close

वर्षको ५ हजार तिरेर विद्यार्थीले लिएको टेलिकमको एफटीटीएच इन्टरनेट सोही शुल्कमा रिन्यु नहुने

टेकपाना टेकपाना

पुस १५, २०८२ १०:३५

वर्षको ५ हजार तिरेर विद्यार्थीले लिएको टेलिकमको एफटीटीएच इन्टरनेट सोही शुल्कमा रिन्यु नहुने

काठमाडौँ । नेपाल टेलिकमले हाल विद्यार्थीहरूलाई लक्षित गरेर ल्याएको एनटी फाइबर विद्यार्थी अफर एक पटकका लागि मात्र लिन मिल्ने भएको छ । कम्पनीले प्याकेजको समयावधी सकिएपछि विद्यमान अन्य प्याकेजमा अपग्रेड गर्नुपर्ने वा राउटर फिर्ता गर्नुपर्ने विषय स्पष्ट पारेको हो । 

अफरको समयावधि सकिए पछि पुनः सोही प्याकेजमा नवीकरण गर्न नमिल्ने र सेवा निरन्तरता चाहनेले साविकका प्याकेजहरू मध्येबाट छनोट गर्नु पर्ने टेलिमकले जनाएको छ । “नवीकरण गर्न नचाहेमा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ,” कम्पनीले भनेको छ । 

आगामी २२ माघसम्म आवेदन मिति रहेको यो अफर विद्यार्थीका लागि मात्र उपलब्ध हुने गराइएको छ । फाइबर टु द होम अर्थात एनटी फाइबर इन्टरनेट अन्तर्गतको यो प्याकेजमा डेटा (इन्टरनेट) मात्र उपलब्ध हुन्छ । एनटी फाइबरमा भ्वाइस, डेटा, एनटीटीभी (आईपीटिभी) र मोबाइल डेटा समेत उपलब्ध हुने भए पनि विद्यार्थी अफरमा अन्य सेवाहरू हटाइएको छ । 

अफर अन्तर्गत ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्षसम्म उपलब्ध हुन्छ र यसको मूल्य ४ हजार ९९९ रुपैयाँ राखिएको छ । यसको एफयूपी २५ जीबी  (प्रतिदिन इन्टरनेट डेटाको सीमा) रहेको छ भने त्यो भन्दा बढी डेटा खपत भएमा इन्टरनेटको स्पिड ५ एमबीपीएसमा सीमित हुन्छ । यसका लागि जडान शुल्क ५०० रुपैयाँ लाग्छ भने विद्यार्थीले १ थान डुअल ब्यान्ड सीपीई र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्नन सक्छन् ।

यो अफरको इन्टरनेट जडान गर्न चाहने विद्यार्थीले १९८ मा सम्पर्क गरी, डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भई आवेदन दिनुपर्ने हुन्छ । २०५४ साल वा त्यसपछिको जन्म मिति रहेका विद्यार्थीका लागि मात्र यो अफर लागु हुनेछ । 

त्यसैले स्पष्ट जन्म मिति खुल्ने प्रमाणको रूपमा जन्म दर्ता वा नागरिकता प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने हुन्छ । त्यसैगरी आवेदन फारामका साथ विद्यार्थीको परिचय पत्र पनि अनिवार्य गरिएको छ । नाबालिगको हकमा अभिभावकको नागरिकता वा लाइसेन्स वा पासपोर्टको प्रतिलिपि बुझाउनु पर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: पुस १५, २०८२ १०:४७