close

फोनको प्यारेन्टल कन्ट्रोल प्रयोग गरेर बुबाले उद्धार गरे अपहरणमा परेकी छोरी, यसरी सकिन्छ चलाउन

टेकपाना टेकपाना

पुस १३, २०८२ १७:१२

फोनको प्यारेन्टल कन्ट्रोल प्रयोग गरेर बुबाले उद्धार गरे अपहरणमा परेकी छोरी, यसरी सकिन्छ चलाउन

काठमाडौँ । क्रिसमसको दिन अमेरिकाको टेक्सासस्थित पोर्टरमा एउटा परिवारका लागि निकै त्रासदीपूर्ण रह्यो । तर, एक पिताको विवेक र आधुनिक प्रविधिको सही प्रयोगले सो त्रासदी टर्न पुग्यो । 

२५ डिसेम्बरको दिउँसो करिब ४:५० बजे, पोर्टर निवासी १५ वर्षीया किशोरी आफ्नो कुकुरलाई डुलाउन घरबाहिर निस्किएकी थिइन् । ह्युस्टनबाट करिब २५ माइल उत्तरमा पर्ने यस क्षेत्रमा सामान्यतया केही समयमा घर फर्कने उनी धेरै बेरसम्म नफर्किएपछि उनका अभिभावकहरू अत्तालिए । 

उता २३ वर्षीय जियोभानी रोजालेस एस्पिनोजा नामक व्यक्तिले ती किशोरीलाई सडकमै चक्कु देखाएर धम्क्याउँदै जबरजस्ती आफ्नो ट्रकमा हालेर लगेका थिए । छोरी हराएको पत्ता लाग्ने बित्तिकै उनका पिताले समय खेर नफाली प्रहरीलाई खबर गरे र तुरुन्तै छोरीको स्मार्टफोनमा रहेको ‘प्यारेन्टल कन्ट्रोल’ फिचरको प्रयोग गरी लोकेसन ट्र्याक गर्न थाले । प्रविधिको मद्दतले उनले छोरीको लोकेसन घरभन्दा करिब दुई माइल टाढा ह्यारिस काउन्टीको एउटा एकान्त र जङ्गली क्षेत्रमा रहेको पत्ता लगाए ।

लोकेसन पछ्याउँदै जाँदा ती पिताले एउटा मरुन रङको पिकअप ट्रक फेला पारे । ट्रकभित्र उनले आफ्नी छोरी र कुकुरका साथै एकजना अर्ध-नग्न अवस्थामा रहेका एस्पिनोजालाई देखे । ती पिताले साहस देखाउँदै छोरीलाई अपहरणकारीको चङ्गुलबाट मुक्त गराएर घर फर्काउन सफल भए र तुरुन्तै प्रहरीलाई थप जानकारी दिए ।

मोन्टगोमेरी काउन्टी शेल्फको कार्यालयले प्राप्त सूचनाको आधारमा खोजतलास गरी २३ वर्षीय एस्पिनोजालाई नियन्त्रणमा लियो । उनीमाथि गम्भीर अपहरण र बालबालिकासँग अश्लील हर्कत गरेको मुद्दा दर्ता गरिएको छ । हाल उनलाई मोन्टगोमेरी काउन्टी जेलमा राखिएको छ ।

आधुनिक स्मार्टफोनमा हुने लोकेसन ट्र्याकिङ र प्यारेन्टल कन्ट्रोल फिचर आपत्कालीन समयमा जीवन बचाउने उपकरण बन्न सक्ने कुरा टेक्सासको यो घटनाले देखाएको छ । हाल पीडित किशोरी आफ्नो परिवारसँगै स्वास्थ्य लाभ गरिरहेकी छिन् ।

स्मार्टफोनमा कसरी गर्ने छोराछोरीको लोकेसन ट्र्याकिङ ?

स्मार्टफोनमा उपलब्ध प्यारेन्टल कन्ट्रोल फिचरले अभिभावकलाई आफ्ना छोराछोरीको अनलाइन गतिविधिसँगै लोकेसन समेत थाहा पाउन मद्दत गर्छ ।  एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि गुगलले प्यारेन्टल कन्ट्रोलको रूपमा फेमिली लिङ्क एप उपलब्ध गराएको छ । जसले अभिभावकलाई बच्चाको डिभाइस टाढैबाट व्यवस्थापन गर्न अनुमति दिन्छ ।

अभिभावकले आफ्नो फोनमा Family Link एप डाउनलोड गर्नुपर्छ । अभिभावकसँगै बच्चाको डिभाइसमा पनि गुगल अकाउन्ट हुनु अनिवार्य छ ।

फेमिली लिङ्क एपभित्र लोकेसन सेक्सनमा गएर See your child's location विकल्पलाई अन गर्नुपर्ने हुन्छ । यो सुविधा डिभाइस अन भएको र इन्टरनेटमा जोडिएको अवस्थामा मात्र चल्छ । बच्चा १३ वर्ष पुगेपछि भने गुगलले उसलाई आफ्नो अकाउन्ट आफैँ व्यवस्थापन गर्ने विकल्प दिन्छ ।

एप्पल प्रयोगकर्ताहरूले आईफोनमा रहेको फेमिली सेयरिङ मार्फत लोकेसन ट्र्याक गर्न सक्छन् । त्यसका लागि आइफोनको Settings > Family Sharing> Parental Controll> Location Sharing मा गएर आफूले लोकेसन शेयर गर्न चाहेको सदस्य छनोट गर्नुपर्ने हुन्छ । 

यो सुविधाबाट बच्चाको लोकेसन मात्र होइन, हराएको एप्पल डिभाइस (आईफोन, आईप्याड  वा एयरट्याग) समेत पत्ता लगाउन सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: पुस १३, २०८२ १७:१२