विश्वका २ ठुला एडटेक कम्पनी कोर्सेरा र उडेमीबिच मर्जर सम्झौता, मूल्य ३ खर्ब ६० अर्ब
पुस २७, २०८२ १८:८
काठमाडौँ । शैक्षिक प्रविधि (एडटेक) का दुई दिग्गज कम्पनी कोर्सेरा (Coursera) र उडेमी (Udemy) बीच मर्जर (गाभिने) सम्झौता भएको छ । करिब २.५ अर्ब अमेरिकी डलर (साढे २ अर्ब डलर) मूल्य बराबरको यो सम्झौतालाई अनलाइन शिक्षाको क्षेत्रमा नयाँ आयामको रुपमा हेरिएको छ ।
यो सम्झाैता पूर्ण रूपमा अल-स्टक (all-stock) कारोबार हो, जसमा कोर्सेराले उडेमीलाई प्राप्त प्राप्ति (acquire) गर्नेछ । कम्पनीका अनुसार यो मर्जर प्रक्रिया सन् २०२६ को उत्तरार्ध (दोस्रो अर्धवार्षिक) अवधिमा पुरा हुनेछ । यद्यपि, यसका लागि नियामक निकायहरूको समीक्षा र शेयरधनीहरूको स्वीकृति अनिवार्य हुनेछ ।
यो मर्जर दुवै कम्पनीका लागि चुनौतीपूर्ण समयमा आएको छ । सन् २०२५ को तेस्रो त्रैमासिकमा दुवै कम्पनीले आम्दानीमा वृद्धि गरेको देखाए पनि, उनीहरूको शेयर मूल्यमा भने गिरावट आएको थियो । यसले यी प्लेटफर्महरूप्रति लगानीकर्ताहरूको विश्वास कम हुँदै गएको सङ्केत गरेको थियो ।
जसका कारण संयुक्त कम्पनी बनाएर शेयरधनीहरूलाई आश्वस्त पार्न खोजिएको हो । दुवै प्लेटफर्मको शक्तिलाई एक ठाउँमा ल्याउँदा तत्काल प्रतिफल र दीर्घकालीन वृद्धिको सम्भावना रहने उनीहरूको विश्वास छ । उडेमीका सीईओ ह्युगो साराजिनले यो संयोजनले विद्यार्थी, उद्यमी ग्राहक र प्रशिक्षकहरूका लागि अर्थपूर्ण फाइदा पुर्याउने र शेयरधनीहरूलाई महत्वपूर्ण मूल्य प्रदान गर्ने बताएका छन् ।
अनलाइन शिक्षाको बजारमा विशेष गरी एआको बढ्दो प्रयोगसँगै यो मर्जरले एआईमा आधारित उत्पादनहरू निर्माण गर्ने योजनालाई गति दिने साराजिनले बताएका छन् । कार्यस्थलमा एआई साक्षरता अनिवार्य आवश्यकता बन्दै गएको सन्दर्भमा यो मर्जरले उनीहरूलाई बलियो स्थितिमा राख्नेछ ।
हालैका तथ्याङ्क अनुसार एआई सीप आवश्यक पर्ने रोजगारीका विज्ञापनहरूमा ठुलो वृद्धि भएको छ । त्यस्तै अर्को एक सर्वेक्षण अनुसार प्रत्येक तीनमध्ये एक म्यानेजर पदको भर्ना (hiring manager) मा एआई सीप नभएका उम्मेदवारहरूलाई विचार समेत गरिँदैन ।
कोर्सेराका सीईओ ग्रेग हार्टका अनुसार एआईले हरेक उद्योग र हरेक कामको लागि आवश्यक सीपलाई पुन: परिभाषित गरिरहेको यो निर्णायक क्षणमा नयाँ सीपहरू सिक्नका लागि एउटा सशक्त प्लेटफर्मको आवश्यकता छ ।
मर्जरको घोषणा हुनुभन्दा अगाडि नै दुवै कम्पनीले एआईमा लगानी बढाइसकेका छन् । कोर्सेराले हालै मात्र ओपनएआईको च्याटजीपीटी एप इकोसिस्टम र एन्थ्रोपिकसँग कन्टेन्ट साझेदारीको घोषणा गरेको थियो ।
त्यस्तै यो घोषणा हुनुभन्दा दुई दिन अघि मात्र उडेमीले आफ्नो नयाँ 'एआई-पावर्ड माइक्रो-लर्निङ अनुभव' सार्वजनिक गरेको थियो, जसले विद्यार्थीहरूलाई छोटो र व्यक्तिगत पाठहरू उपलब्ध गराउँछ ।
कोर्सेरा र उडेमीको यो मिलनले विश्वभरका लाखौँ विद्यार्थी र प्रोफेसनलहरूका लागि एउटै थलोबाट गुणस्तरीय शिक्षा र भविष्यका लागि आवश्यक एआई सीपहरू प्राप्त गर्ने बाटो खोल्ने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: पुस २७, २०८२ १८:८
