्न सुझाव दिएको छ । यसका साथै डार्क वेबमा प्रयोगकर्ताको डेटा मनिटरिङ गर्न Have I Been Pwned जस्ता अन्य सेवाहरू पनि उपलब्ध छन् ।
पछिल्लो अध्यावधिक: पुस १, २०८२ १३:११
