२५० भन्दा बढी वृद्धवृद्धा र बालबालिका आश्रित नीलसागर सेवाश्रममा सुबिसुको निःशुल्क वाई-फाई
पुस २२, २०८२ १०:३०
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नीलसागर सेवाश्रममा निःशुल्क वाई-फाई जडान गरेको छ । नीलसागर सेवाश्रम एक वृद्धाश्रम तथा अनाथाश्रम हो ।
जहाँ हाल २५० भन्दा बढी वृद्ध बुबा-आमा तथा बालबालिकाहरूले आश्रय पाएका छन् । जसमा ८० भन्दा बढी बालबालिका र १५० भन्दा बढी वृद्ध-वृद्धा रहेका छन् ।
सुबिसुले प्रदान गरेको यो निःशुल्क वाई-फाई केवल इन्टरनेटको कनेक्सन मात्र नभई उनीहरूलाई समाज र संसारसँग जोड्ने एउटा महत्त्वपूर्ण माध्यम पनि भएको कम्पनीले जनाएको छ । "यसले सूचना, शिक्षा, मनोरञ्जन र आत्मीय सम्पर्कको अवसर प्रदान गर्दै उनीहरूको दैनिक जीवनलाई सहज बनाउने अपेक्षा गरिएको छ," कम्पनीले भनेको छ ।
सुबिसुले यसै वर्ष कम्पनीले बंशी राम जैसवाल अनाथ आश्रम, गरुडा तथा अमृता अनाथ आश्रम, कलैयामा राहत तथा आवश्यक सामग्री वितरण गरेको थियो । जसमा गरुडाका २३ जना र कलैयाका १७ जना बालबालिकाहरूलाई सहयोग पुर्याउँदै उनीहरूको अनुहारमा मुस्कान ल्याउने सानो प्रयास थियो ।
यसका साथै, सुबिसुले २५ वर्षको अवसरमा धादिङ जिल्लाको बाहिरा विद्यालयमा निःशुल्क इन्टरनेट जडान गरी शिक्षा र प्रविधिलाई जोड्ने पहल समेत गरेको छ । "इन्टरनेट केवल सेवा मात्र नभई अवसर पनि हो । यही मान्यता अनुरूप डिजिटल पहुँचमार्फत समाजको समग्र विकासमा योगदान पुर्याउने दीर्घकालीन प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छौँ," कम्पनीले भनेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय मोहन साउदले भने, "सुबिसुले आफ्नो २५ वर्षको यात्रामा केवल प्रविधि विस्तार मात्र होइन, समाजप्रतिको जिम्मेवारीलाई पनि सँगसँगै अघि बढाउँदै आएको छ । हाम्रो लक्ष्य मानिस र सम्बन्धलाई जोड्नु हो । यस्ता सीएसआर पहलहरू हाम्रो मूल मूल्य र प्रतिबद्धताको प्रतिबिम्ब हुन् ।"
२५ वर्षदेखि इन्टरनेट र टेलिभिजन सेवामार्फत नेपाललाई जोड्दै आएको सुबिसुले आगामी दिनहरूमा पनि समाजप्रति उत्तरदायी रहँदै, डिजिटल पहुँच, शिक्षा र समावेशी विकासका लागि यस्ता पहलहरूलाई निरन्तर रूपमा अगाडि बढाउने जनाएको छ ।
पछिल्लो अध्यावधिक: पुस २२, २०८२ १०:३०
