काठमाडौँ । एलन मस्कले सामाजिक सञ्जाल प्लेटफर्म एक्सको रेकमन्डेसन एल्गोरिदम (Recommendation Algorithm) लाई आगामी सात दिनभित्र सार्वजनिक (Open Source) गर्ने घोषणा गरेका छन् । शनिबार एक्समा एक पोस्ट गर्दै मस्कले नयाँ एल्गोरिदमका साथै प्रयोगकर्ताहरूलाई अर्गानिक र विज्ञापन पोस्टहरू सुझाउन प्रयोग गरिने सबै कोडहरू सार्वजनिक गरिने जानकारी दिएका हुन् ।
मस्कका अनुसार यो केवल एक पटकको प्रयास मात्र हुने छैन । कम्पनीले प्रत्येक चार हप्तामा एल्गोरिदमको अपडेटेड कोड सार्वजनिक गर्नेछ । यसका साथै कुन पक्षमा के परिवर्तन भयो भन्ने कुरा बुझ्न मद्दत पुर्याउन विस्तृत डेभलपर नोट्स (Developer Notes) पनि उपलब्ध गराइने उनले बताएका छन् ।
मस्कले सन् २०२३ मा पनि एक्स (तत्कालीन ट्विटर) को फर यु (For You) फिडको कोड गिटहब (GitHub) मा सार्वजनिक गरेका थिए तर, त्यतिबेलाको विश्लेषणले सो कोड अपूर्ण रहेको र धेरै महत्त्वपूर्ण विवरणहरू छुटेको देखाएको थियो । त्यसयता सो कोड अपडेट पनि गरिएको थिएन । यस पटक भने मस्कले पूर्ण कोड र नियमित अपडेटको वाचा गरेका छन् ।
एल्गोरिदम सार्वजनिक गर्ने यो निर्णय यस्तो समयमा आएको छ, जब एक्सले विश्वभर कानुनी चुनौतीहरूको सामना गरिरहेको छ । एक्सको च्याटबट 'ग्रोक' ले प्रयोगकर्ताको अनुरोधमा बाल यौन दुर्व्यवहार सामग्री सिर्जना गरेको र महिलाहरूको मन्जुरी विना नग्न तस्बिरहरू बनाउन प्रयोग भएको खुलासा भएपछि एक्समाथि जवाफदेहीताको दबाब अझ बढेको छ ।
मस्कको यो कदमलाई नियामक निकायहरूको दबाब कम गर्ने र प्रयोगकर्ताहरू माझ आफ्नो निष्पक्षता प्रमाणित गर्ने रणनीतिको रूपमा हेरिएको छ । यदि यो वाचा पुरा भएमा प्रयोगकर्ताहरूले आफ्नो टाइमलाइनमा कुन पोस्ट किन देखिन्छ र विज्ञापनहरू कसरी लक्षित गरिन्छन् भन्ने कुराको प्राविधिक आधार बुझ्न पाउनेछन् ।
पछिल्लो अध्यावधिक: पुस २७, २०८२ १६:५९
