close

पार्टटाइम जबको नाममा युट्युब सब्सक्राइब गर्न लगाएर एक जनाबाटै १५ लाख ठगी, १५ जनामाथि मुद्दा

टेकपाना टेकपाना

पुस ८, २०८२ १४:५९

पार्टटाइम जबको नाममा युट्युब सब्सक्राइब गर्न लगाएर एक जनाबाटै १५ लाख ठगी, १५ जनामाथि मुद्दा

काठमाडौँ । ‘अनलाइन पार्ट टाइम जब’ को प्रलोभनमा पारेर ठगी गरेको आरोपमा १५ जनाविरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर भएको छ । ह्वाट्सएप र टेलिग्राम एप मार्फत सम्पर्क गरी एकै व्यक्तिबाट १४ लाख ४९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग-पत्र दर्ता गरेको हो ।

पीडित मोहन राज पन्तलाई सुरुमा एक विदेशी नम्बरबाट ह्वाट्सएपमा 'पार्ट टाइम जब' को प्रस्ताव आएको थियो । त्यसपछि उनलाई टेलिग्राममा एली रिसेप्सन र लुकास नाम गरेका व्यक्तिहरूसँग सम्पर्क गराई २४ ओटा युट्युब च्यानल सब्सक्राइब गर्ने र बिजनेस टास्कका नाममा रकम लगानी गर्ने कार्यमा लगाइयो ।

ठगहरूले विश्वास जित्नका लागि सुरुमा ५,००० रुपैयाँ जम्मा गर्न लगाएर आठ हजार रुपैयाँ फिर्ता दिएका थिए । थप लगानी गरेमा ३० प्रतिशत बोनस पाइने प्रलोभन देखाएपछि पन्तले विभिन्न बैङ्क खाता र ई-सेवा अकाउन्टमा पटक-पटक गरी कूल १४ लाख ४९ हजार रुपैयाँ पठाएका थिए ।

मोहनकी आमा मानमती देवी पन्तले आफ्नो छोराले अनलाइन काम पाएको विश्वासमा परेर आफ्नो र नेपाल प्रहरीमा कार्यरत श्रीमान् देवदत्त पन्तको बचत रकम समेत छोरालाई दिएको बयानमा उल्लेख गरेकी छिन् । उनले नबिल बैङ्क र छोराको सिद्धार्थ बैङ्क लगायतका खाताबाट ठगहरूले दिएका विभिन्न बैङ्क खातामा रकम पठाएको देखिएको छ । पछि रकम फिर्ता नगरी सम्पर्क विहीन भएपछि मात्र आफूहरू ठगिएको चाल पाएको उनले बताएकी छिन् ।

प्रहरी प्रतिवेदनको आधारमा वकिल कार्यालयले १५ जना विरुद्ध मुद्दा चलाएको हो ।उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ बमोजिम ठगीको कसुरमा कारबाहीको माग गरिएको छ । अभियोग-पत्रमा उनीहरू विरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबानाका साथै ठगी गरिएको १४ लाख ४९ हजार रुपैयाँ बिगो रकम पीडितलाई भराउन र पीडित राहत कोषमा समेत रकम जम्मा गराउन मागदाबी छ ।

अदालतले सबै प्रतिवादी फरार रहेको र उनीहरूको नाममा म्याद सूचना जारी गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

यी हुन् १५ जना प्रतिवादी !

१. रुद्र बहादुर खड्‌काको नाती, देबराज खड्‌काको छोरा, बुढानीलकण्ठ-२, काठमाडौँ बस्ने वर्ष २३ को धुर्वराज खड्का ।

२. मन्दिर धामीको नाती, चन्द्रसिँह धामीको छोरा, डिलासैनी-७, बैतडी बस्ने २२ वर्षीय निराजन धामी

३. टेकुबहादुर गाहामगरको नाती, लालसिंह गाहामगरको छोरा, बर्दघाट सुस्ता पूर्व बौदीकाली-५, नवलपरासी बस्ने २० वर्षीय तोपबहादुर गाहा ।

४. धर्म बज्राचार्यको नाति, विश्वबज्र बज्राचार्यको छोरा, ललितपुर-८, ललितपुर बस्ने २३ वर्षिय सफिन बज्राचार्य ।

५. टेकबहादुर राईको नाती, अमरबहादुर राईको छोरा, पाख्रीवास-७, धनकुटा बस्ने २२ वर्षीय विशाल राई ।

६. जयकृष्ण थनेतको नाती, नन्दप्रसाद थनेतको छोरा, बर्दघाट सुस्ता पूर्व साबिकको नारायणी-६ हालको मध्यविन्दु-४, नवलपरासी बस्ने २९ वर्षिय नविन थनेत ।

७. ग्यालेन शेर्पाकी नातिनी ङिमा शेर्पाको छोरी दुधकोश-६, सोलुखुम्बु बस्ने पोखरा स्थित शेर्पा फेमलि रेस्टुरेन्टकी सञ्चालिका २७ वर्षीया सोनाम छिरिडा सेर्पा ।

८. नरबिर देवकोटाको नाती, प्रेम बहादुर देबकोटाको छोरा, छिन्चु-५, सुर्खेत बस्ने ४४ वर्षीय सुवाश देवकोटा ।

९. कुपदास चौधरीको नाती, योगेन्द्र चौधरी थारुको छोरा, सप्तकोशी-१, सप्तरी बस्ने ३१ वर्षिय रमेश चौधरी ।

१०. नरबहादुर भुजेलको नाती, निरबहादुर भुजेलको छोरा, दिक्तेल रुपाकोट मझुवागढी-१०, खोटाङ बस्ने ३० वर्षीय विनोदकुमार भुजेल ।

११. रामचन्द्र महतोको नाती, कृष्णदेव महतोको छोरा, मिथिला-३ हरीहरपुर, धनुषा बस्ने २४ वर्षीय राजनकुमार सिंह ।

१२. पदमबहादुर श्रेष्ठको नाती, प्रेमबहादुर श्रेष्ठको छोरा, राववेसी-३, खोटाङ बस्ने २१ वर्षीय विक्रम श्रेष्ठ ।

१३. धर्म बज्राचार्यको नाति, बिश्वबज्र बज्राचार्यको छोरा, ललितपुर-८, ललितपुर बस्ने २७ वर्षीय विपिन बज्राचार्य ।

१४. पवन धानुकको नाती, नरबहादुर धानुकको छोरा, भिमदत्त-७, कञ्चनपुर बस्ने २४ वर्षीय प्रविन धानुक ।

१५. बिरबहादुर कार्कीकी नातिनी, केदारबहादुर कार्कीको छोरी, शशीधर तिवारीकी श्रीमती, बनेपा ११, काभ्रेपलान्चोककी २८ वर्षीया पुनम कार्की ।

पछिल्लो अध्यावधिक: पुस ८, २०८२ १४:५९