आफ्नै डोमेन राखेर निःशुल्क ईकमर्स वेबसाइट बनाउन सकिने नेपाली प्लेटफर्म जेलियन्ट शप सार्वजनिक
पुस १३, २०८२ १३:५३
काठमाडौँ । नेपाली स्टार्टअप कम्पनी जेलियन्ट अनलाइन व्यवसाय सञ्चालन गर्न चाहने उद्यमीका लागि आफ्नै डोमेन प्रयोग गरी निःशुल्क ईकमर्स वेबसाइट निर्माण गर्न सकिने प्लेटफर्म सार्वजनिक गरेको छ । अनलाइन बजारमा आफ्नो उपस्थिति बलियो बनाउन खोज्ने, तर प्राविधिक जटिलता र उच्च लागतका कारण पछि परेका व्यवसायीलाई लक्षित गर्दै ‘जेलियन्ट शप’ सञ्चालनमा ल्याइएको हो ।
कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) रौनक भट्टराईका अनुसार व्यवसायीले भोग्दै आएका वास्तविक समस्यालाई समाधान गर्ने उद्देश्यले यो परियोजना सुरु गरिएको हो । आफ्नै व्यवसाय सञ्चालनका भोगाइ सुनाउँदै भट्टराईले भने, “हामीले पनि व्यवसाय सुरु गर्दा विभिन्न प्राविधिक र आर्थिक चुनौती बेहोर्नुपर्यो । त्यही समस्या अरू व्यवसायीले भोग्न नपरोस् भनेर हामीले यो प्लेटफर्म तयार पारेका हौँ । वेबसाइट बनाउँदा लाग्ने अतिरिक्त खर्च जुटाउन नसक्ने व्यवसायीका लागि यो कोशेढुङ्गा सावित हुने हाम्रो विश्वास छ ।”
विशेषगरी फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमार्फत व्यापार गरिरहेका उद्यमीका लागि यो प्लेटफर्म निकै उपयोगी हुने कम्पनीको दाबी छ । हाल धेरैजसो साना व्यवसायीले ह्वाट्सएप वा मेसेन्जरमार्फत अर्डर व्यवस्थापन गरिरहेको उल्लेख गर्दै सीईओ भट्टराईले त्यस्तो म्यानुअल प्रक्रियाले समय बढी खर्च हुने बताए ।
उनले थपे, “सामाजिक सञ्जालबाट अर्डर लिँदा व्यवस्थापनमा निकै झन्झट हुन्छ, तर हाम्रो प्लेटफर्ममा आबद्ध भएपछि सबै अर्डर एकै ठाउँबाट सहजै व्यवस्थापन गर्न सकिन्छ । जसले व्यवसायीको समय र श्रम दुवै बचाउँछ ।”
यो प्लेटफर्मको सबैभन्दा मौलिक विशेषता भनेको प्रयोगकर्ताले निःशुल्क रूपमा आफ्नै व्यक्तिगत डोमेन राख्न पाउनु हो । बजारमा उपलब्ध अन्य प्लेटफर्मले ईकमर्स वेबसाइट बनाउँदा सम्बन्धित कम्पनीकै ‘सबडोमेन’ दिने र आफ्नै डोमेन राख्न अतिरिक्त शुल्क लिने गरेका छन् ।
तर, जेलियन्ट शपमा व्यवसायीले कुनै शुल्क नतिरी आफ्नै ब्रान्डको डोमेन प्रयोग गर्न पाउनेछन् । भविष्यमा आवश्यकता अनुसार अन्य सुविधा थपिएपछि मात्र शुल्क लाग्न सक्ने भए पनि हाल उपलब्ध गराइएका सबै सुविधा सधैँका लागि निःशुल्क रहने भट्टराईले स्पष्ट पारे ।
साथै यो प्लेटफर्मबाट बनाइएका वेबसाइटमा जेलियन्टको कुनै पनि ब्रान्डिङ वा विज्ञापन नदेखिने भएकाले व्यवसायीले पूर्ण रूपमा आफ्नै स्वामित्वको अनुभव गर्न पाउनेछन् । प्राविधिक रूपमा पनि यो प्लेटफर्म निकै सुविधायुक्त देखिन्छ ।
यसको ड्याशबोर्ड मार्फत व्यवसायीले कूल आम्दानी, स्टक सामान, बिक्री विवरण र ग्राहकको तथ्याङ्क विस्तृत रूपमा हेर्न सक्छन् । विभिन्न मिति राखेर व्यवसायको तुलनात्मक विश्लेषण गर्ने सुविधा समेत ड्याशबोर्डमा उपलब्ध छ ।
व्यवसायीले आवश्यकता अनुसार अन्य व्यक्तिलाई पनि ड्याशबोर्डको एक्सेस दिन सक्नेछन् भने नयाँ अर्डर आउँदा वेबसाइटमा तत्काल नोटिफिकेसन प्राप्त हुने व्यवस्था मिलाइएको छ । ग्राहक आकर्षित गर्नका लागि फिचर प्रडक्ट, प्रमोसनल अफर र ग्राहकको सूची व्यवस्थापन गर्ने जस्ता आधुनिक सुविधा पनि यसमा समावेश छन् ।
हाल एउटा मात्र टेम्प्लेट उपलब्ध भए पनि प्रयोगकर्ताले त्यसलाई आफ्नो आवश्यकता अनुसार कस्टमाइज गर्न सक्नेछन् । जेलियन्टले आगामी दिनमा थप आकर्षक टेम्प्लेट थप्दै लैजाने योजना पनि बनाएको छ । यसका साथै प्लेटफर्ममा ड्रपशिपिङको सुविधा समेत उपलब्ध छ । भुक्तानीका लागि व्यवसायीहरूले ‘फोनपे’ इन्ट्रिगेट गर्न सक्छन् ।
पछिल्लो अध्यावधिक: पुस १३, २०८२ १३:५८
