close

इमर्जेन्सी नम्बरमा कल गर्ने बित्तिकै स्वतः लोकेसन शेयर हुने एन्ड्रोइडको ईएलएस प्रविधि

टेकपाना टेकपाना

पुस ९, २०८२ १०:३९

इमर्जेन्सी नम्बरमा कल गर्ने बित्तिकै स्वतः लोकेसन शेयर हुने एन्ड्रोइडको ईएलएस प्रविधि

काठमाडौँ । आकस्मिक अवस्थामा एक-एक सेकेन्ड पनि निकै महत्त्वपूर्ण हुन्छ । यस्तो बेला उद्धार टोलीका लागि सबैभन्दा महत्त्वपूर्ण जानकारी भनेकै पीडित व्यक्ति कहाँ छ भन्ने थाहा पाउनु हो ।

तर, सङ्कटको घडीमा हडबडाहट वा कमजोर नेटवर्कका कारण आफ्नो सही लोकेसन बताउन गाह्रो हुन सक्छ । यसै समस्यालाई समाधान गर्न गुगलले एन्ड्रोइड डिभाइसहरूका लागि इमर्जेन्सी लोकेसन सर्भिस (ईएलएस) प्रविधि ल्याएको छ । जुन हालै छिमेकी देश भारतमा पहिलो पटक उत्तर प्रदेशबाट पूर्ण रूपमा लागु गरिएको छ ।

के हो एन्ड्रोइडको ईएलएस प्रविधि ?

ईएलएस एन्ड्रोइड फोनहरूमा डिफल्ट रूपमा समावेश भएर आउने एक विशेष फिचर हो । जसले प्रयोगकर्ताले १०१, १०२ वा १०३ जस्ता आपत्कालीन नम्बरमा कल वा एसएमएस गर्ने बित्तिकै उनीहरूको सही लोकेसन स्वतः प्रहरी, एम्बुलेन्स वा दमकल जस्ता सेवा तथा उद्धारकर्ता निकायलाई पठाउँछ ।

यो सेवा प्रयोग गर्न कुनै छुट्टै एप डाउनलोड गर्न वा थप हार्डवेयरको आवश्यकता पनि पर्दैन । यो प्रविधिले एन्ड्रोइडको फ्युज्ड लोकेसन प्रोभाइडर (एफएलपी) प्रयोग गर्छ । जसले जीपीएस, वाई-फाई , मोबाइल टावर र फोनका अन्य सेन्सरहरूको डेटालाई मिलाएर प्रयोगकर्ताको सटीक स्थान पत्ता लगाउँछ ।

यो प्रविधिले ५० मिटरको दायराभित्रसम्मको लोकेसनको सही जानकारी दिन सक्छ । यदि फोन लागेको केही सेकेन्डमै काटियो भने पनि यसले लोकेसन पठाइसकेको हुन्छ । जसले गर्दा उद्धारकर्मीहरूलाई घटनास्थल पुग्न सजिलो हुन्छ ।

यसबाट धेरैलाई आफ्नो लोकेसन सधैँ ट्र्याक हुने हो कि डर हुन सक्छ । तर गोपनीयतालाई ध्यानमा राखेर ईएलएसको डिजाइन गरिएको छ ।

लोकेसनको जानकारी सिधै प्रयोगकर्ताको फोनबाट इमर्जेन्सी सेन्टरमा पठाइन्छ । गुगलले यो डेटा सङ्कलन वा भण्डारण गर्दैन । यो फिचर केवल आपत्कालीन नम्बरमा कल गर्दा मात्र सक्रिय हुन्छ । ब्याकग्राउन्डमा यो फिचर चलिरहँदैन ।

यदि तपाईँले आफ्नो फोनको लोकेसन सेटिङ बन्द गर्नुभएको छ भने पनि इमर्जेन्सी कल गर्दा यो प्रविधिले आफैँ लोकेसन अन गर्छ र कल सकिएपछि पुनः पहिलेकै अवस्थामा फर्काइदिन्छ ।

 

कहाँ-कहाँ छ उपलब्ध ?

यो सेवा एन्ड्रोइड भर्सन ६.० र सोभन्दा माथिका लगभग ९९ प्रतिशत एन्ड्रोइड डिभाइसहरूमा उपलब्ध छ । तपाईँले आफ्नो फोनमा यो सेवा अन छ कि छैन भनेर आफैँ जाँच गर्न सक्नुहुन्छ ।

त्यसका लागि सबैभन्दा पहिला फोनको सेटिङहुँदै लोकेसनमा थिच्नुहोस् । त्यहाँबाट Location Services मा जानुहोस् र Emergency Location Service छनोट गरी त्यसलाई On वा Off गर्न सक्नुहुन्छ ।

यो सेवा ६० भन्दा बढी मुलुकहरूमा एक्टिभ भइसकेको छ । बेलायत र न्युजिल्यान्ड जस्ता देशहरूमा यो फिचरले उद्धारको समय घटाएर धेरैको ज्यान बचाउन सफल भइसकेको छ । नेपालको हिमाली क्षेत्रमा पदयात्रा र आरोहणका लागि जाने पर्यटकहरूको उद्धारमा समेत यो फिचर वरदान साबित हुन सक्छ ।

तर, एन्ड्रोइड फोनहरूमा उपलब्ध भए पनि नेपालका दूरसञ्चार कम्पनी र इमर्जेन्सी सेवा प्रदायक (दमकल, प्रहरी वा एम्बुलेन्स) ले यो सेवालाई एक्टिभ गराउने प्रयास नै नगरेको पाइएको छ ।

नेपाल प्रहरीको १०० नम्बरमा फोन कल तथा त्यसको रेकर्डिङ सुविधा भए पनि लोकेसन सम्बन्धी जानकारी लिने सिस्टम भने छैन । नेपाल टेलिकमले यो सुविधा एक्टिभ गर्ने सवालमा गुगलसँग हालसम्म कुनै संवाद नभएको जनाएको छ ।

टेलिकम सेवा प्रदायक वा इमर्जेन्सी सेवा प्रदायकबाट अनुरोध भएर आए यसका लागि सहजीकरण गर्न आफूहरू तयार रहेको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । "यो सेवा हाम्रो जस्तो देशको लागि एकदमै आवश्यक फिचर हो," उनले भने, "यसमा नियामकको तर्फबाट गर्नुपर्ने कामहरूका लागि प्रयासका लागि हामी तयार नै छौँ ।"

 

पछिल्लो अध्यावधिक: पुस ९, २०८२ १०:४६