close

झन्डै ५ अर्बले घट्यो बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकको कारोबार, यस्तो छ कारण

टेकपाना टेकपाना

पुस ९, २०८२ १०:५

झन्डै ५ अर्बले घट्यो बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकको कारोबार, यस्तो छ कारण

काठमाडौँ । नेपालमा बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकको कारोबार करिब ५ अर्ब रुपैयाँले घटेको छ । सन् २०२३/२४ को तुलनामा कम्पनीको कारोबार २०२४/२५ मा चार अर्ब ९३ करोड रुपैयाँले कमी आएको हो ।

सन् २०२३/२४ मा कम्पनीले १६ अर्ब ४० करोड रुपैयाँको व्यापार गरेको थियो । तर २०२४/२५ मा भने कम्पनीको कारोबार ११ अर्ब ४७ करोड रुपैयाँ (अपरिष्कृत) मा खुम्चिएको छ ।

विद्युतीय गाडीका ब्रान्डबिच चर्को प्रतिस्पर्धाका कारण बीवाईडीको कारोबार घट्न पुगेको इक्रा नेपालको रेटिङ विवरणमा उल्लेख छ । रेटिङ एजेन्सीका अनुसार बीवाईडीको एट्टो-३ र डल्फिनको बिक्रीले सन् २०२४/२५ मा कम्पनीको कूल आम्दानीमा ९० प्रतिशत योग्दान पुर्‍याएका छन् । 

त्यसअघि सन् २०२२/२३ मा कम्पनीले एक अर्ब ९१ करोड रुपैयाँको व्यापार गरेको थियो । बीवाईडीले प्यासेन्जर र कमर्सियल दुवै प्रकारका विद्युतीय गाडी उत्पादन गर्दै आएको छ । काठमाडौँका साथै देशभर बीवाईडीका १४ डिलर छन् । 

इक्रा नेपालका अनुसार साइमेक्स इंकमा यमुना श्रेष्ठको ५०.५ प्रतिशत र अनिल श्रेष्ठको ४९.५ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले पछिल्लो समय एट्टो-१, एट्टो-२ र सिलायन मोडेलका गाडी पनि नेपाल भित्र्याएको छ ।

नेपालमा विद्युतीय सवारीसाधनको माग बढ्दै गएकाले आउँदो वर्ष नयाँ मोडेलको आगमनले बिक्रीमा थप सहयोग पुग्ने अपेक्षा कम्पनीको छ । २०२५ को अक्टोबर मध्यसम्म बीवाईडीले देशभर ६४ चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको उल्लेख छ ।


 

पछिल्लो अध्यावधिक: पुस ९, २०८२ १०:२९