close

राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा ब्लु चेकमार्क सहित नक्कली फेसबुक पेज, यसरी फैलाउँदैछ भ्रम

टेकपाना टेकपाना

पुस २९, २०८२ १९:२३

राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा ब्लु चेकमार्क सहित नक्कली फेसबुक पेज, यसरी फैलाउँदैछ भ्रम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नामबाट नीलो रङ्गको ‘भेरिफाइड’ चेकमार्कसहितको एउटा नक्कली फेसबुक पेज सक्रिय रहेको पाइएको छ । देवनागरी (नेपाली) लिपिमा नाम राखिएको उक्त पेजले पार्टीको नाम र लोगो प्रयोग गर्दै भ्रामक तथा मिथ्या सूचनाहरू फैलाइरहेको छ ।

झन्डै सात हजार फलोअर भएको उक्त नक्कली पेजमा पोस्ट हुने अधिकांश सामग्रीहरू तथ्यहीन छन् । विशेषगरी सो पेजले रास्वपाका नेताहरू र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को नाममा हुँदै नभएका पोस्टहरू शेयर गरिरहेको छ । १० जनवरीमा उक्त पेजले बालेनको आधिकारिक फेसबुक पेजको स्क्रिनशट जस्तो देखिने गरी एउटा एडिटेड पोस्ट सार्वजनिक गरेको थियो । उक्त पोस्टमा बालेनले रवि लामिछानेको समर्थन गर्दै अन्य दलका नेताहरूलाई गलत देखाएर भ्रामक धारणा फैलाइएको छ ।

त्यस्तै, सो पेजले ०७९ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र निर्वाचित सांसद डा. अमरेशकुमार सिंह रास्वपाबाट चुनाव लड्न लागेको भन्दै अर्को अपुष्ट दाबीसहितको पोस्ट राखेको छ । यी केही प्रतिनिधि उदाहरण मात्र हुन् । उक्त पेजले अन्य अनेकौँ भ्रामक सामग्रीहरू निरन्तर सम्प्रेषण गरिरहेको देखिन्छ ।

पेजको ‘अबाउट’ सेक्सनमा हेर्दा यसमा भारतीय मोबाइल नम्बर राखिएको छ । साथै, त्यहाँ बुद्धि पोखरेलको नाममा रहेको ईमेल र युट्युब च्यानलको लिङ्क समेत दिइएको छ । सोही युट्युब च्यानलले पनि फेसबुकमा जस्तै भ्रमपूर्ण भिडिओ र पोस्टहरू अपलोड गर्ने गरेको पाइएको छ ।

‘पेज ट्रान्सप्यारेन्सी’ अनुसार यो पेज ११ नोभेम्बर २०२५ मा सिर्जना गरिएको हो । यो सुरुमा कुनै व्यक्तिगत अकाउन्ट रहेको र शुल्क तिरेर ‘मेटा भेरिफाइड’ गराएपछि पछि नाम परिवर्तन गरेर रास्वपाको बनाइएको स्पष्ट हुन्छ । पार्टीकै लोगो, सूचना र विज्ञप्तिहरू राख्ने गरेका कारण धेरैजसो सर्वसाधारण झुक्किएर यसलाई आधिकारिक पेज ठानी झुक्किरहेका छन् ।

रास्वपाको वास्तविक र आधिकारिक फेसबुक पेजको नाम भने अङ्ग्रेजी (Rastriya Swatantra Party) मा लेखिएको छ । उक्त आधिकारिक पेजमा झन्डै चार लाख फलोअर रहेका छन् ।

पछिल्लो अध्यावधिक: पुस २९, २०८२ १९:२६