पीडीएफलाई वर्डमा बदल्नेदेखि एडिट, मर्ज र कम्प्रेस गर्ने एडोबी एक्रोब्याटको निःशुल्क विकल्प
पुस २०, २०८२ १०:२९
काठमाडौँ । सन् १९९० को दशकमा एडोबीले पीडीएफ (पोर्टेबल डकुमेन्ट फर्म्याट) को आविष्कार गरेदेखि नै एडोबी एक्रोब्याट यसको सबैभन्दा लोकप्रिय र भरपर्दो एप मानिदै आएको छ । तर, पछिल्लो समय यसको महँगो सब्सक्रिप्सन शुल्कका कारण प्रयोगकर्ताहरूले निःशुल्क र प्रभावकारी विकल्प खोज्न थालेका छन् ।
एक्रोब्याट स्ट्यान्डर्ड प्लानका लागि हाल मासिक १२.९९ अमेरिकी डलर (करिब १९०० रुपैयाँभन्दा बढी) शुल्क तिर्नुपर्छ । अझ अधिकांश नेपाली प्रयोगकर्ताले यसको क्र्याक भर्सन प्रयोग गरिरहेका हुन्छन् । जसले निम्त्याउने जोखिम पनि उत्तिकै खतरनाक हुन सक्छ ।
चिन्ता नलिनुहोस्, आज हामी तपाईँलाई एडोबी एक्रोब्याटको एउटा राम्रो र निःशुल्क रूपमा उपलब्ध विकल्प बारे बताउँदै छौँ । आईलभपीडीएफ २ (ILovePDF2) नामक यो टुल तपाईँले पूर्ण रूपमा निःशुल्क चलाउन सक्नु हुन्छ र यसका लागि कुनै साइन-अप वा अकाउन्ट बनाउनु पनि पर्दैन ।
यसको निःशुल्क वेब एपमा एडोबी एक्रोब्याटका आधारभूत मात्र नभई धेरै एड्भान्स सुविधाहरू पनि समावेश छन् । यसले पीडीएफलाई वर्ड (Word), पिएनजी (PNG), एक्सेल (Excel), जेपीजी (JPG), जेसन (JSON), एक्सएमएल (XML), यामल (YAML) र पावरपोइन्टमा बदल्न सक्छ । त्यसैगरी, वर्ड, जेपीजी र अन्य फाइलहरूलाई पनि पीडीएफमा रूपान्तरण गर्न सकिन्छ ।
यो एपको सबैभन्दा महत्त्वपूर्ण विशेषता भनेको पीडीएफमा रहेको टेक्स्ट (Text) लाई सिधै क्लिक गरेर परिवर्तन गर्न मिल्नु हो । यसबाहेक, यसमा विभिन्न फन्ट, साइज र रङका टेक्स्टहरू थप्न, बोल्ड वा इटालिक गर्न र विभिन्न आकार (Shapes) तथा लोगोहरू राख्न सकिन्छ ।
यस बाहेक आईलभपीडीएफ २ ले पीडीएफ फाइलहरूलाई मर्ज गर्ने, कम्प्रेस गर्ने, घुमाउने (Rotate) र अलग्याउने (Split) सुविधा पनि दिन्छ ।
कसरी प्रयोग गर्ने ?
यो कुनै डाउनलोड गरिरहनु पर्ने सफ्टवेयर होइन । यसलाई ब्राउजरबाट सिधै प्रयोग गर्न सकिन्छ । यसका लागि सबैभन्प्रदा पहिला ilovepdf2.com वेबसाइटमा गएर पीडीएफ एडिटर (PDF Editor) विकल्प रोज्नुहोस् । त्यसपछि आफ्नो डिभाइसबाट फाइल अपलोड गर्न वा 'ड्र्याग एन्ड ड्रप' गर्न सक्नु हुन्छ ।
पीडीएफ एडिट गरिसकेपछि फाइललाई पीडीएफ, जेपीजी, पिएनजी वा एसभीजी फर्म्याटमा डाउनलोड गर्न सकिन्छ । यसमा कुनै निश्चित पेज मात्र वा पूरै डकुमेन्ट मध्ये कुन डाउनलोड गर्ने भन्ने रोज्ने सुविधा पनि छ ।
तर निःशुल्क भएका कारण यसमा केही सीमितताहरू पनि छन् । यसमा एडोबी एक्रोब्याट जस्तो रिडर छैन । तर आधुनिक ब्राउजरहरूले आफैँ पीडीएफ पढ्ने हुनाले यो कुनै ठुलो समस्या होइन । यसमा आधिकारिक रूपमा डकुमेन्ट 'साइन' गर्ने फिचर छैन । तर 'टेक्स्ट एडिसन' फिचर प्रयोग गरेर काम चलाउन सक्नु हुन्छ । साथै, यसको मोबाइल वा डेस्कटप एप छैन । तर क्रोमियम ब्राउजर र फायरफक्सका लागि ब्राउजर एक्स्टेन्सन भने उपलब्ध छ ।
यदि तपाईँ महँगो एडोबी एक्रोब्याटको विकल्प खोज्दै हुनुहुन्छ भने आईलभपीडीएफ २ एउटा भरपर्दो र सजिलो माध्यम हुन सक्छ । यसको इन्टरफेस धेरै आधुनिक नभए पनि यो छिटो र प्रभावकारी छ ।
पछिल्लो अध्यावधिक: पुस २०, २०८२ १०:५१
