काठमाडौँ । इन्टरनेटमा शेयर गरिने एउटा सामान्य 'मिम'ले पनि कसरी गम्भीर राजनीतिक आन्दोलनको रूप लिन सक्छ भन्ने उदाहरण हो, 'पेपे द फ्रग' । अमेरिकाको पोर्टल्याण्डमा आप्रवासन एजेन्टहरू विरुद्धको आन्दोलनमा एउटा भ्यागुताको कस्ट्युम लगाएको व्यक्तिको भिडिओ भाइरल भएपछि यो प्रतीक अहिले दक्षिणपन्थी समूहदेखि बामपन्थी विद्रोही आन्दोलनसम्मको साझा हतियार बनेको छ ।
पेपेको सुरुवात सन् २००५ मा कलाकार म्याट फ्युरीले एउटा सामान्य कमिक्स पात्रको रूपमा गरेका थिए । तर, प्रविधिको विकास र सामाजिक सञ्जालको विस्तारसँगै यो पात्र फोरचान (4chan), एटचान (8chan) र रेडिट (Reddit) जस्ता प्लेटफर्महरूमा चर्चित बन्यो ।
सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनका बेला दक्षिणपन्थी समूहहरूले यसलाई डोनल्ड ट्रम्पको समर्थनमा प्रयोग गर्न थालेपछि यो पात्र विवादास्पद बन्यो । अनलाइनमा उक्त मिम पहिलोपटक भाइरल हुँदा त्यसको तस्विर विभिन्न भावना अभिव्यक्त गर्न प्रयोग गरिएको थियो । पछि यही तस्विर ट्रम्पप्रतिको समर्थन देखाउन पनि प्रयोग हुन थाल्यो । जसअन्तर्गत ट्रम्पकै जस्तो सुट र कपालसहित पेपे देखाइएको एउटा चर्चित मिमलाई स्वयं ट्रम्पले रिट्वीट गरेका थिए।
कतिपय अवस्थामा यसलाई घृणा फैलाउने प्रतीकका रूपमा पनि प्रयोग गरियो । जसप्रति यसका सर्जक म्याट फ्युरीले सधैँ असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
समाजशास्त्रीहरूले यसलाई ‘ट्याक्टिकल फ्रिभोलिटी’ (Tactical Frivolity) अर्थात् रणनीतिक ठट्टा भन्ने गरेका छन् । यसको अर्थ गम्भीर राजनीतिक मुद्दाहरूलाई हाँसो र ठट्टाको माध्यमबाट प्रस्तुत गर्नु हो, जसले विपक्षी वा सुरक्षा निकायलाई अलमलमा पार्छ । पोर्टल्याण्डको एउटा आन्दोलनमा जब सुरक्षाकर्मीले भ्यागुतोको लुगा लगाएका सेथ टोड माथि रसायनिक पदार्थ छर्के, त्यो क्लिप इन्टरनेटमा व्यापक रूपमा फैलियो र भ्यागुतो अचानक 'एन्टिफा' (Antifa) वा प्रशासन विरोधी आन्दोलनको नयाँ प्रतीक बन्न पुग्यो ।
प्रविधिले गर्दा अहिले आन्दोलनका लागि भौतिक उपस्थिति मात्र नभई डिजिटल सामग्रीको भूमिका पनि उत्तिकै बढेको छ । पहिले दक्षिणपन्थीहरूको मात्र मानिने पेपे र भ्यागुतोको प्रतीक अहिले हङकङका लोकतन्त्रवादी प्रदर्शनकारी र जर्मनीका प्रदर्शनकारीहरूले पनि आफ्नो मुद्दाका लागि प्रयोग गरिरहेका छन् ।
आन्दोलनमा भ्यागुतोको लुगा चर्चित भएपछि अमेजन जस्ता साइटहरूमा यसको माग ह्वात्तै बढेको छ भने मूल्यमा समेत वृद्धि भएको पाइएको छ । पोर्टल्याण्डमा ‘अपरेशन इन्फ्लेसन’ (Operation Inflation) नामक समूहले वेबसाइट नै खोलेर प्रदर्शनकारीहरूका लागि इन्फ्लेटेबल कस्टुमहरू किन्न चन्दा संकलन गरिरहेका छन् ।
प्रविधिको दुनियाँमा कुनै पनि प्रतीक कसैको निजी नियन्त्रणमा रहँदैन भन्ने उदाहरण समेत यसले स्थापित गरेको छ । क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर एलएम बोगाडले भनेका छन्, "हामी प्रतीकहरूलाई नियन्त्रण गर्न सक्दैनौँ । तिनीहरू समय र परिस्थिति अनुसार परिवर्तन भइरहन्छन् ।" जसरी चीनमा विनी द पु (Winnie the Pooh) लाई सेन्सरशिप छल्न प्रयोग गरिन्छ, त्यसरी नै भ्यागुतो अहिले विश्वभरका आन्दोलनकारीहरूको डिजिटल ढाल बनेको छ ।
पछिल्लो अध्यावधिक: पुस १३, २०८२ १५:५४
