इन्टरनेट बिना नै अफलाइन चलाउन मिल्ने गरी यसरी डाउनलोड गर्न सकिन्छ सिङ्गै वेबसाइट
पुस १६, २०८२ १३:५४
काठमाडौँ । सामान्यतया हामीलाई कुनै वेबपेज मनपर्यो भने ब्राउजरको 'सेभ' बटन थिचेर सुरक्षित गर्छौँ । तर यसले एउटा मात्र पेज सेभ गर्छ । यदि तपाईंलाई पूरा वेबसाइट नै इन्टरनेट बिना चलाउन मन छ भने ओपनजिम (OpenZIM) प्रोजेक्टले यसलाई सम्भव तुल्याइदिन्छ ।
ओपनजिम एउटा ओपन-सोर्स (Open-source) परियोजना हो, जसले कुनै पनि वेबसाइटलाई अर्काइभ गरेर अफलाइन चलाउन मिल्ने बनाउँछ । यसका लागि डेभलपरहरूले .zim नामक नयाँ फाइल फर्म्याट तयार पारेका छन् । जुन वेबसाइटको उच्चतम रूपमा खाँदिएको (Highly compressed) रूप हो । यी जिम फाइलहरूलाई किभिक्स (Kiwix) जस्ता एपको मद्दतले कुनै पनि समय इन्टरनेट बिना नै ब्राउज गर्न सकिन्छ ।
ओपनजिमको आफ्नै एउटा ठुलो लाइब्रेरी छ, जहाँबाट तपाईंले पहिले नै तयार पारिएका जिम फाइलहरू डाउनलोड गर्न सक्नुहुन्छ । उदाहरणका लागि अङ्ग्रेजी विकिपिडियाको पूर्ण संस्करण करिब १०० जीबीको छ भने यसको ११ जीबीको सानो 'मिनी' संस्करण उपलब्ध छ ।
यसको पूर्ण लाइब्रेरी पनि अफलाइन पढ्नका लागि उपलब्ध छ भने डुम विकी जस्ता विशिष्ट जानकारी भएका वेबसाइटहरू पनि डाउनलोड गर्न सकिन्छ । कुनै पनि वेबसाइटको यूआरएललाई जिम फाइलमा बदल्ने प्रक्रियालाई यसको कम्युनिटीमा प्रिन्टिङ भनेर बुझिन्छ । यसका मुख्य दुई वटा तरिकाहरू छन् ।
सजिलो तरिका
यसमा जिमइट (Zimit) नामक वेब पोर्टलमा गएर आफूले चाहेको वेबसाइटको लिङ्क र आफ्नो ईमेल राख्नुपर्छ । उक्त वेबसाइटमा जान यहाँ क्लिक गर्न सक्नु हुन्छ । यसले वेबसाइटलाई प्याकेज गरेर तपाईंको ईमेलमा डाउनलोड लिङ्क पठाइदिन्छ । यद्यपि यो प्रक्रिया केही ढिलो हुन सक्छ । २ जीबीको फाइल तयार हुन करिब २ घण्टा लाग्न सक्छ र एक पटकमा एउटा मात्र काम गर्न मिल्छ ।
छिटो तरिका
यदि तपाईं धेरै वेबसाइटहरू छिटो 'प्रिन्ट' गर्न चाहनुहुन्छ भने आफ्नो कम्प्युटरमा डकर (Docker) प्रयोग गरेर यो काम गर्न सक्नुहुन्छ । यसले सिधै तपाईंको डिभाइसमा फाइल तयार पार्ने भएकाले इन्टरनेटबाट डाउनलोड गरिरहनु पर्दैन । डकर कमान्डमार्फत तपाईंले वेबसाइटको कति गहिराइसम्म (Depth) र कतिवटा पेजहरू सेभ गर्ने भन्ने सीमा पनि तोक्न सक्नुहुन्छ ।
विन्डोज कम्प्युटरका लागि तपाईँले माइक्रोसफ्ट स्टोरमा गएर अथवा यहाँ क्लिक गरेर आधिकारिक वेबसाइटबाट डकर डेस्कटप (Docker Desktop) इन्स्टलर प्याकेज डकर डेस्कटप इन्स्टल गर्न सक्नु हुन्छ । यो प्रविधिको प्रयोग गरेर तपाईँले आफ्नो रुचिका विषयहरूको व्यक्तिगत अफलाइन लाइब्रेरी नै बनाउन सक्नु हुन्छ । इन्टरनेट नभएको अवस्थामा वा यात्राको समयमा पनि यो स्न्यापशट मार्फत वेबसाइट ब्राउज गर्न निकै उपयोगी हुन्छ ।
पछिल्लो अध्यावधिक: पुस १६, २०८२ १३:५४
