close

नेपालका सरकारी वेबसाइट ह्याक गर्ने ‘काजु’ समूहको माग - भेनेजुएलाका राष्ट्रपति मदुरोलाई रिहा गर

टेकपाना टेकपाना

पुस २५, २०८२ १५:५३

नेपालका सरकारी वेबसाइट ह्याक गर्ने ‘काजु’ समूहको माग - भेनेजुएलाका राष्ट्रपति मदुरोलाई रिहा गर

काठमाडौँ । विगत केही महिनादेखि नेपालका विभिन्न सरकारी निकायका वेबसाइटमा शृङ्खलाबद्ध साइबर आक्रमण गर्दै आएको ह्याकर समूह ‘काजु’ (Kazu) ले अहिले आएर अन्तर्राष्ट्रिय राजनीति सम्बन्धी माग अघि सारेको छ । मङ्गलबार मेसेजिङ प्लेटफर्म टेलिग्राममार्फत एक सन्देश जारी गर्दै उक्त समूहले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको रिहाइको माग गरेको हो ।

नेपालका संवेदनशील सरकारी डेटा चोरी गरी डार्क वेबमा बिक्रीमा राख्दै आएको यो समूहले पछिल्लो समय मदुरोको समर्थनमा आवाज उठाएको छ ।

यस्तो छ ‘काजु’ को पृष्ठभूमि र नेपालमा गरेका आक्रमण
नेपालको साइबर सुरक्षा क्षेत्रमा ‘काजु’ नयाँ नाम होइन । यही समूहले केही महिनाअघि नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक गरेको दाबी गर्दै सात हजार डलरमा डेटा बिक्रीका लागि राखेको थियो । 

प्रहरीले आफ्नो प्रणाली सुरक्षित रहेको बताएपछि चुनौती स्वरूप यस समूहले थप ८ जीबी डेटा लिक गरिदिएको थियो । त्यस्तै, लुम्बिनी प्रदेश लोक सेवा आयोगको वेबसाइट प्रयोग गर्ने करिब तीन लाख प्रयोगकर्ताको डेटा आफूसँग रहेको दाबी गर्दै काजु समूहले केही व्यक्तिका संवेदनशील विवरण प्रमाणका रूपमा सार्वजनिक गरेको थियो ।

त्यसैगरी यो समूहले शिक्षा मन्त्रालयको वेबसाइट ह्याक गरी १.४ टेराबाइट डेटा डार्क वेबमा बिक्रीका लागि राखेको घोषणा गरेको थियो । यीबाहेक अन्य गैरसरकारी निकायका वेबसाइट पनि यो समूहको कब्जामा परेका थिए ।

‘काजु’ नामक यो ह्याकर समूह नेपालमा मात्र सीमित छैन । यसले नेपाल बाहेक कोलम्बिया, साउदी अरेबिया, केन्या, अमेरिका, थाइल्यान्ड, कवेत, चीन र दुबई लगायतका देशमा पनि साइबर आक्रमण गर्दै डार्क वेबमा डेटा बिक्री गर्दै आएको देखिन्छ ।

पछिल्लो अध्यावधिक: पुस २५, २०८२ १५:५७