सांकेतिक तस्बिर
काठमाडौँ । क्रिप्टोकरेन्सीको अवैध कारोबार र हुन्डी धन्दामा संलग्न रहेको अभियोगमा दुई जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ । काठमाडौँ-१४ कलङ्की बस्ने ३६ वर्षीय विशाल डङ्गोल र सुनसरी धरानका ४४ वर्षीय उमेश श्रेष्ठविरुद्ध अभौतिक मुद्राको कारोबार गर्न नहुने कसुरमा मङ्गलबार मुद्दा चलाइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले १३ मङ्सिर २०८२ को दिन दिउँसो नयाँ बानेश्वरस्थित बिजुलीबजारबाट उनीहरूलाई शङ्कास्पद अवस्थामा पक्राउ गरेको थियो । उनीहरूको खानतलासी गर्दा पाँच थान मोबाइल फोनहरू बरामद भएका थिए ।
अनुसन्धानका क्रममा विशाल डङ्गोलले विगत ५-६ महिनादेखि अवैध रूपमा क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको स्वीकार गरेका छन् । अनुसन्धानका क्रममा डङ्गोलले यो धन्दाको मुख्य योजनाकार हाल अमेरिकामा रहेका गोपाल पोखरेल भएको बताएका छन् ।
बेलायतबाट आईटीमा स्नातक र नेपालमा एमबीए गरेका डङ्गोलले डङ्गोलले लोगो डिजाइन र डिजिटल भिजिटिङ कार्ड बनाउने ग्राफिक डिजाइनरको काम गर्दै आएका थिए । उनले बताए अनुसार पोखरेलले फेसबुक र ह्वाट्सएपमार्फत सम्पर्क गरी डङ्गोललाई कामको अफर गरेका थिए ।
पोखरेलले नै आफूलाई दुई ओटा मोबाइल खरिद गर्न लगाई त्यसमा ओएस लिङ्क (OS Link) नामक सफ्टवेयर राख्न लगाएको डङ्गोलले बयानका क्रममा बताएका छन् । सोही सफ्टवेयरमार्फत अमेरिकाबाटै मोबाइलको सिस्टम नियन्त्रण गरी पोखरेलले डङ्गोलको फोनमा बाइनान्स एप इन्स्टल गरिदिएका थिए । उक्त बाइनान्स अकाउन्टको नाम Booster 555 राखिएको थियो ।
नेपालमा कसैलाई क्रिप्टोमा लगानी गर्नु परेमा डङ्गोलमार्फत नेपाली रुपैयाँ लिने र अमेरिकाबाट पोखरेलले सम्बन्धित व्यक्तिको बाइनान्स अकाउन्टमा यूएसडीटी (एक प्रकारको क्रिप्टो) जम्मा गरिदिन्थे । । त्यस्तै, विदेशबाट कसैले पैसा पठाउनु परेमा सोही माध्यमबाट हुन्डीको काम समेत हुने गरेको देखिएको छ ।
बरामद मोबाइलको प्रारम्भिक जाँच गर्दा उक्त बाइनान्स खाताबाट हालसम्म ७४ लाख ५२ हजार ६९९ रुपैयाँ बराबरको अवैध कारोबार भएको फेला परेको छ । पक्राउ पर्दाको समयमा उक्त खातामा २९०८.७ यूएसडीटी (करिब चार लाख १२ हजार रुपैयाँ) रहेको थियो । सोही बराबरको रकम लिन उनीहरू बिजुली बजार पुगेका थिए । तर प्रहरीको फन्दामा परेपछि सो यूएसडीटी उनीहरूले निकाल्न पाएनन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २६२ 'क' अनुसार अभियोग दर्ता गरेको छ । उक्त दफामा नेपाल राष्ट्र बैङ्कले जारी गरेको मुद्रा बाहेक अन्य अभौतिक मुद्राको उत्पादन, बिक्री वा कारोबार गर्न निषेध गरिएको छ ।
अभियोग पत्रमा कसुर प्रमाणित भएमा ५ वर्षसम्म कैद र बिगो बमोजिम जरिबाना गर्न तथा बरामद भएका ५ थान मोबाइल जफत गर्न मागदाबी लिइएको छ ।
पछिल्लो अध्यावधिक: पुस ९, २०८२ १६:५२
