बालेन विरुद्ध चुनाव लड्न खोजेको भन्दै सामाजिक सञ्जालमा आशिका तामाङ आलोचित, भन्छिन्- महिला अघि बढ्दा किन अङ्कुश?
पुस २६, २०८२ ११:७
काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी सामाजिक अभियन्ता आशिका तामाङले सामाजिक सञ्जालमा आलोचना र मिश्रित प्रतिक्रियाको सामना गरेकी छिन् । काठमाडौँ क्षेत्र नम्बर २ वा ९ बाट स्वतन्त्र चुनाव लड्ने बताएकी तामाङले आफ्नो उम्मेदवारीलाई लिएर नकारात्मक टिप्पणी गर्नेलाई लक्षित गर्दै महिला नेतृत्वलाई समाजले अझै स्वीकार गर्न नसकेको गुनासो गरेकी हुन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेकी तामाङले कुनै पनि राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमा संसद्को यात्रा तय गर्ने बताएकी थिइन् । उनले आफ्ना समर्थकको राय र आत्ममन्थनपछि यो निर्णय लिएको बताए पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले भने उनको कदमको आलोचना गरेका छन् ।
विशेषगरी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) रास्वपाबाट उठ्न सक्ने चर्चाका बीच तामाङले सोही क्षेत्र रोज्नुलाई कतिपयले बालेनलाई चुनौती दिन खोजेको रूपमा व्याख्या गरेका छन् ।
आलोचकले उनलाई स्वतन्त्र उठ्नुको साटो कुनै वैकल्पिक राजनीतिक शक्तिमा आबद्ध हुन सुझाव दिएका छन् । उम्मेदवारी घोषणापछि सुरु भएको नकारात्मक टिप्पणीको लहरलाई लिएर तामाङले शनिबार अर्को पोस्ट गर्दै जवाफ फर्काएकी छिन् । उनले महिलाहरू राजनीतिमा आउन खोज्दा समाजले अङ्कुश लगाउन खोजेको आरोप लगाएकी छिन् ।
“यो समाजले सधैँभरि नारीहरूलाई पुरुषको वरिपरि आरती बोकेर घुमेको मात्र हेर्न चाहन्छ,” उनले लेखेकी छिन्, “जतिसुकै दुख कष्ट भोगेर भोक, निन्द्रा, प्यास र परिवारप्रति आफ्नो दायित्व त्यागेर, हर समय हर क्षण, मात्र समाज सम्झेर मुटु नै निकालेर दिए पनि, अन्तिममा रोज्ने भनेको हप्ता दिनमा एकपल्ट उठेर हाई काट्ने पुरुषलाई नै हो ।”
उनले सोधेकी छिन्, “सभापति पुरुष, उपसभापति पुरुष, केन्द्रीय सदस्य पुरुष, पदाधिकारी पुरुष, अध्यक्ष पुरुष, उपाध्यक्ष पुरुष अनि एउटा महिला नेपालभरिको मुद्दा बोकेर सांसदमा आवाज उठाउँछु भन्दा किन लगाउन खोज्ने अङ्कुश ?”
आफू व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, परिवार र सुखसुविधा त्यागेर समाजका लागि खटिए पनि समाजले अझै पनि पुरुष नेतृत्वलाई मात्र पुज्ने मानसिकता राखेको उनको तर्क छ । आफू दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिने सङ्केत दिँदै उनले महिलाले नेतृत्व लिँदा बाधा पुर्याउन खोज्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाएकी छिन् ।
अहिलेको प्रस्थितिमा स्वतन्त्र उम्मेदवारीभन्दा नयाँ वैकल्पिक राजनीतिक शक्तिमा आबद्ध भए बढी सार्थक हुने केहीको तर्क छ ।
पछिल्लो अध्यावधिक: पुस २६, २०८२ ११:७
