इन्स्टाग्राम चलाउँदा सेक्सटोर्सनमा परेर आत्महत्या गरेका किशोरका बुबाआमाले हाले मेटामाथि मुद्दा
पुस ३, २०८२ ९:३
काठमाडौँ । इन्स्टाग्राममा ब्ल्याकमेल (सेक्सटोर्सन) को शिकार भएपछि आफ्नो किशोर छोराले आत्महत्या गरेको भन्दै स्कटल्यान्डको एक जोडीले प्यारेन्ट कम्पनी मेटा विरुद्ध मुद्दा दायर गरेका छन् । यो बेलायतमा यस प्रकारको पहिलो मुद्दा मानिएको छ ।
डन्ब्लेनका मुर्रे डाउई डिसेम्बर २०२३ मा सेक्सटोर्सनको शिकार बनेका थिए । १६ वर्षका उनले सेक्सटोर्सनकै कारण आफ्नो ज्यान लिए ।
मुर्रेका आमाबाबु (मार्क र रोज डाउई) ले मेटा विरुद्ध अमेरिकी अदालतमा दण्डात्मक क्षतिपूर्ति माग गर्दै कानुनी कारबाही सुरु गरेका छन् । इन्स्टाग्राम सुरक्षित नभएका कारण आफ्नो छोराको ज्यान गएको उनीहरूको दाबी छ ।
के थियो घटना ?
मुर्रेको मृत्यु डिसेम्बर २०२३ मा डन्ब्लेनस्थित आफ्नै घरमा भएको थियो । उनलाई एउटी युवतीको भेषमा रहेका ठगहरूले फसाएर उनका अन्तरङ्ग तस्बिर पठाउन लगाएका थिए । पैसा नदिए मुर्रेको परिवारलाई ती तस्बिरहरू सार्वजनिक गरिदिने धम्की ठगहरूले दिएका थिए ।
मुर्रेका आमाबाबुको तर्फका वकिलले मेटालाई उनको मृत्यु हुनुअघि नै सेक्सटोर्सन रोक्न सक्ने सुरक्षा सुविधाहरू बारे जानकारी रहेको, तर कम्पनीले त्यसको सट्टा नाफालाई प्राथमिकता दिएको दाबी गरेका छन्।
बीबीसी न्युज कुरा गर्दै मुर्रेकी आमा रोज ले भनेकी छिन्, "हाम्रो जीवनमा हुनै नसक्ने सबैभन्दा नराम्रो कुरा भय । मेटाले जे गरे पनि त्यो (घटना) भन्दा खराब नहुने भएकाले हामी यो लडाइँका लागि तयार छौँ । हामी यसलाई जति टाढासम्म पुर्याउन सकिन्छ, लैजानेछौँ ।"
मुर्रेका आमाबाबुले यो मुद्दा सोसल मिडिया भिक्टिम्स ल सेन्टर (SMVLC) मार्फत दायर गरेका हुन् । मुर्रेका आमाबाबुसँगै पेन्सिलभेनियाकी ट्रिसिया म्यासिजेस्कीको नाम पनि मुद्दामा समावेश गरिएको छ । उनका छोरा लेवी म्यासिजेस्कीले पनि १३ वर्षको उमेरमा आत्महत्या गरेका थिए ।
मेटा (जो फेसबुकको पनि मातृ कम्पनी हो) ले यसअघि प्लेटफर्ममा बालबालिकाको सुरक्षाका लागि परिवर्तनहरू गरेको र किशोरकिशोरीहरूका अकाउन्टमा निर्मित सुरक्षा (built-in protections) र अभिभावकलाई आफ्ना बच्चाहरूको अनलाइन अनुभव नियन्त्रण गर्ने शक्ति दिएको बताएको थियो ।
अहिले सेक्सटोर्सन नाइजेरियामा याहू ब्वाइज उपनाम दिइएका हजारौँ युवाहरू संलग्न रहेको एक ठुलो व्यापार बनेको छ । यस अपराधमा संलग्न हुने तरिकाबारेका गाईडहरू अनलाइनमा खुल्लमखुल्ला बिक्रीका लागि उपलब्ध छन् ।
पछिल्लो अध्यावधिक: पुस ३, २०८२ ९:३
