अर्काको कम्पनीको कागजात दुरुपयोग गरी १९ वर्षे युवकले खोले इसेवा मर्चेन्ट वालेट, १ करोड बढी कारोबार
पुस २५, २०८२ १६:५२
काठमाडौँ । कम्पनीको कागजात दुरुपयोग गरी इसेवा मार्फत कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कीर्तिपुर ७ का १९ वर्षीय क्रमिक उप्रेतीलाई उक्त आरोपमा पक्राउ गरेको हो ।
उनले वाइड-स्पेस इन्टरनेसनल प्रालिको नाममा आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजातको दुरुपयोग गरी इसेवा मर्चेन्ट वालेट र इसेवा वालेट खोलेको बताइएको छ । गैरकानुनी रूपमा आर्थिक कारोबार गरेको भन्ने ब्यहोराको उजुरी प्राप्त भएपछि कार्यालयले अनुसन्धान थालेको थियो ।
त्यस क्रममा उप्रेतीले इसेवा मर्चेन्ट आईडीबाट ५६ लाख ३३ हजार ६०४ रुपैयाँ र इसेवा वालेटबाट ५६ लाख ३१ हजार ६०४ रुपैयाँ गरी कूल एक करोड १२ लाख ६५ हजार २०८ रुपैयाँको कारोबार गरेको भेटिएको हो । गैरकानुनी कारोबारमा संलग्नता खुलेपछि उप्रेतीलाई ल्यापटप, मोबाइल, विभिन्न नम्बरका सिम कार्ड, पेन ड्राइभ, स्मार्ट सिम कार्ड र मेमोरी कार्ड सहित पक्राउ गरिएको कार्यालयले जनाएको छ ।
उनलाई बैङ्किङ कसुर र सट्टेबाजी जन्य कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
पछिल्लो अध्यावधिक: पुस २५, २०८२ १६:५२
