close

आफ्नो फोन अरूलाई चलाउन दिनु अघि जान्नैपर्ने सेटिङ, अन्यथा लिक हुनसक्छ तपाईँको गोप्य जानकारी

टेकपाना टेकपाना

पुस १५, २०८२ १२:२

आफ्नो फोन अरूलाई चलाउन दिनु अघि जान्नैपर्ने सेटिङ, अन्यथा लिक हुनसक्छ तपाईँको गोप्य जानकारी

काठमाडौँ । आजको समयमा हाम्रो स्मार्टफोनमा बैङ्क खाताका विवरण, गोप्य मेसेज, तस्बिर र लोकेसन हिस्ट्री जस्ता अत्यन्तै संवेदनशील जानकारीहरू हुन्छन् । कसैलाई फोन केही बेरका लागि दिँदा पनि सावधानी अपनाइएन भने ती विवरणहरू अरूको हातमा पुग्न सक्ने जोखिम रहन्छ । तपाईँको गोपनीयता र सुरक्षालाई ध्यानमा राख्दै आज हामी फोन अरूलाई दिनु अघि अपनाउनुपर्ने टिप्सको बारेमा चर्चा गर्दैछौँ । 

एप पिनिङ (App Pinning)

यदि कसैले तपाईँको फोन कल गर्न वा कुनै खास एप चलाउनका लागि मागेको हो भने एप पिनिङ सबैभन्दा उत्तम फिचर हो । यसले फोनलाई एउटै एपमा सीमित गरिदिन्छ र तपाईँसँग एकछिनका लागि फोन माग्ने व्यक्तिले उक्त एपबाट बाहिर निस्कन वा अन्य फाइलहरू हेर्न सक्दैन ।

एन्ड्रोइड फोनको Settings > Password and Security > App pinning (वा Screen Pinning) मा गएर यसलाई अन गर्न सकिन्छ । सुरक्षाका लागि Ask for PIN before unpinning विकल्पलाई पनि सक्रिय पार्न नभुल्नुहोस् । 

यति गरिसकेपछि अब आफूले दिन चाहेको एप खोल्नुहोस् । त्यसपछि रिसेन्ट एप (Recent Apps) बटन थिच्नुहोस् र एपको आइकनमा ट्याप गरी Pin विकल्प रोज्नुहोस् ।

एप पिनिङबाट बाहिर निस्किन जेस्चर मोडमा तलबाट माथि स्वाइप गरेर होल्ड गर्नुहोस् वा बटन मोडमा Back र Recent बटन एकसाथ थिच्नुहोस् । त्यसपछि फोन लक हुन्छ र तपाईँको पिन विना खुल्दैन ।

गेस्ट मोड

बालबालिका वा पाहुनालाई आफ्नो फोन चलाउन दिनुपर्दा गेस्ट मोड उपयोगी हुन्छ । यसले तपाईँका मुख्य एप र डेटा लुकाएर फोनलाई नयाँ किनेको जस्तै खाली अवस्थामा देखाउँछ ।

यसका लागि सेटिङको System वा Users & accounts  हुँदै Multiple Users मा जानुहोस् र Users अथवा Allow multiple users अन गर्नुहोस् । यति गरिसकेपछि Add Guest वा Add user मा थिच्नुहोस् ।

गेस्ट मोडमा अन्य प्रयोगकर्ताले आफ्नो छुट्टै गुगल अकाउन्ट लगइन गर्न र एप डाउनलोड गर्न सक्छन् । तर तपाईँको मेसेज वा तस्बिर हेर्न भने पाउँदैनन् ।

आईफोनका लागि 'गाइडेड एक्सेस' (Guided Access) 

एन्ड्रोइडमा एप पिनिङ भए जस्तै फिचर एप्पल प्रयोगकर्ताहरूका लागि गाइडेड एक्सेस भन्ने फिचर उपलब्ध छ । यसलाई प्रयोग गर्न Settings > Accessibility > Guided Access मा गएर यसलाई सक्रिय पार्नुहोस् ।

यसमा कुनै एप चलाउँदा साइड बटन तीन पटक थिचेर यसलाई एक्टिभ गर्न सकिन्छ । यसले स्क्रिनको निश्चित भागलाई नचल्ने बनाउन, भोलुम नियन्त्रण गर्न वा समय सीमा तोक्न समेत मद्दत गर्छ ।

साओमी प्रयोगकर्ताका लागि 'सेकेन्ड स्पेस' (Second Space) 

यदि तपाईँ साओमी फोन प्रयोग गर्नुहुन्छ भने त्यसमा 'सेकेन्ड स्पेस' भन्ने फिचर हुन्छ । यसले एउटै फोनभित्र दुई वटा छुट्टै मोबाइल चलाए जस्तो अनुभव दिन्छ । तपाईँले छुट्टाछुट्टै पासवर्ड प्रयोग गरेर प्राइभेट स्पेस र गेस्ट स्पेसमा प्रवेश गर्न सक्नुहुन्छ ।

मोबाइल मर्मतमा पठाउनु अघि गर्नै पर्ने काम 

कहिलेकाहीँ मोबाइल बिग्रेर मर्मतका लागि पठाउँदा तपाईँको डेटा असुरक्षित हुन सक्छ । यस्तो बेला सबैभन्दा पहिला गुगल ड्राइभ वा आईक्लाउडमा डेटाहरू ब्याकअप गर्नुहोस् ।

फेसबुक, इन्स्टाग्राम र विशेष गरी बैङ्किङ एपहरूबाट लगआउट गर्नुहोस् । सर्भिस सेन्टरमा फोन बुझाउनु अघि आफ्नो सिम कार्ड र माइक्रो एसडी कार्ड निकाल्न नबिर्सिनुहोस् । धेरै संवेदनशील डेटा छ भने फोन रिसेट गरेर मात्र मर्मतका लागि दिनु बुद्धिमानी हुन्छ ।

केही गोप्य कोड

तपाईँले *#*#4636#*#* डायल गरेर आफ्नो मोबाइलमा कुन-कुन एप कति समय प्रयोग भए भन्ने कुराको विवरण हेर्न सक्नु हुन्छ ।  *#61# डायल गरेर तपाईँको कल अरूको नम्बरमा फर्वार्ड भएको छ कि छैन भनेर जाँच्न सकिन्छ । यदि फर्वार्डिङ सक्रिय भएको छ भने ##002# डायल गरी त्यसलाई हटाउन सकिन्छ

 

पछिल्लो अध्यावधिक: पुस १५, २०८२ १२:१६