close

फुड डेलिभरी एप भोजमा थपियो ‘छिट्टो’ सेवा, अर्डरको २० मिनेटमै ग्रोसरी सामान डेलिभरी दिने दाबी

टेकपाना टेकपाना

पुस १४, २०८२ ९:३९

फुड डेलिभरी एप भोजमा थपियो ‘छिट्टो’ सेवा, अर्डरको २० मिनेटमै ग्रोसरी सामान डेलिभरी दिने दाबी

 

काठमाडौँ । नेपाली फुड डेलिभरी एप ‘भोज’मा ग्रोसरी सामग्री २० मिनेटमा नै डेलिभरी दिने सुविधा थपिएको छ । एपमा २० मिनेटमा सामान डेलिभरी गर्ने दाबी सहित कम्पनीले ‘छिट्टो’ क्याटेगोरी थप गरेको हो । 

 

यससँगै दैनिक जीवनमा घरायसी काममा आवश्यक पर्ने दुई हजारभन्दा बढी किसिमका घरायसी सामान अर्डर गरेको २० मिनेटभित्रै ग्राहकहरूले पाउने भोजका सह-संस्थापक निकेत अग्रवालले बताए । उनका अनुसार हाल ‘छिट्टो’को सुविधा काठमाडौँ उपत्यकाभित्रका ग्राहकहरूले मात्र पाउने छन् । उनले भने, “उपत्यकाभित्रका सबै स्थानमा भने उपलब्ध भइसकेको छैन । दुई तीन महिनामा उपत्यका भित्रका सबै स्थानमा यो सेवा विस्तार गर्दैछौँ ।”

 

भोजसँग पहिले देखि नै प्राविधिक टोली रहेकाले करिब डेढ महिना लगाएर ‘छिट्टो’ तयार पारिएको उनले बताए । एक महिनाको परीक्षणपछि ‘छिट्टो’बाट २० मिनेटमा सामान पुर्‍याउने सेवा ल्याइएको उनले बताए । परीक्षणमा सफल देखिएपछि औपचारिक रूपमा नै ग्राहकहरू माझ ‘छिट्टो’ सार्वजनिक गरिएको उनको भनाई छ । 

 

अग्रवालका अनुसार ग्रोसरी सामग्री २० मिनेटमा उपलब्ध गराउन मेट्रोमार्केटसँग सहकार्य गरिएको छ । उपत्यकामा मेट्रोमार्केट भएको स्थानबाट दुईदेखि तीन किलोमिटर टाढा दुरीसम्म भोज एपमार्फत ग्रोसरी सामान अर्डर गर्न सकिने उनले बताए । 

हाल छिट्टो सार्वजनिक गरेको अवसरमा फ्रि डेलिभरीको सुविधा दिइएको छ । बिस्तारै कति रुपैयाँसम्मका सामानमा डेलिभरी शुल्क लिने र कतिमा छुट दिने भन्ने बारेमा पनि निर्णय लिइने उनले बताए । 

 

सह-संस्थापक अग्रवालका अनुसार भोज एपमा डेलिभरीका लागि कार्यरत राइडरबाट नै ‘छिट्टो’को सामान डेलिभरी व्यवस्थापन गरिएको छ । उनले भने, “मेट्रोमार्टमा उपलब्ध भएका सबै ग्रोसरी सामान छिट्टोबाट खरीद गर्न सकिन्छ । सामानमा शुल्क पनि मार्टकै शुल्क बराबर राखिएको छ ।” राइडरहरूले साइकल प्रयोग गरेर डेलिभरी गर्ने भएकाले २० मिनेटमा उपलब्ध गराउन सकिने सुविधा ल्याइएको उनले बताए ।

 

भोज एपले आफ्नो सेवा काठमाडौँ उपत्यका बाहेक बुटवल, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, इटहरी लगायतका सहरहरूमा पनि दिँदै आएको छ । ती स्थानमा पनि ‘छिट्टो’ पुर्‍याउने योजना रहेको उनले बताए । यसका लागि भोज एपको सेवा भएका सहरहरूका स्थानीय किराना पसलहरूसँग ‍सहकार्यका लागि छलफल भइरहेको उनको भनाइ छ । 

 

“२० मिनेट भित्र नै ग्राहकले चाहे अनुसारको अर्डर डेलिभरी गराउनु आफैँमा एउटा चुनौती पूर्ण काम पनि हो । यो चुनौती अनुसार डेलिभरी गर्न सक्ने गरि हामीले छिट्टोलाई तयार गरेका छौँ,” उनले भने । 

पछिल्लो अध्यावधिक: पुस १४, २०८२ ९:३९