काठमाडौँ । युट्युबर ध्रुव राठीले आफ्नो नयाँ भिडिओले चर्चित फिल्म धुरन्धरलाई ध्वस्त पार्ने दाबी गरेका छन् । शनिबार सामाजिक सञ्जाल एक्समा एक पोस्ट राख्दै उनले ३०० करोड भारु लगानीको यो फिल्मलाई आफ्नो एउटै भिडिओले ध्वस्त पार्ने दाबी गरेका हुन् ।
उनले ‘यो भिडिओ पछि फिल्म निर्माताको हालत खराब हुने र उनीहरू यसको सामना गर्न तयार नरहेको’ भन्दै कडा चुनौती समेत दिएका छन् । गत ५ डिसेम्बरदेखि भारतसहित विभिन्न देशमा प्रदर्शनमा आएको यस फिल्मको बारेमा राठीले शनिबार राति ‘धुरन्धर फिल्मको वास्तविकता’ शीर्षकमा एक विस्तृत विश्लेषणसहितको भिडिओ सार्वजनिक गरेका छन् । भिडिओमा राठीले फिल्मले कसरी ‘वास्तविक घटनाबाट प्रेरित’ भन्ने ट्याग प्रयोग गरेर दर्शकलाई भ्रमित पारिरहेको छ भन्ने कुरा बताउन खोजेका छन् ।
It takes 1 YouTube video to destroy a ₹300 crore propaganda film
— Dhruv Rathee (@dhruv_rathee) December 20, 2025
And I guarantee you that the MELTDOWN after this video will be so bad. They’re not ready for this. Releasing tonight ;)
राठीका अनुसार फिल्म निर्माताले २६/११ को मुम्बई आक्रमण र पुलवामा हमला जस्ता संवेदनशील वास्तविक घटनाहरूमा काल्पनिक र झुटो कथा मिसाएका छन् । फिल्ममा देखाइए जस्तो गुप्तचर एजेन्सीले अपराधीलाई प्रयोग गर्ने वा सरकार नै गद्दार हुने भन्ने भाष्य पूर्णतः गलत रहेको उनले बताएका छन् ।
उनले सन् २०११ मा बेलायती कम्पनी ‘डे ला रु’ लाई प्रतिबन्ध लगाइएको र विभिन्न आतङ्कवादी हमला अघि गुप्तचर सूचना प्राप्त भएको सरकारी दस्ताबेज प्रस्तुत गर्दै फिल्मको दाबी खण्डन गरेका छन् । राठीले भिडिओमा फिल्मको मुख्य उद्देश्य वर्तमान सत्ताको गुणगान गाउनु र पूर्ववर्ती सरकार, विशेषगरी मनमोहन सिंह र जवाहरलाल नेहरूको समयलाई ‘देशद्रोही’ वा ‘निकम्मा’ साबित गर्नु रहेको उल्लेख गरेका छन् ।
इन्टेलिजेन्स फेलियर हुनु र सरकार गद्दार हुनु दुई अलग कुरा भएको स्पष्ट पार्दै उनले सुरक्षा चुहावट हुनु र सरकारले नै हमला हुन दिनु फरक विषय भएको तर्क गरेका छन् ।
यसका साथै राठीले फिल्ममा ‘रहमान डकैत’ जस्ता कुख्यात अपराधीलाई ‘कुल’ र ‘स्टाइलिश’ देखाइएकोमा पनि गम्भीर आपत्ति जनाएका छन् । आमाको हत्या गर्ने र लागुऔषध ओसारपसार गर्ने अपराधीलाई फिल्ममा हिरोको जस्तो ‘स्वाग’ दिनु र हिंसालाई कलात्मक रूपमा प्रस्तुत गर्नुले समाजलाई असंवेदनशील बनाउने उनको विश्लेषण छ ।
नेपालमा पनि धुरन्धर फिल्मको आलोचना भइरहेको छ । सामाजिक सञ्जालमा विभिन्न क्लिप र म्युजिक भाइरल भए पनि फिल्मको कथा र दृश्यलाई लिएर आलोचना हुन थालेको हो ।
पछिल्लो अध्यावधिक: पुस ६, २०८२ १२:४९
