close

नेपाली विद्यार्थीले बनाएको स्याटलाइट अन्तरिक्षमा जाँदै, स्वदेशमै विकसित SSoCको परीक्षण पनि हुने

टेकपाना टेकपाना

पुस २५, २०८२ १७:२३

नेपाली विद्यार्थीले बनाएको स्याटलाइट अन्तरिक्षमा जाँदै, स्वदेशमै विकसित SSoCको परीक्षण पनि हुने

काठमाडौँ । उच्च माध्यमिक तहमा पढ्दै गरेका विद्यार्थीको सहभागितामा बनेको मुनाल स्याटलाइट यही १२ जनवरीमा अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले अन्तरिक्ष प्रतिष्ठान नेपाल  र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) सँग मिलेर यो स्याटलाइट बनाएको हो । 

सोही स्याटलाइट १२ जनवरी २०२६ का दिन नेपाली समय अनुसार बिहान १० बजेर ३२ मिनेटमा भारतको सतीश धावन अन्तरिक्ष केन्द्रबाट रकेटमा राखेर लञ्च गर्न लागिएको अन्तरिक्ष प्रतिष्ठान नेपालका निर्देशक तथा वैज्ञानिक आभास मास्केले टेकपानालाई जानकारी दिए । यसका लागि नेपाली टोलीका केही सदस्य भारत गइसकेका छन् भने केही जाने तयारीमा छन् । यो स्याटलाइट ८ सय किलोमिटर माथिको क्षेत्रमा घुम्नेछ ।
आफ्नै संस्थाभित्र विकसित गरिएको मुनाल स्याटलाइटको प्रक्षेपणसँगै नेपालको अन्तरिक्ष कार्यक्रमले ऐतिहासिक उपलब्धि हासिल गर्न लागेको नास्टले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा सम्पन्न यो परियोजनाले स्वदेशी अन्तरिक्ष क्षमता विकासमा नेपालले गरेको ठोस प्रगति देखिएको नास्टको भनाई छ ।

इसरोसँगको सहकार्यको आधार सन् २०२४ मा भारतका विदेशमन्त्री डा एस जयशंकरको नेपाल भ्रमणका क्रममा औपचारिक रूपमा स्थापित भएको थियो । ४-६ जनवरी २०२४ मा सम्पन्न भारत-नेपाल संयुक्त आयोगको सातौँ बैठकमा अन्तरिक्ष सहकार्य सम्बन्धी समझदारीलाई थप सुदृढ बनाइएको थियो ।

मुनाल एक क्युबस्याट हो, जसको डिजाइन र निर्माण नेपालकै पहिलो स्पेस सिस्टम्स ल्याबमा दुई वर्ष लगाएर गरिएको हो । यो ल्याब काठमाडौँ विश्वविद्यालय हाई स्कुल (KUHS) मा अवस्थित छ । परियोजनामा काठमाडौँ विश्वविद्यालय हाई स्कुल, चैतन्य माध्यमिक विद्यालय, आजाद माध्यमिक विद्यालय र सञ्जीवनी मोडेल उच्च माध्यमिक विद्यालयका नौ जना विद्यार्थीहरूले काम गरेका छन् । उनीहरूलाई नेपाली इन्जिनियरहरूले प्राविधिक सहयोग गरेका थिए ।

मुनाल  स्याटलाइटले अन्तरिक्षमा पुगेपछि दुई वटा क्यामेरामार्फत वनस्पति तथा हरियालीको अनुगमन गर्नेछ । यही स्याटलाइटमार्फत स्वदेशमै विकसित स्याटलाइट सिस्टम अन चिप (SSoC) को परीक्षण हुनेछ । जसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित डेटा प्रोसेसिङको प्रदर्शन पनि गर्नेछ । स्याटलाइटको सम्पूर्ण सञ्चालन खुमलटारस्थित नास्टको ग्राउन्ड स्टेसनबाट गरिनेछ।

नास्टका उपकुलपति प्राडा दिलीप सुब्बाले भने,  “हामी केवल एउटा उपग्रह प्रक्षेपण गरिरहेका छैनौँ, नेपाली युवाको आकाङ्क्षा र करियर पनि प्रक्षेपण गरिरहेका छौँ । यो ऐतिहासिक क्षणले नेपाललाई अन्तरिक्ष क्षेत्रमा लाभग्राहीबाट सक्रिय योगदानकर्तामा रूपान्तरण गर्ने सङ्केत गर्दछ।”

त्यस्तै नास्टकै सचिव डा रवीन्द्रप्रसाद ढकालले युवाको सशक्तीकरणबारे जोड दिँदै भने, “हामी युवालाई भविष्यका ‘स्पेस मेकर’ का रूपमा स्वागत र समर्थन गरिरहेका छौँ । नास्टको ग्राउन्ड स्टेसनबाट मुनाल उपग्रह सञ्चालन गर्नु हाम्रो प्रतिबद्धताको प्रमाण हो । भविष्यमा अन्तरिक्ष क्षेत्रमा नवप्रवर्तन र नयाँ उद्योग विकास गर्न स्टार्टअप कम्पनीहरूसँग सहकार्य गर्ने हाम्रो लक्ष्य छ ।”

अन्तरिक्ष प्रतिष्ठान नेपालका निर्देशक तथा परियोजनाका प्रमुख विकासकर्ता डा आभास मास्केले मुनाल परियोजना अन्तरिक्ष इकोसिस्टम विकासतर्फको पहिलो महत्त्वपूर्ण कदम भएको बताएका छन् ।  उनले भने, “हामी यो ज्ञानलाई संस्थागत गर्दै नेपाली इन्जिनियर र नवप्रवर्तकलाई नास्ट तथा अन्य सरकारी मिसनहरूमा योगदान गर्ने स्पष्ट मार्ग तयार गर्न चाहन्छौँ, जसले नेपालको भविष्य अन्तरिक्ष क्षेत्रमा हाम्रो मानव पुँजीले नै अघि बढाओस् ।”

 

पछिल्लो अध्यावधिक: पुस २५, २०८२ १७:२३