close

भन्सार प्रक्रिया पूरा नगरी आईफोन र ल्यापटप ल्याएको आरोपमा २ जना पक्राउ

टेकपाना टेकपाना

पुस ४, २०८२ १७:४६

भन्सार प्रक्रिया पूरा नगरी आईफोन र ल्यापटप ल्याएको आरोपमा २ जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट भन्सार छली गरी ल्याइएका महँगा आईफोन र ल्यापटपसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भई हाल काठमाडौँ बस्ने २४ वर्षीय झलक मगर र रामेछाप नै घर भई भक्तपुरको कौशलटार बस्ने २७ वर्षीय टीका थापा मगर रहेका छन् । 

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतको प्रहरी वृत्त गौशालाले बिहीबार नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट दुई लाख ८ हजार ९९० रुपैयाँ पर्ने आईफोन १३ प्रो म्याक्स, दुई लाख ३९ हजार ९९९ रुपैयाँ पर्ने आईफोन १७ प्रो म्याक्स र करिब ६२ हजार रुपैयाँ बराबरको डेल ल्यापटप बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार विदेशबाट आउँदा भन्सार प्रक्रिया पूरा नगरी सामान भित्र्याएको पाइएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो । “कतिपयले अर्काको नाममा फोन पठाउने र यहाँ भन्सार नतिरी बुझ्ने गरेको पाइन्छ, यो पनि त्यस्तै प्रकृतिको देखिएको छ,” प्रवक्ता भट्टराईले भने ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: पुस ४, २०८२ १७:४६