आउनुहोस् घुमौँ नेपालबाटै विश्व बजारको काम गरिरहेको विदेशी आईटी कम्पनी लग पोइन्ट (भिडिओ टुर)
पुस १८, २०८२ ११:६
काठमाडौँ । ललितपुरको व्यस्त सडकबाट केही भित्र छिरेपछि एउटा यस्तो संसार सुरु हुन्छ, जहाँ दिनरात विश्वभरका ठुला कर्पोरेट घरानाहरूको डिजिटल सुरक्षाको पहरेदारी गरिन्छ । आज हामी तपाईँलाई एउटा यस्तो यात्रामा लैजाँदैछौँ, जहाँ तपाईँले नेपालमा बसेर विश्व स्तरीय साइबर सुरक्षा सफ्टवेयर कसरी बनाइन्छ र त्यसको पछाडि कस्ता प्रतिभाहरू संलग्न छन् भन्ने अनुभव गर्न पाउनु हुनेछ ।
कार्यालयको ढोकाबाट भित्र छिर्ने बित्तिकै एक प्रकारको शान्त, तर छुट्टै ऊर्जा दिने वातावरण महसुस गर्नुहुन्छ । लग पोइन्टका कन्ट्री डाइरेक्टर दिपेन चापागाईं भन्छन्, "यो एउटा साइबर सुरक्षा सफ्टवेयर डेभलपमेन्ट कम्पनी हो, जसले सिम (Security Information and Event Management-SIEM), सोर (Security Orchestration, Automation, and Response-SOAR) र यूईबीए (User and Entity Behavior Analytics-UEBA) जस्ता प्रविधिमा आधारित उत्पादनहरू बनाउँछ ।"
साधारण भाषामा भन्नु पर्दा, जसरी एउटा भौतिक कार्यालयमा सुरक्षा गार्डले लेजर बुकमा को आयो, को गयो भनेर रेकर्ड राख्छ, लग पोइन्टको सफ्टवेयरले ठुला कम्प्युटर नेटवर्कमा कुन युजरले के गर्यो, कुन फाइल पढ्यो वा कहाँबाट अट्याक हुन खोज्दैछ भन्ने कुराको डिजिटल रेकर्ड राख्छ र सम्भावित जोखिमबाट जोगाउँछ ।
अगाडि बढ्दै गर्दा कार्यालयको बनावटले तपाईँको ध्यान तान्छ । यहाँ ओपन स्पेसको अवधारणा प्रयोग गरिएको छ । चापागाईंका अनुसार, यो अफिस डिजाइन गर्दा कोल्याबरेसन र इनोभेसन (सहकार्य र नवप्रवर्तन) लाई मुख्य प्राथमिकतामा राखिएको थियो ।
हिँड्दै गर्दा तपाईँले विभिन्न आकारका मिटिङ रुमहरू देख्नुहुन्छ । कुनै निकै ठुला छन्, जहाँ बोर्ड मिटिङहरू चल्छन् भने कुनै साना र अनौठा त्रिकोणात्मक द्वार भएका छन् । यी कोठाहरूमा विश्व स्तरीय भर्चुअल कन्फ्रेन्स उपकरणहरू जडान गरिएका छन् । जसले गर्दा यहाँ बसेर युरोप वा अमेरिकाका टिमसँग कुरा गर्दा उनीहरू छेवैमा बसेको जस्तो महसुस हुन्छ । पर्याप्त प्राकृतिक प्रकाश र खुला ठाउँहरूले कर्मचारीहरूलाई काममा एकाग्र हुन र आपसमा आइडिया आदानप्रदान गर्न सजिलो बनाउँछ ।
भ्रमणको अर्को चरणमा हामी पिपल एन्ड कल्चर डिपार्टमेन्ट पुग्यौँ । धेरै ठाउँमा यसलाई ह्युमन रिसोर्स (एचआर) भनिन्छ । तर लग पोइन्टमा यसको नाम र काम दुवै फरक छ । पिपल एन्ड कल्चर विभागकी सिनियर अफिसर शर्मिला महर्जनका अनुसार, मानिस र संस्थाको संस्कृतिलाई बढी महत्त्व दिनका लागि यो नाम राखिएको हो ।
यहाँ कर्मचारीहरूको मानसिक र भावनात्मक अवस्था बुझ्न 'कल्चर एम्प' (CultureAmp) नामक एउटा विशेष डिजिटल टुल प्रयोग गरिन्छ । यस मार्फत त्रैमासिक रूपमा सर्भे गरिन्छ । जहाँ कर्मचारीले आफ्नो नेतृत्व, म्यानेजर र कार्यशैलीबारे निर्धक्क प्रतिक्रिया दिन सक्छन् ।
