खल्ती प्रयोगकर्ताले अब नबिल बैंकको एटीएमबाट नगद निकाल्न पाउने, यस्तो छ प्रक्रिया
पुस १८, २०८२ १६:५४
काठमाडौँ । डिजिटल वालेट खल्तीका प्रयोगकर्ताले अब नबिल बैंकको एटीएम सञ्जाल प्रयोग गरी कार्डबिनै नगद निकाल्न पाउने भएका छन् । यस सेवाका लागि नबिल बैंक र खल्तीबिच हालै औपचारिक सम्झौता भएको छ ।
अब खल्ती प्रयोगकर्ताले देशभर रहेका नबिल बैंकका एटीएमहरूबाट भौतिक कार्डको प्रयोग नगरी (कार्डलेस) खल्ती वालेटमा रहेको रकम नगदका रूपमा झिक्न सक्नेछन् । वालेट र बैंकको एटीएम प्रणालीलाई आपसमा जोडेर ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्न यो सहकार्य गरिएको जनाइएको छ ।
यस सुविधाअन्तर्गत प्रयोगकर्ताले दैनिक अधिकतम पाँच हजार रुपैयाँ र मासिक अधिकतम २५ हजार रुपैयाँसम्म नगद निकाल्न सक्नेछन् ।
नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईंले सम्झौतापछि बैंकको एटीएम नेटवर्कको पहुँच वालेट प्रयोगकर्तासम्म पुगेको बताए । खल्ती वालेटका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नबिल बैंकसँगको सहकार्यलाई डिजिटल अर्थतन्त्र निर्माणको दिशामा एक महत्त्वपूर्ण प्रयास माने ।
नगद निकाल्ने प्रक्रिया:
१. सबैभन्दा पहिले खल्ती एपमा गएर 'कार्डलेस विथड्रल' (Cardless Withdrawal) अप्सनभित्र रहेको 'नबिल कार्डलेस विथड्रल' छनोट गर्नुहोस् ।
२. आफूले निकाल्न चाहेको रकम प्रविष्ट गरी विवरण पुष्टि गर्नुहोस् । त्यसपछि मोबाइलमा एउटा ओटिपी (OTP) कोड आउँछ ।
३. नबिल बैंकको कुनै पनि एटीएममा गएर स्क्रिनमा रहेको ‘कार्डलेस विथड्रल’ विकल्प थिच्नुहोस् ।
४. त्यहाँ वालेट छनोट गरी आफ्नो मोबाइल नम्बर र प्राप्त ओटिपी कोड राख्नुहोस् ।
५. अन्त्यमा, वालेटमा भरेको बराबरकै रकम एटीएममा प्रविष्ट गरेपछि नगद प्राप्त हुनेछ ।
यो सुविधा २४सै घण्टा उपलब्ध हुनेछ । विशेषगरी एटीएम कार्ड नभएको वा बोक्न बिर्सेको अवस्थामा नगद निकाल्नका लागि यो सेवा उत्कृष्ट विकल्प हुने बैंकको विश्वास छ ।
पछिल्लो अध्यावधिक: पुस १८, २०८२ १७:१४
