केटीकै नामको नक्कली फेसबुकबाट ११ वर्षीया बालिकालाई साथी, नग्न फोटो-भिडिओ मागेर ब्ल्याकमेल
पुस २४, २०८२ १९:१४
काठमाडौँ । मोरङको बेलबारी । कक्षा ६ मा पढ्ने ११ वर्षीया बालिका (सम्पदा) को दुनियाँ घर, स्कुल र साथीभाइमा सीमित थियो । हातमा मोबाइल थियो, जसमा उनी फेसबुक चलाउँथिन् । सामाजिक सञ्जाललाई मनोरञ्जन र साथीभाइ जोड्ने माध्यम ठानेकी ती अबोध बालिकालाई थाहा थिएन कि त्यही स्क्रिनभित्र एउटा क्रूर शिकारी उनलाई निल्न कुरिरहेको छ ।
यो कथा केवल एउटा साइबर अपराधको मात्र होइन; यो डिजिटल युगमा हाम्रा बालबालिकाहरू कति असुरक्षित छन् र एउटा फ्रेन्ड रिक्वेस्टले कसरी हँसिलो मुहारलाई आत्महत्याको प्रयाससम्म धकेल्न सक्छ भन्ने डरलाग्दो वास्तविकता पनि हो ।
घटनाको सुरुवात ५ महिना अघिदेखि हुन्छ । बालिकाको फेसबुकमा समि क्षा (Sami Xya) नामक आईडीबाट फ्रेन्ड रिक्वेस्ट आउँछ । प्रोफाइलमा केटीको तस्बिर थियो, नाम पनि केटीकै जस्तो । बालिकाले सहजै रिक्वेस्ट एसेप्ट गरिन् । उनीहरूबिच मेसेन्जरमा कुराकानी सुरु भयो ।
तर, त्यो आईडीको पछाडि कुनै केटी थिइनन् । त्यहाँ थिए- सुदूरपश्चिम प्रदेशको कैलाली, धनगढी उप-महानगरपालिका-१२ जुगेडा बस्ने ३० वर्षीय सन्दिप चन्द ।
सन्दिपले सुरुमा सम्पदाको विश्वास जिते । बिस्तारै कुराकानीको शैली फेरियो । उनले बालिकालाई ललाई-फकाई गरेर डर देखाउन थाले । एकदिन उनले बालिकालाई भिडिओ कलमा आउन बाध्य पारे र शरीरका संवेदनशील अङ्गहरू देखाउन दबाब दिए । "तेरो शरीरको नग्न फोटो र भिडिओ मलाई पठा, नत्र तँलाई र तेरो बाबा-ममीलाई मारिदिन्छु," मेसेन्जरमा आएको यो धम्की ११ वर्षकी बालिकाका लागि मृत्युको फरमान जस्तै थियो ।
डर, त्रास र धम्कीको अगाडि बालिकाको केही लागेन । उनले डरले कामिरहेको हातले आफ्नै शरीरको नग्न तस्बिर र भिडिओ खिचेर पठाइन् । शिकारीको हातमा अब 'हतियार' थियो ।
ब्ल्याकमेलिङको नयाँ अध्याय
बालिकाको नग्न तस्बिर हात पारेपछि सन्दिपको असली रूप बाहिर आयो । उनले आफ्नो प्रोफाइलको नाम परिवर्तन गरेर कहिले सनम ठकुरी त कहिले सफ्टी हार्ट (Softy Heart) बनाउँथे । नाम सफ्टी (नरम) भए पनि उनको नियत ढङ्गाभन्दा कठोर थियो ।
सन्दिपले ती तस्बिरहरू देखाउँदै बालिकालाई निरन्तर ब्ल्याकमेल गर्न थाले । "अब अझै अश्लील भिडिओ पठा, नत्र यो फोटो तेरो टोल छिमेक, स्कुलका साथी र शिक्षकलाई पठाइदिन्छु," उनी धम्क्याउँथे । बालिका जति डराउँथिन्, सन्दिपको मनोबल उति बढ्थ्यो ।
समि क्षाको नाममा फेसबुक चलाउने केटा मान्छे भएको चाल पाएपछि सम्पदाले ब्लक गरिदिइन् । तर, सन्दिप रोकिएनन् । उनले ह्वाट्सएपको सहारा लिए । 'va.. ko xori...', 'ra...i...', 'ma....e...' जस्ता अत्यन्तै तल्लो स्तरका र छाडा गालीहरू लेखेर सन्दिपले बालिकाको मानसिक सन्तुलन खलबलाई दिए । उनले लेखेका थिए, "तँ अब धेरै दिन बाँच्दैनस् ।"
त्यतिले नपुगेर सन्दिपले बालिकाका मिल्ने साथीहरू सुनिता, सरिता (परिवर्तित नामहरू) र अन्य साथीहरूलाई समेत ती नग्न तस्बिर र भिडिओहरू पठाउन थाले । साथीभाइको बीचमा आफ्नो इज्जत गएको र चरित्र हत्या भएको महसुस गरेपछि ११ वर्षीया सम्पदाको मन मस्तिष्कले काम गर्न छाड्यो । उनले सोचिन्- अब मर्नु बाहेक अर्को विकल्प छैन ।
अदालतमा पेस गरिएको अभियोग पत्र अनुसार, निरन्तरको मानसिक यातना र बदनामीको डरले ती बालिकाले आत्महत्याको प्रयास समेत गरिन् । तर, संयोगले आमाले थाहा पाइन् र एउटा ठुलो दुर्घटना टर्यो । आमाले छोरीको पिडा बुझिन् र लुकाउनुको साटो न्यायको ढोका ढकढकाउने निर्णयमा पुगिन् ।
