एड्भाइजरी विपरीत उपसचिवको व्यक्तिगत ईमेलमा ई-कमर्स निर्देशिकाको सुझाव लिँदै उद्योग मन्त्रालय
पुस २८, २०८२ १२:३७
काठमाडौँ । जुनसुकै सरकारी कार्यालयहरूले सहज रूपमा केन्द्रीकृत ईमेल प्रणाली लिएर सेवा प्रवाह गर्न सक्ने भए पनि सरकारी काममा व्यक्तिगत ईमेल प्रयोग गर्ने अभ्यास रोकिएको छैन । केन्द्रीकृत ईमेल प्रणाली नेपालमा रहेका जुनसुकै सरकारी कार्यालयले सहज रूपमा एकीकृत डेटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) बाट प्राप्त गरेर प्रयोग गर्न सक्ने भए पनि त्यसलाई नजरअन्दाज गर्ने गरेका छन् ।
यसैबिच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय व्यापार (ई-कमर्स) निर्देशिकाको मस्यौदा उपर राय सुझाव सङ्कलन गर्न कर्मचारीको व्यक्तिगत ईमेल ठेगाना प्रयोग गरेको भेटिएको छ ।
मन्त्रालयले सरकारी संयन्त्रको डेटाको सुरक्षा, गोपनीयता, ब्रान्डिङ लगायत दृष्टिकोणले निर्माण गरेको प्रणालीलाई छल्दै कर्मचारीको व्यक्तिगत ईमेल प्रयोग गरेको हो । सुझावका लागि सार्वजनिक गरिएको व्यक्तिगत ईमेल मन्त्रालयको उपभोक्ता हित संरक्षण तथा समन्वय शाखामा कार्यरत उपसचिव विशाल सापकोटाको रहेको बुझिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले जारी गर्ने गरेको साइबर सुरक्षा एडभाइजरीले समेत औपचारिक सञ्चारका लागि कुनै पनि अनधिकृत वा बाह्य ईमेल सेवा प्रयोग नगर्न स्पष्ट रूपमा भनेको छ । तर, उद्योग मन्त्रालयले आफ्नो महत्त्वपूर्ण औपचारिक काममा समेत व्यक्तिगत वा बाह्य ईमेल प्रयोग गरेको हो ।
सङ्घीयदेखि प्रदेश र स्थानीय सरकारका निकायहरूले समेत औपचारिक कामका लागि आफ्नो डोमेनसहितको ईमेल ठेगाना प्रयोग गर्नुको साटो कर्मचारीका व्यक्तिगत ईमेल प्रयोग गर्ने गरेका छन् । उद्योग मन्त्रालयका सहसचिव तथा प्रवक्ता नेत्र प्रसाद सुवेदीले औपचारिक काममा सरकारी ईमेल प्रयोग गर्नुपर्ने विषयमा सुधारको अपेक्षा व्यक्त गरेका छन् ।
“सरकारी काममा आधिकारिक सरकारी ईमेल प्रयोग गरेको भए राम्रो हुन्थ्यो । यसलाई हामीले सुझावको रूपमा ग्रहण गर्दै सुधारको अपेक्षा गर्छौँ । म सम्बन्धित शाखा तथा व्यक्तिलाई फिडब्याकको रूपमा लिएर सुधार गर्न प्रयास गर्छु,” सुवेदीले भने ।
पछिल्लो अध्यावधिक: पुस २८, २०८२ १२:३७
