close

मोबाइलमा मेटाको थ्रेड्ससँग पछि पर्‍यो एलन मस्कको एक्स

टेकपाना टेकपाना

माघ ७, २०८२ १०:७

मोबाइलमा मेटाको थ्रेड्ससँग पछि पर्‍यो एलन मस्कको एक्स

काठमाडौँ । सामाजिक सञ्जालको प्रतिस्पर्धामा मेटाको थ्रेड्सले एलन मस्कको एक्स (ट्वीटर) लाई उछिनेको छ । सन् २०२६ को जनवरीसम्मको तथ्याङ्क अनुसार, मोबाइल एपमा थ्रेड्सका दैनिक सक्रिय प्रयोगकर्ताहरूको सङ्ख्या १४ करोड १५ लाख पुगेको छ, जबकि एक्सका मोबाइल प्रयोगकर्ता १२ करोड ५० लाखमा खुम्चिएका छन् ।

सिमिलर वेबको तथ्याङ्कअनुसार थ्रेड्सले सन् २०२५ को अन्त्यतिर नै मोबाइलमा एक्सलाई पछाडि पार्न सफल भएको थियो । यद्यपि, डेस्कटप वा वेब ब्राउजरमा भने एक्सको वर्चस्व अझै कायम छ ।

वेबमा एक्सका १४ करोड ५४ लाख दैनिक सक्रिय प्रयोगकर्ताहरू छन् भने थ्रेड्सका केवल ८५ लाख मात्र छन् । समग्रमा दुवै प्लेटफर्म मिसाउँदा एक्सका प्रयोगरक्ता २७ करोड र थ्रेड्सका १५ करोड दैनिक प्रयोगकर्ता रहेका छन् ।

प्रयोगकर्ताहरू एक्स छोडेर थ्रेड्सतिर लाग्नुको मुख्य कारण एक्समा बढ्दो विषाक्त वातावरण (Toxicity), बट्सको समस्या र एलन मस्कका कतिपय विवादास्पद राजनीतिक निर्णयहरूलाई मानिएको छ । धेरै प्रयोगकर्ताहरूले एक्सलाई 'घृणास्पद अभिव्यक्ति र अराजकताको केन्द्र' भनेका छन् भने थ्रेड्सलाई 'सकारात्मक र सुरक्षित' समुदायको रूपमा हेरेका छन् ।

थ्रेड्सको इन्स्टाग्रामसँगको सहज एकीकरणले पनि नयाँ प्रयोगकर्ताहरूलाई सजिलै आफ्नो सञ्जाल फेला पार्न मद्दत गरेको छ । इङ्गेजमेन्टको हिसाबले पनि थ्रेड्स निकै अगाडि देखिएको छ ।

एक अध्ययनका अनुसार थ्रेड्सको इङ्गेजमेन्ट रेट एक्सको तुलनामा ७३.६% बढी छ । विज्ञापनदाताहरू पनि एक्सको तुलनामा थ्रेड्सलाई नै बढी 'सुरक्षित र ब्रान्ड-अनुकूल' प्लेटफर्म मान्न थालेका छन् । जसका कारण एक्सको विज्ञापन आयमा सन् २०२२ यता ५९ प्रतिशतसम्मको गिरावट आएको छ ।

एलन मस्क एक्सलाई एउटा एभ्रिथिङ एप (Everything App) बनाउने दिशामा केन्द्रित छन् । जहाँ बैङ्किङ, भुक्तानी र ग्रोक एआई जस्ता सुविधाहरू हुनेछन् । अर्कोतर्फ, मेटाले थ्रेड्समा प्रयोगकर्ताको रुचि अनुसारका फिचरहरू जस्तै: डाइरेक्ट मेसेज (डीएम), विषयगत ट्याग र इन-एप गेमहरू थपेर यसलाई थप आकर्षक बनाइरहेको छ ।

अहिलेको अवस्थामा मोबाइल प्रयोगकर्ताको सङ्ख्यामा थ्रेड्स बलियो देखिए पनि रियल-टाइम समाचार र व्यावसायिक बहसका लागि एक्स अझै पनि धेरैको पहिलो रोजाइमा रहेको छ । यो प्रतिस्पर्धाले गर्दा दुवै प्लेटफर्महरू प्रयोगकर्ताहरूलाई थप नयाँ सुविधाहरू दिन बाध्य भएका छन् ।

पछिल्लो अध्यावधिक: माघ ७, २०८२ १०:१२