माइक्रोसफ्टले भन्योः मुख्यतया यी २ फिचरले बनाउन सक्छन्, तपाईँको विन्डोज कम्प्युटरलाई स्लो
असोज २८, २०८२ १७:१७
काठमाडौँ । माइक्रोसफ्टले विन्डोज १० र विन्डोज ११ का दुई वटा फिचरले सिस्टमको कार्यक्षमतामा कमी ल्याउन सक्ने बताएको छ । हालै एउटा नयाँ सपोर्ट डकुमेन्ट जारी गर्दै कम्पनीले विशेषगरी पुराना र कमजोर पीसीहरूमा यसको असर बढी देखिने जनाएको हो ।
सिस्टमलाई अपडेट राख्ने, स्टोरेज ठाउँ खाली राख्ने र नियमित रूपमा मालवेयर स्क्यान गर्ने जस्ता सुझाव बाहेक माइक्रोसफ्टले वनड्राइभ र भिजुअल इफेक्ट्सलाई कार्यसम्पादन कम गर्ने कारकका रूपमा औँल्याएको छ ।
१. वनड्राइभको स्वचालित सिङ्क्रोनाइजेसन
वनड्राइभको स्वचालित क्लाउड सिङ्क्रोनाइजेसन फिचर व्यावहारिक र सुविधाजनक भए पनि यसले कम्प्युटिङ शक्ति र ब्यान्डविथ खपत गर्छ । माइक्रोसफ्टले आफ्नो सपोर्ट पेजमार्फत ‘सिंक गर्दा पीसी सुस्त हुन सक्छ’ भन्ने कुरा स्पष्ट पारेको छ । विशेषगरी गहन प्रयोग (intensive use) को समयमा प्रयोगकर्ताले ढिलाइ अनुभव गर्न सक्छन् ।
वनड्राइभ सिंक इनेबल हुँदा यसले सिस्टममा हुने परिवर्तनलाई निरन्तर अनुगमन गर्छ । यदि तपाईँले कुनै लोकल ड्राइभमा नयाँ तस्बिर थप्नुभयो भने वनड्राइभ सिंकले त्यो तस्बिर तुरुन्तै क्लाउडमा अपलोड भएको सुनिश्चित गर्छ ।
डेटाको यस किसिमको निरन्तर ब्याकग्राउन्ड अनुगमन र सिंकले महत्त्वपूर्ण मात्रामा सिस्टम रिसोर्स (प्रणालीको स्रोतसाधन) खपत गर्छ, जसले गर्दा फाइलहरू सिंक भइरहेको बेला ढिलाइ महसुस हुन सक्छ ।
समाधानका लागि माइक्रोसफ्टले वनड्राइभको सिङ्क्रोनाइजेसन प्रक्रियालाई रोक्न (pause) सिफारिस गरेको छ । यसका लागि सिस्टम ट्रेमा रहेको वनड्राइभ आइकनमा क्लिक गर्नुहोस् ।
सेटिङ्स (Settings) गियर/कग आइकनमा क्लिक गर्नुहोस् र त्यसपछि 'Pause syncing' मा क्लिक गर्नुहोस् । सिंक रोक्नका लागि अवधि (Duration) चयन गर्नुहोस्, जस्तै: २, ८, वा २४ घण्टा ।
यसो गर्दा तपाईँको पीसी पहिले भन्दा फास्ट भएको महसुस हुन सक्छ । वनड्राइभको इन्टरनेट प्रयोगमा कुनै सीमा नराख्दा यसले बढी ब्यान्डविथ खपत गर्नुका साथै सिस्टमको समग्र कार्यसम्पादनमा पनि असर पार्छ ।
त्यसैले वनड्राइभ सेटिङमा गएर 'Limit Download Rate' र 'Limit Upload Rate' दुवैको छेउमा रहेका टगलहरूलाई इनेबल गरेर गति सीमित गर्न पनि सिफारिस गरिएको छ ।
२. विन्डोज भिजुअल इफेक्ट्स
विन्डोज ११ को युजर इन्टरफेसमा रहेका एनिमेसन, ट्रान्सपरेन्सी इफेक्ट र श्याडो जस्ता भिजुअल इफेक्ट्स (visual effects) स्टाइलिश देखिन्छन् र विन्डोजलाई आधुनिक स्वरूप प्रदान गर्छन् । तर, माइक्रोसफ्टले यी इफेक्टहरूले अतिरिक्त सिस्टम रिसोर्स प्रयोग गर्न सक्ने पीसीलाई ढिलो बनाउन सक्ने बताएको छ ।
यस प्रकारका इफेक्टहरूले सीपीयू, जीपीयू र र्याम महत्त्वपूर्ण मात्रामा खपत गर्छन् । हाई-एन्ड डिभाइसमा यो इफेक्टलाई ध्यान नदिए पनि कम क्षमता भएका डिभाइस (विशेषगरी ८ जीबी भन्दा कम र्याम भएका वा पुरानो जीपीयू भएका) मा कुनै पनि अतिरिक्त रिसोर्स खपतले प्रणालीको समग्र कार्यसम्पादनलाई उल्लेखनीय रूपमा असर गर्न सक्छ ।
यसको समाधानका लागि भिजुअल इफेक्ट्स डिसेबल (असक्षम) गर्न सुझाइएको छ । त्यसका लागि सबैभन्दा पहिला स्टार्ट मेनुमा जानुहोस् र 'Performance' वा 'Adjust the appearance and performance of Windows' टाइप गरेर सर्च गर्नुहोस् ।
अब 'Adjust the appearance and performance of Windows' लाई छान्नुहोस् । त्यहाँ भिजुअल इफेक्ट्स (Visual Effects) ट्याब अन्तर्गत 'Adjust for best performance' लेबल गरिएको विकल्पमा क्लिक गर्नुहोस् अनि 'Apply' गरेर 'OK' मा क्लिक गर्नुहोस् ।
यसले धेरै स्रोतसाधन खपत गर्ने भिजुअल फिचरहरूलाई डिसेबल पार्नेछ । यदि तपाईँ केही एनिमेसनहरू कायम राख्न चाहनुहुन्छ भने Custom विकल्प चयन गरेर आफूले राख्न चाहेका एनिमेसनहरूको छेउमा रहेका बक्सहरूलाई चेक गर्न सक्नुहुन्छ ।
यी निःशुल्क उपायले तपाईँको पीसीको प्रतिक्रिया दिने क्षमता (responsiveness) लाई तत्काल बढाउन सक्छ, जुन पुराना पीसीहरूका लागि ठुलो सुधार हुन सक्छ । माथिका दुई सुझाव बाहेक माइक्रोसफ्टको सपोर्ट पेजले अन्य कार्यहरू पनि औँल्याएको छ, जसले पीसीको कार्यसम्पादन सुधार गर्न सक्छन् ।
तिनमा विन्डोजलाई नियमित रूपमा अपडेट गर्ने, अनावश्यक स्टार्टअप एप्लिकेसनलाई निष्क्रिय गर्ने, स्पेस खाली गर्ने र रेडिबुस्ट (ReadyBoost) प्रयोग गर्ने उपायहरू पनि समावेश छन् । यस सम्बन्धी थप जानकारी लागि टेकपानाको यसअघि प्रकाशित टिप्स हेर्न सक्नु हुनेछ, जसमा जान यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: असोज २८, २०८२ १७:१७
