अन्नपूर्ण पोस्ट छाडेको ६ दिनमै सञ्चारमन्त्रीको सिफारिसमा गोरखापत्रको अध्यक्ष बने अखण्ड भण्डारी
पुस २८, २०८२ १७:६
काठमाडौँ । अन्नपूर्ण पोस्टको प्रधान सम्पादकबाट बाहिरिएको ६ दिनमै सरकारले गोबिन्दप्रसाद भण्डारी (अखण्ड) लाई गोरखापत्र संस्थानको अध्यक्षमा नियुक्त गरेको छ । २२ पुसमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भण्डारीलाई बिदाइ गर्दै प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष बालकृष्ण बस्नेतलाई प्रधान सम्पादकको रूपमा भित्र्याएका थिए ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गोरखापत्र संस्थानको अध्यक्ष पदमा भक्तपुरका भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए । मन्त्री खरेलकै सिफारिसमा भण्डारी गोरखापत्रमा नियुक्त भएका हुन् ।
यसअघि ११ असोज २०७८ मा गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त भएका अन्नपूर्णकै पूर्व अनलाइन सम्पादक विष्णुप्रसाद सुवेदी चार वर्षे कार्यकाल सकेर गत असोजमा बिदा भएका थिए ।
पछिल्लो अध्यावधिक: पुस २८, २०८२ १७:६
