close

यस वर्ष सामसङ ग्यालेक्सी एस २६ सिरिज केही ढिलोगरी सार्वजनिक हुने, मार्चपछि मात्र किन्न मिल्ने

टेकपाना टेकपाना

पुस ७, २०८२ १०:१६

यस वर्ष सामसङ ग्यालेक्सी एस २६ सिरिज केही ढिलोगरी सार्वजनिक हुने, मार्चपछि मात्र किन्न मिल्ने

काठमाडौँ । सामसङको आगामी फ्ल्यागशिप स्मार्टफोन सिरिज ग्यालेक्सी एस २६ केही ढिलो गरी सार्वजनिक हुने देखिएको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यम र चर्चित लिकर्स तथा टिप्सटर्सका अनुसार सामसङले यस पटक आफ्नो ग्यालेक्सी अनप्याक्ड इभेन्ट जनवरीको सट्टा फेब्रुअरी २०२६ मा आयोजना गर्ने तयारी गरिरहेको छ ।

चर्चित टिप्सटर्स आइसयुनिभर्स र दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार ग्यालेक्सी एस २६ सिरिजका स्मार्टफोन फेब्रुअरीमा सार्वजनिक भए पनि ग्राहकहरूले मार्चपछि मात्रै खरिद गर्न पाउने देखिएको छ । यो सन् २०२५ को जनवरीमा सार्वजनिक भएको ग्यालेक्सी एस २५ सिरिजको तुलनामा केही ढिलो हो ।

सामसङले सामान्यतया फोन सार्वजनिक गरेको केही दिनमै बिक्री सुरु गर्ने गरे पनि यस पटक घोषणा र उपलब्धताको बीचमा केही हप्ताको ग्याप रहन सक्ने देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार सामसङले आफ्नो लाइनअपमा केही आन्तरिक परिवर्तन गरेका कारण लन्चमा ढिलाइ भएको हो ।

सुरुमा कम्पनीले एस २६ एज र एस २६ प्रो जस्ता नयाँ नाममा स्मार्टफोन ल्याउने विचार गरे पनि अहिले ग्यालेक्सी एस २६, एस २६ प्लस र एस २६ अल्ट्रा कै पुरानो शैलीलाई निरन्तरता दिने निर्णय गरेको बुझिएको छ । विशेष गरी आईफोन १७ सँग मूल्यमा प्रतिस्पर्धा गर्न सामसङले प्रो ब्रान्डिङ हटाएर साधारण एस २६ लाई नै सस्तो मूल्यमा राख्ने रणनीति बनाएको रिपोर्ट छ ।

ग्यालेक्सी एस २६ अल्ट्रा यस सिरिजको सबैभन्दा शक्तिशाली फोन हुनेछ । जसमा क्वालकम स्न्यापड्रागन ८ इलाइट जेन ५ चिपसेट विश्वभर प्रयोग गरिने सम्भावना छ । अल्ट्रा मोडेलमा ब्याट्री क्षमतामा वृद्धि र क्यामेरामा महत्त्वपूर्ण सुधार (खासगरी क्यामेरा बम्पमा) देख्न सकिनेछ । यद्यपि, आधारभूत एस २६ मोडेलमा भने मूल्य नियन्त्रणमा राख्न लगातार चौथो वर्ष पनि पुरानै क्यामेरा सेन्सर प्रयोग हुन सक्ने चर्चा छ ।

फेब्रुअरीको मध्यमा फोन सार्वजनिक गर्दा सामसङलाई मार्च २ देखि सुरु हुने मोबाइल वर्ल्ड कङ्ग्रेस (एमडब्लूसी) भन्दा अगाडि नै बजारमा आफ्नो प्रभुत्व जमाउन र ग्यालेक्सी एआईका नयाँ फिचरहरू प्रदर्शन गर्न पर्याप्त समय मिल्नेछ ।

पछिल्लो अध्यावधिक: पुस ७, २०८२ १०:१६