आगामी निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशित, यस्तो छ आफ्नो नाम हेर्ने तरिका
पुस १२, २०८२ २१:२५
काठमाडौँ । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । २०८२ फागुन २० सम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूलाई समेटेर आयोगले अन्तिम नामावली अद्यावधिक गरेको हो । प्रकाशित अन्तिम नामावली अनुसार देशभर कुल मतदाताको सङ्ख्या एक करोड ८९ लाख तीन हजार ६८९ पुगेको छ । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य मतदाता रहेका छन् ।
०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तुलनामा यसपटक नौ लाख १५ हजार ११९ नयाँ मतदाता थपिएका छन् । जसमा पुरुष मतदाता पाँच लाख २२ हजार ५५२ र महिला मतदाता तीन लाख ९२ हजार ५५२ ले बढेका छन् । अन्य मतदाताको सङ्ख्यामा भने १५ जनाको वृद्धि भएको छ ।
मतदाताको सङ्ख्या बढेसँगै आयोगले मतदान स्थल र केन्द्रको सङ्ख्यामा पनि वृद्धि गरेको छ । आगामी निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । यो सङ्ख्या २०७९ को निर्वाचनको तुलनामा मतदान स्थल ७५ ले र मतदान केन्द्र ८८५ ले बढी हो ।
यसरी हेर्नुहोस् मतदाता नामावलीमा आफ्नो नाम
आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन र कुन मतदान केन्द्रमा मतदान गर्ने हो भन्ने जानकारी लिन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ । मतदाताले निम्न प्रक्रिया अपनाएर आफ्नो विवरण हेर्न सक्नेछन्:
१. निर्वाचन आयोगको आधिकारिक वेबसाइट election.gov.np मा जानुहोस् वा सिधै यस लिङ्क खोल्नुहोस् ।
२. त्यहाँ आफ्नो प्रदेश, जिल्ला, स्थानीय तह, वडा नम्बर र मतदान केन्द्र छनोट गर्नुहोस् ।
३. विवरण भरेपछि सो मतदान केन्द्रमा रहेका सबै मतदाताहरूको सूची देखिनेछ ।
४. आफ्नो नाम भेटिएपछि त्यसमा क्लिक गर्नुहोस् । त्यसपछि खुल्ने विन्डोमा आफ्नो जन्ममिति वा नागरिकता नम्बर र क्याप्चा कोड राखेर 'सब्मिट' गर्नुहोस् ।
५. यति गरेपछि तपाईँको फोटोसहितको सम्पूर्ण विवरण र मतदाता परिचयपत्रको नमुना हेर्न सक्नुहुनेछ ।
पछिल्लो अध्यावधिक: पुस १२, २०८२ २१:५६
