काठमाडौँ विश्वविद्यालयका विद्यार्थीले बनाए सजिलै हस्तलिखित देवनागरी लिपि चिन्नसक्ने एआई मोडेल
पुस १३, २०८२ ११:४१
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी सहजराज मल्लले हस्तलिखित देवनागरी पहिचान गर्न सक्ने एउटा सटिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल विकास गरेका छन् । मल्लनेट नाम दिइएको उक्त मोडेल सम्बन्धी उनको अनुसन्धान पत्र विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल नेचरमा प्रकाशित भएको छ ।
अनुसन्धानपत्रमा उल्लेख भए अनुसार मल्लले विकास गरेको यो मोडेलले देवनागरी अक्षरहरूलाई ९९.७१ प्रतिशत शुद्धता (Accuracy) का साथ चिन्न सक्छ । यो सफलता नेपाली, हिन्दी, र मराठी जस्ता देवनागरी लिपि प्रयोग हुने भाषाहरूको हस्तलिखित कागजातहरूलाई डिजिटलिकरण गर्न र सांस्कृतिक सम्पदाको संरक्षण गर्नका लागि महत्त्वपूर्ण हुनसक्छ ।
मल्लनेटको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको यसको कार्यक्षमता हो । यसअघिका उत्कृष्ट मोडेलहरूले ३ करोड ९० लाख प्यारामिटरहरू प्रयोग गर्छन् । तर मल्लनेटले ५६.४१ प्रतिशत कम प्यारामिटर (१ करोड ७० लाख मात्र) प्रयोग गरेर उत्तिकै स्तरको नतिजा निकाल्न सफल भएको बताइएको छ । यसले गर्दा यस मोडेललाई कम क्षमता भएका मेसिनहरूमा पनि प्रभावकारी रूपमा चलाउन सकिन्छ ।
यस मोडेलमा होमोजिनियस फिल्टर क्याप्सुल (HFC) र रेसिड्युअल ब्लक (Residual Blocks) जस्ता अत्याधुनिक प्रविधिहरूको प्रयोग गरिएको छ । यी प्रविधिले गर्दा उस्तै देखिने अक्षरहरू (जस्तै: ‘क’ र ‘ख’ वा ‘ग’ र ‘घ’) बीचका सूक्ष्म भिन्नताहरूलाई पनि मोडेलले स्पष्टसँग पहिचान गर्न सक्छ । यस अनुसन्धानका लागि ४६ वर्गका ९२ हजार वटा देवनागरी अक्षरका तस्विर भएको डेटासेट प्रयोग गरिएको थियो ।
काठमाडौँ विश्वविद्यालयको गणित विभागका विद्यार्थी सहजराज मल्लको यो पाँचौँ अनुसन्धान पत्र हो । उनले यसअघि क्वान्टम मसिन लर्निङ र स्टक बजारको पूर्वानुमान जस्ता जटिल विषयमा पनि अनुसन्धान गरिसकेका छन् । मल्लनेटको कोड र नतिजाहरू उनले गिटहबमा सार्वजनिक रूपमा उपलब्ध गराएका छन् । ताकि अन्य अनुसन्धानकर्ताहरूले पनि यसबाट फाइदा लिन सकून् ।
भविष्यमा यो प्रविधिलाई ट्राफिक नम्बर प्लेट पहिचान, पुरानो सरकारी कागजातहरूको स्क्यानिङ र अन्य क्षेत्रीय भाषाहरूको पहिचानमा पनि प्रयोग गर्न सकिने सम्भावना रहेको छ ।
पछिल्लो अध्यावधिक: पुस १३, २०८२ ११:४१
