च्याटजीपीटीमा क्यान्भा जोडेर केही मिनेटमै यसरी बनाउनुहोस्, आफूले चाहेजस्तै आकर्षक प्रिजेन्टेसन
पुस ६, २०८२ १२:१२
काठमाडौँ । अब च्याटजीपीटी भित्रै क्यान्भाको प्रयोग गरेर आकर्षक प्रिजेन्टेसन तयार पार्न सकिने भएको छ । यो नयाँ सुविधाले प्रिजेन्टेसन बनाउँदा घण्टौँ लाग्ने कामलाई केही मिनेटमै सीमित गरिदिएको छ ।
यो सुविधा प्रयोग गर्न तपाईँले आफ्नो च्याटजीपीटी अकाउन्टलाई सेटिङमा गएर एप एन्ड कनेक्टर्स (Apps and connectors) मार्फत क्यान्भासँग लिङ्क गराउनुपर्ने हुन्छ । यसरी एक पटक कनेक्ट गराएपछि नयाँ च्याट सुरु गर्दा क्यान्भा (Canva) को विकल्प छनोट गरेर वा प्रम्प्टको सुरुमा Canva लेखेर यसलाई एक्टिभ गर्न सकिन्छ ।
प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसारको विस्तृत विवरण प्रम्ट (prompt) दिएपछि च्याटजीपीटीले क्यान्भाको माध्यमबाट स्लाइड तयार पारिदिन्छ । गुगल स्लाइड्स वा अन्य सफ्टवेयरमा घण्टौँ लगाएर बनाइने स्लाइड यसबाट ५ मिनेटभन्दा कम समयमै तयार पार्न सकिन्छ ।
प्रिजेन्टेसनका लागि आवश्यक कन्टेन्टको योजना बनाउन च्याटजीपीटीको डिप रिसर्च (Deep Research) फिचर प्रयोग गर्न सकिन्छ । प्रिजेन्टेसन तयार पार्ने सुविधा प्रयोग गर्न क्यान्भा वा च्याटजीपीटीको सशुल्क भर्सन नै चाहिन्छ भन्ने छैन । नि:शुल्क प्रयोगकर्ताहरूले पनि यो सेवा प्रयोग गर्न सक्छन् ।
एआईले तयार पारेको प्रारम्भिक डिजाइनलाई प्रयोगकर्ताले सिधै क्यान्भामा खोलेर रङ, फन्ट, तस्बिर र शब्दहरू आफ्नो इच्छा अनुसार परिवर्तन गर्न सक्छन् । तर एआईले कहिलेकाहीँ एआई सिर्जित (AI-generated) तस्बिरहरू प्रयोग गर्ने वा केही टेक्स्ट अस्पष्ट हुन सक्ने सम्भावना रहन्छ ।
त्यसैले, अन्तिम प्रस्तुति अघि प्रयोगकर्ताले एक पटक पुनरावलोकन र आवश्यक सम्पादन गर्नु उचित हुन्छ । यो सुविधा तपाईँलाई केवल प्रिजेन्टेसन बनाउन मात्र नभई सामाजिक सञ्जालका पोस्ट, पोस्टर र फ्लायर बनाउन पनि उत्तिकै प्रभावकारी उपयोगी हुन सक्छ ।
यसरी बनाउनु होस् प्रिजेन्टेसनः
यसका लागि सबैभन्दा पहिला आफ्नो च्याटजीपीटी खोल्नुहोस् र माथि बायाँ कुनामा रहेको दुई धर्सा भएको स्थानमा ट्याप गरेर आफ्नो प्रोफाइलमा जानुहोस् ।
त्यहाँबाट तपाईँ सेटिङमा पुग्नु हुनेछ । अब Apps हुँदै Browse apps मा जानुहोस् ।
त्यहाँबाट क्यान्भा छानेर Connect बटनमा थिच्नुहोस् ।
अब आवश्यक अनुमति दिएर अन्तिममा रहेको 'Connect to Canva' बटनमा ट्याप गर्नुहोस् । त्यसपछि तपाईँको ब्राउजरमा क्यान्भाको वेब पेज खुल्छ । त्यहाँ आफ्नो क्यान्भा अकाउन्ट लगइन गरेर (अकाउन्ट छैन भने पनि निःशुल्क बनाउन सक्नु हुनेछ) अन्तिममा रहेको Allow बटन दबाउनु होस् ।
यसरी एप कनेक्ट गरिसकेपछि अब तपाईँको च्याटजीपीटीको च्याट बक्समा क्यान्भा एप देखिनेछ । यदि देख्नु भएन भने प्रम्ट लेख्ने स्थानमा @canva टाइप गरेर क्यान्भा एप छान्नुहोस् ।
अब आफूले प्रिजेन्टेसनमा समावेश गर्न चाहेका विवरण तथा फाइल समावेश गरेर च्याटजीपीटीलाई प्रिजेन्टेसन तयार पार्न अनुरोध गर्न सक्नु हुन्छ । च्याट जीपीटीले तयार पारेको विवरणमा आवश्यक फेरबदल गरेर @canva लाई मेन्सन गर्नुहोस् र प्रिजेन्टेसन स्लाइड बनाउन लगाउनु होस् ।
यति गरिसकेपछि च्याटजीपीटीले विभिन्न विकल्प सहित प्रिजेन्टेसन स्लाइड बनाउँछ । त्यसमध्ये आफूलाई उपयुक्त लागेको कुनै एउटा डिजाइन छान्नुहोस् । अब त्यसमा आवश्यक एडिट गर्न माथि दायाँ कुनामा रहेको Open in Canva मा क्लिक गर्नुहोस् । अब तपाईँले आफ्नो प्रिजेन्टेसनलाई चाहे जस्तै गरी अन्तिम रूप दिन सक्नु हुन्छ ।
पछिल्लो अध्यावधिक: पुस ६, २०८२ १२:१७
