close

तामाङ, नेपाली र अङ्ग्रेजी अनुवाद गर्ने गुगल टीएमटी सिस्टमको बेटा भर्सन सार्वजनिक

टेकपाना टेकपाना

पुस १३, २०८२ १८:४६

तामाङ, नेपाली र अङ्ग्रेजी अनुवाद गर्ने गुगल टीएमटी सिस्टमको बेटा भर्सन सार्वजनिक

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको कम्प्युटर विज्ञान र इन्जिनियरिङ विभागले गुगल त्रिभाषिक मसिन अनुवाद (Trilingual Machine Transla-TMT) प्रणाली सार्वजनिक गरेको छ । विभागको सूचना तथा भाषा प्रशोधन अनुसन्धान प्रयोगशाला (आईइएलपीआरएल) ले समुदाय स्तरमा परीक्षण र प्रतिक्रियाका लागि उक्त प्रणाली उपलब्ध गराएको हो । 

यो नयाँ अनुवाद प्रणाली हाल https://tmt.ilprl.ku.edu.np वेबसाइट मार्फत उपलब्ध गराइएको छ । यसमा हाल चार वटा मोडलहरू रहेका छन् । जसले नेपाली-तामाङ, तामाङ-नेपाली, अङ्ग्रेजी-नेपाली, नेपाली-अङ्ग्रेजी, अङ्ग्रेजी-तामाङ र तामाङ-अङ्ग्रेजी गरी विभिन्न ६ वटा दिशामा अनुवाद गर्न सक्छ । प्रयोगकर्ताहरूबाट प्राप्त हुने एक महिनाको प्रतिक्रिया, सुधार र सुझावका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने मोडललाई अन्तिम रूपमा प्रयोगमा ल्याइनेछ ।

यो परियोजना विश्वभरका ३० वटा उत्कृष्ट अनुसन्धानमध्येको एक हो । जसले गुगल एकेडेमिक रिसर्च अवार्ड २०२५ (समाज-केन्द्रित एआई विधा अन्तर्गत) प्राप्त गरेको थियो । सूचनामा पहुँच बढाउनु, सञ्चारमा सहजता ल्याउनु र तामाङ जस्ता अल्पसङ्ख्यक भाषाहरूको संरक्षण गर्नु यसको मुख्य उद्देश्य रहेको छ ।

परियोजनाका मुख्य अन्वेषक र प्रयोगशालाका प्रमुख प्राडा बालकृष्ण बलका अनुसार प्राविधिक कार्यहरू लगभग पुरा भइसकेका छन् । अब परियोजना तेस्रो चरण अर्थात् 'सामुदायिक संलग्नता' मा प्रवेश गरेको छ । अन्तिम परिचालन पछि समुदायलाई तालिम र कार्यशाला मार्फत यसबारे जानकारी गराइनेछ । साथै, क्रप्स एनोटेसन टुल (Corpus Annotation Tool) पनि सार्वजनिक गरिनेछ । जसले विश्वभरका तामाङ समुदायलाई अनुवादमा योगदान दिन र प्रणालीलाई थप परिष्कृत गर्न मद्दत पुर्‍याउनेछ ।

हाल यो प्रणाली कृषि, स्वास्थ्य, शिक्षा, संस्कृति र समाज तथा सामान्य सञ्चार गरी पाँच वटा क्षेत्रका २३ हजार समानान्तर वाक्यहरूमा आधारित भएर प्रशिक्षित गरिएको छ । भविष्यमा यसलाई १ लाख समानान्तर वाक्यसम्म पुर्‍याउने लक्ष्य राखिएको छ । यस कार्यमा तामाङ राष्ट्रिय पुस्तकालयका अमृत योन्जन तामाङ र उनको अनुवाद टोलीका साथै परियोजनाका सह-प्रमुख अन्वेषक प्राडा बलराम प्रसाईंले भाषिक सहयोग उपलब्ध गराइरहेका छन् ।

प्रा बलका अनुसार, तामाङ भाषालाई आधिकारिक रूपमा गुगल ट्रान्सलेट एपमा समावेश गराउनका लागि चाँडै नै गुगलसँग समन्वय गरिनेछ । जसले यो भाषालाई अन्तर्राष्ट्रियकरण गर्न ठुलो मद्दत पुग्नेछ । प्राप्रसाईं र तामाङ भाषाविद् अमृत योन्जन तामाङले यो प्रणालीले ई-गभर्नेन्स र सरकारी सेवा प्रवाहमा सरकार र नागरिक दुवैलाई ठुलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: पुस १३, २०८२ १८:४७