साइबर ब्युरोको 'अपरेसन'
पीडित परिवारले काठमाडौँस्थित साइबर ब्युरोमा जाहेरी दियो । प्रहरी नायब निरीक्षक राधिका ठकुरीको नेतृत्वमा अनुसन्धान सुरु भयो । साइबर दुनियाँमा अपराधीले जतिसुकै लुक्ने प्रयास गरे पनि 'डिजिटल फुटप्रिन्ट' मेट्न सक्दैन ।
प्रहरीले सफ्टी हार्टको फेसबुक विवरण र आईपी एड्रेस ट्र्याक गर्यो । फेसबुकबाट प्राप्त विवरण र इन्टरनेट सेवा प्रदायक भायानेटको रेकर्ड भिडाउँदा लोकेसन देखियो- कैलालीको धनगढी ।
त्यो आईपी एड्रेस मीरा चन्दको नाममा थियो । तर प्रयोगकर्ता थिए- सन्दिप चन्द । प्रहरीले शङ्कास्पद व्यक्तिको फोटो मगाएर अनुसन्धान अघि बढायो । पुष्टि भयो, ती ३० वर्षीय युवक नै त्यो अबोध बालिकाको निन्द्रा खोस्ने सफ्टी हार्ट थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा प्रहरी टोली सन्दिपको घर पुग्यो । उनी घरको आँगनमा कुर्सीमा बसिरहेका थिए । उनले लगाएको टाउजरको दाहिने खल्तीमा रहेको मोबाइल बरामद भयो । त्यही मोबाइल, जसबाट उनले सयौँ किलोमिटर टाढा रहेकी एक अबोध बालिकाको जीवन नर्क बनाएका थिए ।
सन्दीपको बयान- केटी साथी बनाउने रहर
प्रहरी नियन्त्रणमा आएपछि सन्दिप चन्दले आफ्नो अपराध स्वीकार गरे । उनको बयानले हाम्रो समाजको विकृत मानसिकतालाई उदाङ्गो पारिदिएको छ ।
उनले भने, "वास्तविक नामबाट अकाउन्ट खोल्दा केटीहरूले फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्दैनन् । केटी साथीहरूसँग बोल्ने इच्छाले मैले केटीको नाममा सनम ठकुरी, सफ्टी हर्ट जस्ता फेक आईडी बनाएको हुँ ।"
जब बालिकाले भिडिओ पठाउन मानिनन्, तब आफूले डर देखाउन थालेको उनले बताएका छन् । उनका अनुसार जब बालिकाले ब्लक गरिन्, प्रतिशोध लिन उनले ती अश्लील फोटो-भिडिओ बालिकाका साथीहरूलाई पठाइदिए । "रिसको झोकमा मैले गालीगलौज गरेँ र साथीहरूलाई फोटो पठाइदिएँ," सन्दिपले बयानमा भनेका छन् । तर, उनको यो रिस र रहरले एक बालिकालाई जीवनभर निको नहुने मानसिक घाउ दिएको छ ।
अब कानुनको कठघरामा
अहिले सन्दिप चन्द विरुद्ध काठमाडौँ जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर भएको छ । सरकारी वकिल कार्यालयले उनलाई दफा ४७ बमोजिम अधिकतम सजाय (१ लाख रुपैयाँ जरिबाना वा ५ वर्ष कैद वा दुवै) को माग गरेको छ । साथै, पीडित बालिकालाई पुगेको मानसिक यातना र क्षतिको आधारमा क्षतिपूर्ति भराउन पनि मागदाबी लिइएको छ ।
अभियोग पत्रमा स्पष्ट लेखिएको छ- सन्दिप चन्दले प्रविधिको दुरुपयोग गरी बालिकालाई हैरान गर्ने, अपमान गर्ने र आत्महत्याको बाध्यात्मक स्थितिसम्म पुर्याउने जघन्य अपराध गरेका छन् ।
यो घटना सन्दिप चन्द र सम्पदाबिचको मात्र होइन । यो हरेक अभिभावकको लागि एउटा गम्भीर चेतावनी पनि हो । आफ्ना बालबालिकाको हातमा स्मार्ट डिभाइस थमाइ दिँदा हामीले उनीहरूलाई कस्तो संसारमा प्रवेश गराइरहेका छौँ ?
के तपाईँलाई थाहा छ, तपाईँका छोराछोरीको फेसबुक फ्रेन्ड को-को हुन् ? के उनीहरू डराएका, आत्तिएका वा एकोहोरो भएका छन् ?
११ वर्षीया बालिकाले समयमै आमाको साथ नपाएको भए आज यो कथाको अन्त्य अर्कै हुन सक्थ्यो । सन्दिप चन्द जस्ता डिजिटल सिकारीहरू समाजमा सफ्टी हार्ट वा क्युट एन्जलको भेषमा लुकेर बसेका हुन्छन् । तिनलाई चिन्न र बालबालिकालाई जोगाउनु आजको ठुलो चुनौती हो ।
कानुनले सन्दिपलाई सजाय त देला, तर ती बालिकाको कलिलो मस्तिष्कमा परेको आघात मेटिन कति समय लाग्ला ? यो प्रश्नले हामी सबैलाई झस्काइरहनेछ ।
पछिल्लो अध्यावधिक: पुस २४, २०८२ १९:१४