आरती खड्काले कम्पनीमा ग्लोबल रिक्रुटमेन्ट हेर्छिन् । उनले हामीलाई कम्पनीमा चाहिने सीपबारे जानकारी दिइन् । उनका अनुसार लग पोइन्टमा जोडिन चाहनुहुन्छ भने तपाईँमा जाभा, सी, सी प्लस प्लस वा पाइथन जस्ता प्रोग्रामिङ ल्याङ्ग्वेजहरूमा दख्खल हुन आवश्यक छ । तर, सबैभन्दा महत्त्वपूर्ण कुरा 'लर्निङ एटिट्युड' (सिक्ने तत्परता) हो । आरती भन्छिन्, "कोही पनि पूर्ण हुँदैन, तर सुधार गर्ने माइन्डसेट भएको मानिस हामी प्रिफर गर्छौँ ।"
अब हामी त्यो ठाउँमा पुग्छौँ, जहाँबाट विश्वभरका ग्राहकहरूलाई सेवा दिइन्छ । लग पोइन्टको ग्राहक आधार नेपालमा मात्र नभई युरोप र एसियाका धेरै देशहरूमा फैलिएको छ । यहाँ २४ सै घण्टा विभिन्न सिफ्टमा काम चल्छ ।
सपोर्ट सोलुसन इन्जिनियर दिनेश लामिछानेले हामीलाई एउटा रोचक कुरा सुनाए । विभिन्न देशका ग्राहकहरूसँग डिल गर्दा उनीहरूको संस्कृति बुझ्नुपर्ने हुन्छ । उदाहरणका लागि नर्डिक देशका ग्राहकहरू सिधै कामको कुरा गर्न रुचाउँछन् भने इटालीका ग्राहकहरू अलि बढी 'फ्र्याङ्क' र मिलनसार हुन्छन् । यो टिमले ग्राहकका समस्याहरू सुल्झाउने र सफ्टवेयरलाई उनीहरूको आवश्यकता अनुसार अप्टिमाइज गर्ने काम पनि गर्छ ।
भिजिटको क्रममा हामी इन्जिन रुममा पुग्यौँ । जहाँ वास्तवमै सफ्टवेयर निर्माण गरिन्छ । यहाँ इन्जिनियरिङ, प्रोडक्ट र यूएक्स टिमहरू सँगै बसेर कोडिङ गर्छन् । हामीले सात वर्षदेखि यहाँ कार्यरत सिनियर इन्जिनियर आयुष श्रेष्ठलाई भेट्यौँ ।
कलेजबाट सिधै लग पोइन्ट छिरेका आयुषका अनुसार, युनिभर्सिटीमा पढेका कुराहरू शतप्रतिशत सान्दर्भिक छन् । तर त्यसलाई लागु गर्ने तरिका यहाँ आएर सिकिन्छ । उनी नयाँ आउने पुस्तालाई प्रब्लम सल्भिङ (समस्या समाधान गर्ने क्षमता) र फन्डामेन्टल्स (आधारभूत पक्ष) मा ध्यान दिन सल्लाह दिन्छन् ।
त्यहीँ हाम्रो भेट रोशन पोखरेलसँग पनि भयो । जो विगत १४ वर्षदेखि यहाँ कार्यरत छन् । उनी अहिले डारेक्टर अफ प्रोडक्ट सेक्युरिटीको रूपमा काम गर्छन् । एउटै संस्थामा यति लामो समय टिक्नुको रहस्य खोल्दै उनी भन्छन्, "यहाँ हरेक दुई-तीन वर्षमा कामको प्रकृति र जिम्मेवारी परिवर्तन भइरहन्छ, जसले गर्दा काम कहिल्यै 'मोनोटोनस' (उराठलाग्दो) हुँदैन ।"
नेपाल सरकारले सन् २०२४ देखि २०३४ लाई आईटी दशक घोषणा गरेको र १५ लाख जनशक्तिलाई रोजगारी दिने लक्ष्य राखेको छ । यसलाई लिएर चापागाई उत्साहित सुनिए ।
एआईले रोजगारी खोस्छ कि भन्ने प्रश्नमा उनी भन्छन्, "एआईले मानिसलाई रिप्लेस गर्ने होइन, बरु मानिसको क्षमतालाई अभिवृद्धि गर्ने हो । एआई एउटा 'इनेबलर' का रूपमा आउनेछ ।"
लग पोइन्टको भिजिटले नेपालमा बसेर पनि विश्वलाई चुनौती दिन सक्ने प्रविधि निर्माण गर्न सम्भव छ भन्ने कुरा महसुस गरायो । यहाँ केवल सफ्टवेयर मात्र बन्दैन, यहाँ करियर बन्छ, संस्कृति बन्छ र एउटा सुरक्षित डिजिटल भविष्यको आधारशिला राखिन्छ ।
यदि तपाईँ पनि सूचना प्रविधिको यो आकर्षक कम्पनीलाई नजिकबाट नियाल्न चाहनुहुन्छ भने, तलको भिडियो टुर हेर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: पुस १८, २०८२ ११:२४
