चरमपन्थी तथा अतिवादी समूहका लागि प्रोपगन्डा फैलाउने साधन बन्दै एआई, अराजकता फैलिने चिन्ता
पुस ७, २०८२ १२:१५
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा भएको प्रगतिसँगै नियो-नाजी (नव-नाजी) र इस्लामिक स्टेट (आईएसआईएस) जस्ता चरमपन्थी समूहहरूले आफ्नो विचारधारा फैलाउन र सङ्गठन विस्तार गर्न भ्वाइस क्लोनिङ (Voice cloning) प्रविधिको व्यापक प्रयोग गरिरहेको पाइएको छ । विज्ञहरूका अनुसार यी समूहहरूले आफ्ना प्रमुख नेताहरूको आवाज र भाषणहरू पुन: सिर्जना गर्न एआई बटहरूको प्रयोग गरिरहेका छन्, जसले उनीहरूको प्रचारप्रसारलाई अझ शक्तिशाली बनाएको छ ।
'टेक अगेन्स्ट टेररिज्म' (Tech Against Terrorism) का वरिष्ठ विश्लेषक लुकास वेबरका अनुसार एआईमा आधारित अनुवाद र आवाजको प्रयोग चरमपन्थीहरूको डिजिटल रणनीतिमा एक महत्त्वपूर्ण विकास हो । पहिले मानवीय अनुवादमा भर पर्नुपर्ने अवस्था थियो । जसमा भाषाको शुद्धता र शैलीमा समस्या हुन्थ्यो । तर अहिले, एआईको सहयोगले भावना, आवाजको टोन र विचारधाराको तीव्रतालाई कायम राख्दै विभिन्न भाषाहरूमा सटीक अनुवाद र अडियो तयार पार्न सम्भव भएको छ ।
नियो-नाजी समूहहरूले विशेष गरी एडोल्फ हिटलरका पुराना भाषणलाई एआई प्रयोग गरी अङ्ग्रेजीमा रूपान्तरण गरेका छन् । जसलाई एक्स, इन्स्टाग्राम र टिकटक जस्ता सामाजिक सञ्जालहरूमा करोडौँ पटक हेरिएको छ। उनीहरूले इलेभनल्याब्स जस्ता एआई टुलहरू प्रयोग गरेर पुराना अभिलेखहरूबाट हिटलरको आवाज नक्कल गर्ने गरेका छन् ।
यति मात्र नभई चरमपन्थीहरूले हिंसा भड्काउने पुस्तकहरूलाई पनि एआई अडियोबुकमा परिणत गरिरहेका छन् । अमेरिकी नियो-नाजी जेम्स मेसनले लेखेको हिंसात्मक निर्देशिका 'सिज' (Siege) लाई एआई भ्वाइस मोडलिङ प्रयोग गरी अडियोबुक बनाइएको छ ।
इस्लामिक स्टेट जस्ता समूहहरूले पनि एआईको प्रयोग गरी आफ्नो अरबी शिक्षालाई विभिन्न भाषामा अनुवाद गरिरहेका छन् । विगतमा प्रचारका लागि नेताहरूले व्यक्तिगत रूपमा भाषण रेकर्ड गर्नुपर्ने हुन्थ्यो, तर अहिले एआईले यो कामलाई सहज बनाएको छ । चरमपन्थीहरूले रकेट डट च्याट (Rocket.Chat) जस्ता प्लेटफर्ममा एआईको प्रयोग गरी जापानी भाषामा सबटाइटलिङ गरिएका भिडिओ समेत सार्वजनिक गरेका छन् ।
एआई बाहेक यस्ता अतिवादी समूहले ओपनएआईको च्याटजीपीटीलाई पनि चित्रहरू बनाउन, योजना बनाउन र अनुसन्धान गर्न प्रयोग गरिरहेको पाइएको छ । साथै उनीहरूले आर्थिक सहयोग जुटाउन क्रिप्टोकरेन्सी र हतियारका पार्टपुर्जाहरू बनाउन थ्रीडी प्रिन्टिङ जस्ता प्रविधिको पनि दुरुपयोग गरिरहेका छन् । यसरी द्रुत रूपमा विकसित प्रविधिसँग तालमेल मिलाउन सुरक्षा अधिकारीहरूलाई एउटा ठुलो चुनौती बनेको छ ।
पछिल्लो अध्यावधिक: पुस ७, २०८२ १२:१५
