close

केपी ओलीको भिडिओ क्लिप भाइरलः 'धनुषा-महोत्तरीबाट सफा सुग्घर दमक आएर गुइँठा बाल्न सिकाउने ?'

टेकपाना टेकपाना

माघ ९, २०८२ ११:४६

केपी ओलीको भिडिओ क्लिप भाइरलः 'धनुषा-महोत्तरीबाट सफा सुग्घर दमक आएर गुइँठा बाल्न सिकाउने ?'

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार केपी शर्मा ओलीको एक भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफ्ना प्रतिद्वन्द्वी तथा काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन शाहलाई लक्षित गर्दै उनले दिएको अभिव्यक्ति विवादित बनेको हो ।

बिहीबार कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमा प्रसारित एक भिडिओ अन्तर्वार्तामा ओलीले विवादास्पद अभिव्यक्ति दिएका थिए । "दमक सफा नगरहरू मध्ये पर्छ, व्यवस्थित नगरहरूमध्ये पर्छ । यो महोत्तरी-धनुषा जस्तो अवस्थामा होइन, त्यो भन्दा धेरै एड्भान्स छ," उनले भनेका छन्, "सफा-सुग्घर बेग्लै छ । उहाँ त्यो कल्चरबाट आएको मान्छे, यस कल्चरमा... उहाँले खै यहाँ गुइँठा बाल्न सिकाउनु हुन्छ कि के गर्नु हुन्छ, मलाई थाहा छैन । यो ठाउँ त धेरै एड्भान्स छ नि...। उहाँले यहाँबाट सिक्नु पर्छ, यहाँ केही गर्ने भन्दा पनि । सिकेको त काठमाडौँमै देखिन्छ निऽऽऽ ।" धनुषा-महोत्तरी बालेनको पुर्ख्यौली घर भएको क्षेत्र हो ।

कयौँ पटक देशको प्रधानमन्त्री भइसकेको जस्तो व्यक्तिले महोत्तरी-धनुषा फोहोरी र अव्यवस्थित भन्नु खेदजनक रहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरिरहेका छन् । "प्रदेशमा पार्टीका मन्त्री, सांसद, पालिका प्रमुख इनकै छैनन् र ? त्यसपछि स्थिति सुधार्न सकेका छैनन् भने दोषी इनको सरकार र पार्टी होकी, बालेन ?," एक प्रयोगकर्ताले फेसबुकमा ओलीको भिडिओ क्लिप शेयर गर्दै भनेका छन् ।

भरतबहादुर कार्की नाम गरेका एक प्रयोगकर्ताले लेखेका छन्, "धनुषा महोत्तरी असाध्य फोहोर रे ! गुइँठा बाल्ने कल्चरबाट आएका बालेनले दमकमा गुइँठा बाल्न सिकाउ छन् रे ! यो मधेस र मधेसी समुदाय प्रतिको अपमान हैन र ?"

त्यस्तै आदित्य नाम गरेका अर्का प्रयोगकर्ताले महोत्तरी र धनुषा आज यस्तो अवस्थामा पुग्नुको जिम्मेवारी प्रधानमन्त्री भइसकेको व्यक्तिले लिनुपर्छ कि पर्दैन भन्दै प्रश्न गरेका छन् । "त्यति पटक प्रधानमन्त्री भएको व्यक्ति दमक नगरको मात्र प्रधानमन्त्री हुनु हुन्थ्यो कि समग्र नेपालको ? बजेट एलोकेसनमा सधैँ पछाडि पारिने, ठुला विकास आयोजना कहिल्यै नपुग्ने, अनि चुनाबी प्रचारका लागि आफ्नै गृह जिल्लालाई स्वर्ग जस्तो देखाएर अरू जिल्लालाई हेप्ने ? यो कस्तो राजनीति हो ?"

उनले पाइपलाइनबाट घर-घरमा ग्यास पुर्‍याउँछु भनेर भाषण दिएको झन्डै एक दशक बितिसकेको कुरा स्मरण गराउँदै आज पनि गुइँठा बाल्नुपर्ने अवस्था कसले सिर्जना गर्‍यो भन्दै प्रश्न उठाएका छन् । आदित्यले अगाडि भनेका छन्, "मधेसलाई गाली गर्ने, मधेसी मारिँदा 'रुखबाट दुई-चार वटा कुहिएका आँप झरेजस्तो' अमानवीय टिप्पणी गर्ने, मधेसलाई सधैँ अपमान र हेपाइ सहन बाध्य बनाउने यो एमालेको पुरानै रोग हो । अब यस पटक सहनु अपराध हो । अब जवाफ भाषणले होइन, भोटले दिऔँ ।"

पछिल्लो अध्यावधिक: माघ ९, २०८२ ११:४६