close

अब तपाईँको बिहानीको सुरुवात हुनेछ गुगलको नयाँ एआई एजेन्ट 'सीसी'बाट, स्क्रोलिङको झन्झट हटाउने

टेकपाना टेकपाना

पुस २, २०८२ १२:३४

अब तपाईँको बिहानीको सुरुवात हुनेछ गुगलको नयाँ एआई एजेन्ट 'सीसी'बाट, स्क्रोलिङको झन्झट हटाउने

काठमाडौँ । गुगलले आफ्ना प्रयोगकर्ताहरूले दिनको सुरुवात एआईबाट गरुन् भन्ने उद्देश्यका साथ नयाँ फिचर ल्याएको छ । कम्पनीले प्रयोगकर्ताको ईमेल, क्यालेन्डर र डकुमेन्टहरूको जाँच गरी हरेक बिहान इनबक्समा एक ब्रिफिङ पठाउने CC (सीसी) नामक एक परीक्षणात्मक एआई एजेन्ट सुरु गरेको हो ।

गुगल ल्याब अन्तर्गत यो नयाँ एआई एजेन्टले प्रयोगकर्ताहरूको बिहानको स्क्रोलिङको बानीलाई प्रतिस्थापन गर्ने लक्ष्य लिएको छ । यो नयाँ सुविधालाई सीसी भनिएको छ । जसले दैनिक Your Day Ahead नामक ब्रिफिङ प्रयोगकर्ताको इनबक्समा पठाउनेछ । गुगलले यस किसिमको व्यक्तिगत ब्रिफिङलाई एउटा स्पष्ट सारांश (one clear summary) को रूपमा वर्णन गरेको छ ।

जसमा दिनभरको तालिकाका साथै भुक्तानी गर्नुपर्ने बिल वा अपोइन्टमेन्टको तयारी गर्नुपर्ने जस्ता महत्त्वपूर्ण कार्यहरू वा अपडेटहरू समावेश हुनेछन् । छिटो कार्य गर्न र दिनको सुरुवात गर्न मद्दत पुर्‍याउनका लागि सीसीले ईमेल ड्राफ्ट र क्यालेन्डर लिङ्क पनि तयार पार्न सक्छ ।

यो एजेन्ट गुगलको जेमनाई एआई मोडेल प्रयोग गरेर बनाइएको हो । सीसीले यसका लागि प्रयोगकर्ताको जिमेल, गुगल क्यालेन्डर, गुगल ड्राइभ र इन्टरनेटसँग जोडिएर आवश्यक जानकारी लिन्छ । गुगलका अनुसार प्रयोगकर्ताहरूले सीसीको ब्रिफिङमा प्रतिक्रिया दिएर वा यसलाई सिधै इमेल गरेर पनि यो उपकरणलाई थप पर्सनलाइज्ड (व्यक्तिगत) गर्न सक्नेछन् ।

सुरुवाति चरणमा सीसी अमेरिका र क्यानाडाका १८ वर्षभन्दा माथिका पैसा तिर्ने सब्सक्राइबरहरू लाई 'अर्ली एक्सेस' को रूपमा ल्याइएको छ । कम्पनीले मङ्गलबारदेखि सुरु गरेको यो सेवाका लागि वेटलिस्ट कति समयसम्म रहनेछ वा अन्य देशमा कहिले विस्तार हुनेछ भन्नेबारे कुनै सङ्केत दिएको छैन । तपाईँले यहाँ क्लिक गरेर आफूलाई यसको वेटलिस्टमा राख्न सक्नु हुनेछ ।

यो नयाँ एजेन्ट ओपनएआईले गत सेप्टेम्बरमा सार्वजनिक गरेको च्याटजीपीटी प्लससँग धेरै हदसम्म मिल्दोजुल्दो छ । जसलाई कम्पनीका सीईओ साम अल्टम्यानले लामो समयपछि लन्च भएको आफ्नो मनपर्ने फिचर बताएका थिए । 

 

पछिल्लो अध्यावधिक: पुस २, २०८२ १२:३४