काठमाडौँ । नेपाली स्याटलाइट मुनालको अन्तरिक्ष प्रक्षेपण असफल भएको छ । भारतको सतीश धावन अन्तरिक्ष केन्द्रबाट रकेटमा राखेर आज सोमबार स्याटलाइट लन्च गरेपनि बिचैमा असफल हुन पुगेको हो ।
तेस्रो चरणमा पुगेपछि प्रक्षेपण असफल भएको अन्तरिक्ष प्रतिष्ठान नेपालका निर्देशक तथा वैज्ञानिक आभास मास्केले टेकपानालाई जानकारी दिए ।
‘पेलोड डिप्लोय हुनुअघि नै तेस्रो चरणमा समस्या आएको देखिन्छ । आधिकारिक रूपमा असफल भयो भनिएको छैन । तर हामीले हेर्दा यसलाई असफल नै भन्नुपर्ने हुन्छ,’ मास्केले भने ।
उक्त स्याटलाइट उच्च माध्यमिक तहमा पढ्दै गरेका विद्यार्थीको सहभागितामा बनाइएको थियो । जसमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), अन्तरिक्ष प्रतिष्ठान नेपाल र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को सहकार्य रहेको थियो ।
सफलतापूर्वक प्रक्षेपण भएको भए यो स्याटलाइट ८ सय किलोमिटर माथिको कक्षमा घुम्ने लक्ष्य लिइएको थियो ।
मुनाल एक क्युबस्याट हो, जसको डिजाइन र निर्माण नेपालकै पहिलो स्पेस सिस्टम्स ल्याबमा दुई वर्ष लगाएर गरिएको हो ।
यो ल्याब काठमाडौँ विश्वविद्यालय हाई स्कुल (KUHS) मा अवस्थित छ । परियोजनामा काठमाडौँ विश्वविद्यालय हाई स्कुल, चैतन्य माध्यमिक विद्यालय, आजाद माध्यमिक विद्यालय र सञ्जीवनी मोडेल उच्च माध्यमिक विद्यालयका नौ जना विद्यार्थीहरूले काम गरेका थिए । उनीहरूलाई नेपाली इन्जिनियरहरूले प्राविधिक सहयोग गरेका थिए ।
पछिल्लो अध्यावधिक: पुस २८, २०८२ १२:२२
