close

अन्ततः अब पुराना र लाज लाग्ने किसिमका जिमेल एड्रेस परिवर्तन गर्न मिल्ने

टेकपाना टेकपाना

पुस १०, २०८२ १०:६

अन्ततः अब पुराना र लाज लाग्ने किसिमका जिमेल एड्रेस परिवर्तन गर्न मिल्ने

काठमाडौँ । अब जिमेल प्रयोगकर्ताले आफ्नो पुरानो ईमेल एड्रेस परिवर्तन गर्न पाउने भएका छन् । गुगलले ल्याउन लागेको नयाँ अपडेट पश्चात सिधै जिमेल एड्रेस परिवर्तन गर्न सकिने छ । 

यो नयाँ सुविधा अहिले क्रमिक रूपमा रोलआउट (सार्वजनिक) भइरहेको छ । हालका लागि गुगलको हिन्दी भाषाको सपोर्ट पेजमा यसको विस्तृत विवरण देखिएको छ । जसअनुसार जब तपाईँले आफ्नो नयाँ जिमेल एड्रेस छान्नुहुन्छ, तपाईँको पुरानो ईमेल एड्रेस एउटा 'एलियास' को रूपमा रहनेछ । 

यसरी परिवर्तन गर्दा तपाईँको अकाउन्टमा रहेका फोटो, मेसेज र पुराना इमेल जस्ता कुनै पनि डेटामा असर पर्ने छैन । प्रयोगकर्ताले आफ्नो पुरानो वा नयाँ दुवै ईमेल एड्रेस प्रयोग गरेर म्याप, युट्युब र ड्राइभ जस्ता गुगलका सेवामा साइन-इन गर्न सक्नेछन् । 

दुवै एड्रेसमा पठाइएका ईमेलहरू एउटै इनबक्समा प्राप्त गर्न सकिनेछ । जसले गर्दा महत्त्वपूर्ण मेसेज छुट्ने डर पनि हुँदैन । गुगलले यो सुविधा प्रयोग गर्नका लागि केही सीमा पनि तय गरेको छ । जसअनुसार प्रयोगकर्ताले १२ महिनामा एक पटक मात्र ईमेल परिवर्तन गर्न पाउनेछन् । 

त्यस्तै एउटा अकाउन्टमा जम्मा ३ पटकसम्म मात्र ईमेल एड्रेस परिवर्तन गर्न सकिनेछ । जसको अर्थ एक व्यक्तिसँग कूल ४ वटा एड्रेसको विकल्प हुन सक्छ । नयाँ ईमेल एड्रेस बनाएको १२ महिनासम्म त्यसलाई डिलिट गर्न पाइने छैन । तपाईँको पुरानो ईमेल एड्रेस अरू कसैले प्रयोग गर्न पाउने छैनन् र यो सधैँ तपाईँकै स्वामित्वमा रहनेछ । 

किन जरुरी छ यो सुविधा ?

धेरै प्रयोगकर्ताहरूले बाल्यकालमा वा रहरमा राखेका अजीव वा लाज लाग्ने किसिमका युजरनेमका कारण पछि व्यावसायिक जीवनमा समस्या पनि भोग्नुपरिरहेको हुन्छ । अहिलेसम्म यस्तो अवस्थामा नयाँ अकाउन्ट खोलेर सबै डेटा सार्नुपर्ने झन्झट थियो । तर अब भने प्रयोगकर्ताले आफ्नो डिजिटल पहिचानलाई सजिलै परिमार्जन गर्न सक्नेछन् । यो सुविधा पूर्ण रूपमा सबैका लागि कहिलेसम्म उपलब्ध हुन्छ भन्ने निश्चित नभए पनि सन् २०२६ सम्ममा यो व्यापक रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: पुस १०, २०८२ १०:६